Comments Add Comment

कथाः आमाको मन

अप्सराले आँगनमा उभिएर सडकपारिको नरबहादुर थापाको पिलरवाला घर हेरी । त्यो भव्य देखिन्थ्यो । घर चारतला माथि चढिसकेको थियो । यसैपालि नरेले दुई तला थपेको हो ।

उसले आफ्नो छाप्रो र नरेको राजसी महलको तुलना गरी । अन्तर्मन नराम्ररी चिमोटियो उसको । सोची, ‘ओ हो ! मेरो पनि त्यस्तै घर भएको भए ! मलाई ‘अप्सरे’ भनेर कसले हेप्न सक्थ्यो होला !’ घर नभएको पीडाले उसको मन थिलथिलो भयो । अप्सरा सम्हालिएर छाप्रोभित्र पसी ।

मोवाइल बज्यो । उठाई । श्रीमान्को रहेछ । हर्कबहादुरले दसैँमा पनि घर नआउने कुरा गर्‍यो । उसकले भन्यो, ‘अप्सरा, यसपालि म घर आउन पाउँदिन जस्तो छ । बाटो खर्चै छैन । साहुले फूलपातीसम्म पैसा दियो भने आउन पनि सक्छु । म नआएपनि चित्त नदुखाए । राजु करकर गर्छ होला । उसकले मागेको कुरा किनिदिनु ।’

‘राजुले मागेको कुरा किन्दिनु रे ! हैन, उसकले के माग्छ, मैले कसरी किन्दिनु ?’ अप्सराले यसै भन्न खाजेकी थिई तर केही भन्नै पाइन । रबरले कभर बाँधेको थोत्रो मोवाइलसेट भैंमा खस्यो । थोत्रो मोवाइलका ब्याट्री, सिम, बिर्को सबै छरियो । जम्मा गरेर फेरि मोबाइल रबरले बाँधी । श्रमिान्लाई फोन गर्न हजारौँपल्ट कोसिस गरी । तर त्यसले कामै गरेन । अप्सराको अनुहार निचोरियो ।

फेरि आँगनमा आई । भित्र मोवाइलमा टावर नआएको हो कि जस्तो लागेको थियो । हैन रहेछ । आँगनबाट पनि फोन लागेन । मोवाइल भैँतिरै फाल्दिई । सहरको साहुलाई मनमनै गाली गरी, ‘साँच्ची, धनीहरू त सबै उस्तै हुन्छन् क्यारे ! के गरिबलाई चैँ चाडबाड आउँदैन ? गरिबलाई चैँ परिवारको माया लाग्दैन ? मन त सबैको उस्तै हो नि ! दसैँमा पनि घर आउने खर्च नदिने अधर्मी साउ ! थुइक्क तेरो मन !’

अप्सरा र हर्कबहादुर तीन कक्षा मात्र पढेका जोडी हुन् । गरिबीको कारण तिनले पढाइ अघि बढाउन सकेनन् । सोह्रै नपुगी हर्कबहादुरका बाले बिहे गरिदिएका थिए । अप्सराले पनि ‘नाइँ’ भन्न सकिन ।

अप्सराले सहरको फर्निचर साहु र नरबहादुरलाई उस्तैउस्तै देखी । टाढा आकासमा काँठिएर हराउँदै गएको बादललाई हेरी । आफ्नो छाप्रोबाट धुले सडकतिर आई । आँखाले भ्याएसम्म छोरो राजुलाई खोजी । कतै देखिन मुटुको टुक्रालाई । एक्लै सोची, ‘कताकता जान्छ काले Û खालि चकचक मात्र गर्छ । बाटोमा केके खेलिबस्छ । सडकमा बेस्सरी ट्रयाक्टर चलाउँछन् ।’

अप्सराले नरेको मूलगेटबाट आँखा छिराई । कम्पाउण्डभित्र कतै आफ्नो छोरो देखिन । उसको मन पोल्यो । छोरो खोज्दै पर पुगी । त्यो नरेको छोरा सुरजसित धूले सडकमा खेलिरहेको रहेछ । टपक्क छोरो टिपेर ल्याई । छाप्रोभित्र पसी । घरको निरब वातावरणमा ऊ हराई । दसैँ त आई नै सकेको छ । देखाउनलाई पनि अप्सराले त्यो जीर्ण छाप्रोलाई सिँगारपटार गर्नुछ । के नगरी बसौँ भने छिमेकीले, ‘तेरो लोग्ने मर्‍यो क्या हो !’ भन्लान् । थारै सोच्न भ्याई उसले ।

थोत्रो बाल्टिनमा भिजाई राखेको माटो घोली । अघि लिपेको ठाउँ फेरि उस्तै भएछ । कोठा बारेको भाटा पनि सरेछ । बार मिलाउन लागी । यता मिलायो उता लड्छ, उता मिलायो यता लड्छ । हैरान भई । बल्लबल्ल तानतुन पारेर अड्याई र लिप्न थाली ।

एकातिरको बार फेरि भत्कियो । के गर्नु, दुःख, अभाव, गरिबी लुकाउन नसकिँदो रहेछ । त्यो लाजै नमानी नाङ्गिदोरहेछ । एकसरो फरियाले उसले आफ्नो लाज त ढाकेकी छ तर घरको लाज ढाक्न उसलाई हम्मेहम्मे परेको छ ।

दसैँको अष्टमी आयो । त्यसलाई आउनबाट रोक्न सकिन उसले । ‘आफू त मन बुझाउँला, छोरोलाई दसैँमा के लाउन दिउँला, के खान दिउँला’ यस्तै चिन्ताले अप्सरालाई खङ्गारिरह्यो । उसको अनुहार खग्रासले छोपेको जूनजस्तै देखियो ।

राजु घरभित्र सुँक्कसुँक्क गरी रुन लाग्यो । छोरोको मनको कुरा त उसले बुझेकी थिई । उसले सोची, ‘आज त नरेले ठूलो खसी ढाल्ला । राजुले चाल पायो भने त्यतै गई हाल्छ । नजा भन्न पनि घरमा केही छैन । गरिबलाई त चाडबाड नआए पनि हुने ।’ अप्सरा छाप्रोको यताउता गर्न थाली । राजु रोइरह्यो । अप्सरालाई रिस पनि उठ्यो । एक झापु लगाइदिउँ कि जस्तो लाग्यो तर चाडबाडको बेलामा झन् कोकोहोलो गरी रोला भन्ने सोचेर केही गरिन ।

सडकपारिबाट नरेकी श्रीमतीले अप्सरालाई बोलाई । पहिले नसुनेझै गरी । ‘कामै लगाउने त हो नि’ भन्ने सोची । पटकपटक बोलाएपछि बोल्नै पर्‍यो । अप्सरा बोली । नरेकी श्रीमतीले हातले आफ्नो घरमा आउन सङ्केत गरी । अप्सराको मन दोमन भयो । तैपनि जानै पर्‍यो । ऊ गई । नरेकी श्रीमतीले ढोका खोलिदिई । ऊ भित्र छिरी ।

नरेको कम्पाउण्डभित्र दसैँ नाचिरहेको थियो । हाँसिरहेको थियो । अप्सराले नरेको दसैँ र आफ्नो दसैँ तुलना गरी, ‘तिथि एउटै, गते एउटै, बार एउटै, मान्छे उस्तै तर आफ्नो दसैँ आफैँलाई जिस्क्याइरहेको । नरेको दसैँ उमङ्ग, उन्मादले नाचिरहेको । किन दसैँ मान्छ्यैपिच्छे फरक भएर आएको होला !’

दसैँ घरैपिच्छे फरक भएर किन आउँछ, त्यो कुरा अप्सरालाई थाहा छ । मनमनले आफ्नै लोग्नेलाई गाली गरी, ‘रिनै खोजेर भए पनि आएको भए घर त उज्यालो हुन्थ्यो । माया नभएका निष्ठुरी । छोरो सम्झेर त आउनुपर्छ ।’ फेरि सोची, ‘के गर्नु, रहरले त बस्या होइन होलान् ।’ अप्सरा नरेकी श्रीमतीको पछिपछि आई । सिमन्टीको चिसो भुईँ टेकी । निकै चिसो लाग्यो । धनीका त घर पनि चिसो हुन्छ क्या हो मनजस्तै !

छिमेकी बिरे र लखने खसी बनाउँदै थिए । लखनेले भन्यो, ‘ए, भुँडी धुन अप्सरा आइहाली नि !’ अप्सरालाई लाग्यो, ‘साँच्चै गरिबलाई सबैले जोत्दोरहेछ । जोतिनु नै गरिबको जिन्दगी हो कि कया हो ! गरिबले पनि आफूभन्दा गरिबलाई जोत्दोरहेछ । फेरि यो दसैँ नमाने के हुन्छ हँ ?’

नरेकी श्रीमतीले अप्सरालाई आदेश गरी, ‘अप्सरा, जा, खसीको भुँडी सफा गरेर ले । आज तँ पनि यतै खाना खालिस् ।’ अप्सरा बोलिन । ‘हेर ब्वाँसो चाटेको । चाटे पनि आखिरमा आन्द्राभुँडी झिकिहाल्छ क्यारे !’ उसले अमिलो मन पारी ।

खसीको भुँडी लिएर अप्सरा धारातिर लागी । टोकरी भुईँमा राखेर धारा खोली । तल बाल्टिन राखी र भरी । अप्सरा भुँडी धुन थाली । नरेकी श्रीमती बोली, ‘अप्सरा, लादी अलि पर लगेर फाल् है, गन्ध आउँछ ।’ अप्सरालाई झनक्क रिस उठ्यो । मनमनै भनी, ‘लादी पनि खाए भैहाल्यो नि । त्यो पनि खसीकै हो क्या रे ।’ उसले रिस थामी ।

अप्सरा खसीको भुँडी धुँदै गई । पानी आपै“mले हाली । घरमा छोरो सम्भिmई, ‘विचरा Û रोईरोई मर्न लागेको होला । मलाई त खान देलान् । त्यसलाई पनि अलिकति दिए खुसी हुन्थ्यो ।’ अप्सरा भुँडी धुँदाधुँदै तीनचारपटक नरेकी श्रीमती त्यता देखिई । सायद आन्द्रा भुँडी हराउँछ भनेर होला । तर नरेकी स्वास्नीले केही भनिन ।

अप्सराले छोरा रोएको सुनी तर उता जाने आँट गरिन । आफ्नो घरमा जानुभनेको शङ्काको फन्दामा पर्नु थियो । मन मिचेर भुँडी धोई उसले । छोराको रुवाइले उसको मातृत्व छियाछिया भयो । अप्सरालाई आशा थियो – थोरै मासु त छोरालाई लगिदे भन्छन् होला । त्यसैले पनि ऊ केही खुसी थिई । अप्सराले राम्रोसित भुँडी धोई । धोएको भुँडी टोकरीमा हाली । ऊ भुँडी बुझाउन हिँडी ।

बिरे र लखने मासुभात खाईवरी हिँडिसकेछन् । नरे र उसकी श्रीमती भान्छामै रहेछन् । नरेकी श्रीमतीले भनी, ‘अप्सरा, भुँडी राम्ररी त धोइस् ? उः त्याँ चिउरामा मासु हालिराखेको छ । खाएर जा ।’

अप्सरा टोकरी बिसाएर थ्याच्च बसी । फेरि उठी र आफूलाई दिएको मासुचिउरा तानी । केे मासु भन्नु, दुइटा हाड, दुईटुक्रा छाला मात्र थियो । झोलले चिउरा मात्र भिजेको । अप्सराले मनमा आशाको बिरुवा उमार्दै मासुचिउरा खाई ।

अप्सरा उठी । यताउती हेरी । कसैले केही भनेन । सुनी, छोरो झनै नजिकै रोएजस्तो लाग्यो । यसो हेरी, छोरो राजु नरेको मूलगेटमा रूँदैरूँदै आमालाई पर्खिरहेको रहेछ । राजु भन्दै थियो, ‘आमा, मासु ल्याउनु है मासु ! मलाई मासु खान कस्तो मन लागेको छ ।’

न अप्सरा बोल्न सकी न नरेकी श्रीमतीले केही भनी । अप्सरा उभिइरही । छोरोले ‘मासुमासु’ भनेको सुनिरही । अब उसलाई त्यहाँ बस्न सकस भयो । ऊ निस्किई । गेटबाहिर गएर छोरो बोकी । छोरो भन्दै थियो, ‘मासु खै त ?’ उसले भनी, ‘भरे बाले ल्याउँछन् ।’ अप्सराको मन भक्कानिएर आयो । छोरा च्यापेर ऊ आँसु पुछ्दै आफ्नो जीर्ण छाप्रोभित्र पसी । राजु ‘मासुमासु’ भन्दै थियो । अप्सरा मन बाँधेर बसी । मन एकतमासले अमिलिएको थियो । सोचाइ कहाँ पुग्यो कहाँ । ऊ छोरालाई आश दखाएर फकाउँदै थिई ।

नाटकीय यथार्थ ! अकल्पनीय खुशी ! परबाट हर्कबहादुर घरतिर आउँदै थियो । अप्सराकाले राम्ररी ठम्याउन पनि सकिन । आँखा पुछेर हेरी । हर्कबहादुर आँगनमा आइपुग्यो । ऊ हर्षविभोर हुँदै लजाईर् । राजुले बालाई देख्यो । खुसी हुँदै भन्यो, ‘बाले मासु ल्याए । बाले मासु ल्याए ।’ ऊ बातिर झुम्मियो । अप्सरा मसक्क मस्किँदै श्रीमान्तिर हेरिरही । उसले सोध्न सकिन ‘आउँदैछु भनेर खबर गर्नुपर्दैन ?’ भनेर । उसलाई आप\mनै लोग्ने अर्कैअर्कै लागेको थियो । एकदमै सुन्दर । आफ्नो थोत्रो घर झन् राम्रो देखी । नरेको भन्दा पनि राम्रो ।

तन्द्राबाट ऊ बिउँझिई । अप्सराले जे देखेकी थिई, त्यो सबै भ्रम थियो । त्यहाँ हर्कबहादुर आएको थिएन । अप्सरा छाप्रोभित्र गई । राजु झगडा गरिरहेको थियो । छोरालाई सम्झाउन पनि सकिन । गाली गर्न पनि सकिन । आमाको मन नराम्ररी चिमोटियो । त्यो आँसु बनेर बर्सिरहृयो । दसैँभरि अप्सरालाई छाप्रोबाहिर निस्कँन मन लागेन ।

(प्रकाशोन्मूख कथाकृति बादशाहको अटोग्राफबाट । कथाकार रामेछापको ग्रामिण भेकका शिक्षक छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment