Comments Add Comment

संसद विघटनको संघारमा साना पार्टी छताछुल्ल (सूचीसहित)

एमाले, माओवादी र लोकतान्त्रिक फोरम ‘मर्ज’ हुँदै

२७ असोज, काठमाडौं । व्यवस्थापिका संसद विघटन हुनै लाग्दा साना दलहरु ठूला दलमा विलय हुने क्रम बढेको छ । कतिपय दलका सांसदहरु पदावधि सकिनै लागेपछि राजनीतिक भविष्य सुरक्षित गर्न ठूला दलमा प्रवेश गर्न थालेका छन् ।

थ्रेसहोल्डका कारण अब साना दलहरुको अस्तित्व समाप्त हुने भएकाले चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर भएका हुन् ।

अखण्ड नेपाल पार्टी, खम्बुवान र नेपाः राष्ट्रिय पार्टी बाहेक अरु एक वा दुईजना सांसद भएका अधिकांश पार्टीहरु एमाले, माओवादी र फोरम लोकतान्त्रिकमा विलय भएका छन् ।

पछिल्लो पटक ३ सिट रहेको नेकपा संयुक्त माओवादी केन्द्रमा विलय भएको छ ।

त्यस्तै दुई सिट रहेको नेपाल परिवार दल र एक सिट रहेको मधेस समता पार्टी एमालेमा विलय भएका छन् ।

संसदमा एक सिट रहेको नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले पनि एमालेलाई साथ दिएका छन् । तर, उनको पार्टी भने एमाले प्रवेशको विपक्षमा रहेको छ ।

अर्को मधेस केन्द्रित दल दलित जनजाति पार्टी पनि एमालेमा विलय हुने तयारीमा छ । सो पार्टीका अध्यक्ष तथा सांसद विश्वेन्द्र पासवानले आफू एमालेबाट चुनाव लड्ने तयारीमा रहेको स्वीकार गरे ।

एक/एक सिट रहेका समाजवादी जनता दल र लोकदल माओवादीको चुनाव चिन्हबाट आगामी चुनावमा भाग लिने निर्णयमा पुगिसकेको जनता दलका नेता प्रेमबहादुर सिंहले बताए ।

यसअघि नै जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई सांसद शिवलाल थापा र सीमा विश्वकर्मा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा बिलय भइसकेका छन् । सांसद यशोदा लामाले पनि आफ्नो पार्टी फोरम लोकतान्त्रिकमा विलय गराइसकेकी छन् । थरुहट नेता गोपाल दहित पनि विजय गच्छदारको पार्टीमा लागिसकेका छन् ।

फोरम लोकतान्त्रिक आफैं पनि कांग्रेसमा समावेश हुने चर्चा चलिरहेको छ । मधेस केन्द्रित दलहरुमध्ये ६ वटा दल मिलेर राजपा बनिसकेको र मधेस समता पार्टी तथा दलित जनजाति पार्टी एमालेमा विलय भएपछि अब मधेसवादी पार्टीको संख्या घटेको छ ।

राजपाबाट विद्रोह गरेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताले एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने निर्णय गरिसकेका छन् ।

मधेसमा अब राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकको मात्र क्षेत्रीय पार्टीका रुपमा अस्तित्व देखिएको छ । थारुका पार्टीमध्ये गंगा चौधरी सतगौवा सांसद रहेको संघीय थरुहट पार्टी नयाँ शक्तिमा विलय भइसकेको छ ।

अब रुक्मिणी चौधरी सांसद रहेको थरुहट पार्टीले निर्णय गर्न बाँकी छ । अहिलेसम्म कुनै पनि दलमा बिलय भइनसकेका एक सिटे दलमा रामकुमार राई सांसद रहेको खम्बुवान पार्टीले नेपा: पार्टीको चुनाव चिन्ह खड्ग लिएर आदिवासी जनजातिहरुको पार्टी बनाउने पहल थालेको छ ।

रिजवान अन्सारीले नेतृत्व गरेको मधेसी फोरमले सांसद हरिचरण शाह नेतृत्वको नेपाली जनता दलको चिन्हबाट हालै स्थानीय चुनाव लड्दा पर्सामा एक नगरपालिका र एक गाउँपालिका जितेको छ । अब आफ्नै चिन्हमा चुनाव लड्ने कि अरु दलसँग मर्ज हुने भन्ने बारे उसले निर्णय गरिनसकेको जनाएको छ ।

संसदमा रहेका साना वामपन्थी दलमध्ये अब नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी बाँकी छन् । राजमो र नेमकिपाले आफ्नै अस्थित्वमा चुनाव लड्न चाहेका छन् भने मालेले कुनै निर्णय गर्न सकेको छैन ।

संसदमा ५ सिट रहेका नेकपा मालेका एक सांसद कांग्रेस र अर्का माओवादीमा प्रवेश गरिसकेका छन् । अधिकांश नेताहरु यसअघि नै एमालेमा प्रवेश गरिसकेकाले सीपी मैनाली संकटमा छन् ।

एमालेको चिह्नमा विलय भएका दलहरु

नेपाल परिवार दल (२ सिट)
नयाँ शक्ति पार्टी नेपाल (१ सिट)
मधेश समता पार्टी (१ सिट)
दलित जनजाति पार्टी (१ सिट)
राजपा विद्रोही (१ सिट)

माओवादीको चिन्हमा बिलय हुने दलहरु

नेकपा संयुक्त (३ सिट)
समाजवादी जनता दल (१ सिट)
जनजागरण पार्टी नेपाल (१ सिट)

फोरम लोकतान्त्रिकमा बिलय भएका दल

जनमुक्ति पार्टी लोकतान्त्रिक (२ सिट)
थरुहट तराई पार्टी नेपाल (१ सिट)
दलित जनमुक्ति पार्टी (१ सिट)

आफ्नै अस्तित्व जोगाउन लाग्ने साना दल

नेपाल मजदूर किसान पार्टी (४ सिट)
राष्ट्रिय जनमोर्चा (४ सिट)

निर्णय गर्न बाँकी साना दल

नेकपा माले (३ सीट)
अखण्ड पार्टी नेपाल (१ सिट)
खम्बुवान राष्ट्रिय मोर्चा (१ सिट)
संघीय थरुहट पार्टी (१ सिट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment