Comments Add Comment

कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकता आज

३० असोज, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने भएको छ ।

बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा एकता घोषणा कार्यक्रम राखिएको फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले जानकारी दिए ।

कांग्रेस परित्याग गरी मधेस केन्द्रित राजनीति गरेका गच्छदार स्थानीय तह निर्वाचनमा नराम्रो पराजयपछि पुनः कांग्रेसमै फर्किन लागेका हुन् ।

कांंग्रेस र फोरम लोकतान्त्रिकबीच आइतबारै एकता घोषणा गर्ने तयारी गरिएको थियो । तर, दुईपक्षीय वार्तामा सहमति नजुटेपछि आज एकता गर्न लागिएको हो ।

आइतबार दिउँसोसम्मको प्रयास असफल भएपछि यी दुई दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची छुट्टाछुट्टै बुझाएका थिए । तर, साँझ पुनः बालुवाटारमा भेला भएका नेताहरुबीच एकतापछि उम्मेदवारको सूची सच्याउने सहमति गरेका थिए ।

वार्तामा भएको सहमति सार्वजनिक नभए पनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपसभापति वा महामन्त्री मध्ये कुनै एक पदमा मनोनित गर्ने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको स्रोतले बतायो ।

एकताको विरोध

गच्छदार कांग्रेसकै पूर्व नेता हुन् । संसदीय राजनीतिका माहिर खेलाडी मानिने गच्छदार २०४८, ०५१ र ०५६ सालको संसदीय चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए ।

गच्छदारले ०६६ सालमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन गरेका थिए । त्यसअघि गच्छदार, उपेन्द्र यादव लगायतका नेताहरु मधेसी जनअधिकार फोरम नेपालमा थिए ।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा विवाद बढेपछि गच्छदारले पार्टी बिभाजन गरेर फोरम लोकतान्त्रिक गठन गरेका हुन् ।

गच्छदारले कांग्रेससँग पार्टी एकीकरणको निर्णय भने पार्टीमा सर्वसम्मत गराउन सकेका छैनन् । पार्टीमा छलफल र नेताहरुसँग पर्याप्त सल्लाह नगरी एकताको निर्णय गरेको आरोप उनीमाथि लागेको छ ।

त्यसैले पछिल्लोपटक फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेका राष्ट्रिय जनमुक्ति पार्टीका नेता शिवलाल थापा, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुलगायत नेताहरुले एकतामा नजाने घोषणा गरेका छन् ।

भानुराम थारुले फोरम लोकतान्त्रिकको अस्तित्व मेटिने गरी एकता गर्न लागिएकाले आफूहरु एकता प्रक्रियामा सहभागी नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment