Comments Add Comment

स्थानीय चुनावपछि प्रदेश २ मा अपराध बढ्यो

३ असोजयता हत्याका चार घटना

२९ असोज, रौतहट । तेस्रो चरणमा भए पनि प्रदेश २ मा स्थानीय तहको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भयो । प्रदेशका बासिन्दाको आशा थियो, अब जनप्रतिनिधिले विकास निर्माणका काम तीव्र बनाउने छन् । तर, चुनावलगत्तै बढेको अपराधका कारण उनीहरु त्रासमा छन् ।

निर्वाचनयता रौतहटमा मात्र चार जनाको हत्या भइसकेको छ, ५० भन्दा बढी घाइते छन् । विभिन्न बहानामा कुटपिट र झडपका घटना दैनिक भइरहेका छन् ।

शृंखलावद्ध घटना

स्थानीय चुनावको भोलिपल्ट ३ असोजमा कटहरिया ३ बलुवाटोलमा निर्वाचनको विषयलाई लिएर विवाद भयो । चर्किंदै गएर दुई पक्षबीच झडप हुँदा ४५ वर्षीय रामपुकार यादवको हत्या भयो ।

त्यसको साता नबित्दै ९ असोज बिहान ३ बजे पर्रोहा २ जिंगडिवा बेलविछवाका कांग्रेसबाट वडाध्यक्षका पराजित उम्मेदवार मौलाना सेराजुद्दिनका २५ वर्षे छोरा मोहम्मद अब्बुस्वयवको गोली हानी ज्यान लिइयो ।

१३ असोज राति मौलापुर ५ मा सःमिल सञ्चालक चन्द्रपुर १० बडेरवाटोलका ४० वर्षीय वीरेन्द्र साहको पनि हत्या गरियो । मिलछेउमै खाट राखेर सुतेका साहको टाउकोमा गोली प्रहार भएको थियो ।

यस्तै, १५ असोजमा वृन्दावन ५ नरकटीया टोलमा हुलास राय यादव र छिमेकी कृष्णनन्दन चौधरीबीच पानीको विषयमा विवाद भयो । दुई पक्षबीच भएको झडपका क्रममा यादवकी तीन वर्षे छोरी अञ्जलीको हत्या भयो । चौधरीलाई यादवले हानेको भाटा उनकै छोरीलाई लाग्न पुगेको थियो ।

दशैंका बेला सदरमुकाम गौरमै पनि झडपका घटना भए, जसमा चार युवा घाइते भए ।

प्रहरीको उपस्थिति कमजोर देखिँदा पनि आपराधिक घटना रोकिन नसकेको नागरिक समाजका अध्यक्ष जगरनाथ प्रसाद केशरी बताउँछन् । उनी भन्छन्, ‘बरहवा पुल नजिक दुर्गा मन्दिरमै युवाबीच झडप र कुटपिट भयो तर खबर गर्दासमेत प्रहरी आएन ।’

बहाना निर्वाचनको पनि

निर्वाचन परिणामपछि जित र हार पचाउन नसक्दा स्थानीय बासिन्दाबीच तिक्ततापूर्ण सम्बन्ध देखिँदै आएको छ ।

‘जितेका पदाधिकारीले हारेका उम्मेदवारलाई पनि समेट्नुपर्ने राजनीतिक संस्कारको अभाव देखिएको छ,’ केशरी भन्छन्, ‘तर, उनीहरु अझै पनि भोट दिएको र नदिएको भनेर कित्ताकाट गरिरहेका छन् ।’ उनको भनाइमा जितेका पदाधिकारीले आफ्ना कार्यकर्तालाई संयमित बनाउन सकेका छैनन् भने हारेका नेता/कार्यकर्ता झनै चिढिएका छन् ।

निर्वाचन परिणामबारे मतभेद भएपछि सानो विषयले पनि ठूलो रुप लिएको देखिन्छ । र, त्यसलाई राजनीतिक रंग दिने प्रयास हुने गरेको छ ।

२२ असोजमा इशनाथ ५ जोकहामा कांग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भयो । त्यस क्रममा स्थानीय सलाउद्दिन खानकी सात वर्षीया छोरी आयसा खातुनसहित डेढ दर्जन घाइते भए ।

अज्ञात अपराधी !

हत्याका घटनामा संलग्नहरु र कारण पहिल्याउन प्रहरी असफल रहँदै आएको छ ।

प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल भने जिंगडिवा घटनाबाहेकका दोषी पक्राउ गरिएको दाबी गर्छन् । तर, प्रहरीले अहिलेसम्म पक्राउ परेका अभियुक्त सार्वजनिक गरेको छैन ।

अनुसन्धान प्रभावित हुने दाबी गर्दै प्रहरीले पक्राउ परेकाहरुको नाम खुलाएको छैन ।

एसपी पोखरेलको दाबी छ, ‘व्यक्तिगत रिसइवीका कारण हुने घटनामा प्रहरीको कमजोरी भन्न मिल्दैन ।’

निर्वाचनपछि राजनीतिक द्वेष धेरै बढेको र दलका कार्यकर्ताबीचको रिसइवीले शान्ति सुरक्षामा समेत असर परेको एसपी पोखरेलको भनाइ छ । मुख्य अभियुक्त पक्राउ परेर साविती बयान नदिएसम्म घटनाको कारण भने अज्ञात नै रहिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment