Comments Add Comment

वाम एकताबारे उपेन्द्र यादवः कमाउनिष्टहरुसँग किन आत्तिने ? (भिडियोसहित)

'ठूलो मन्त्रिमण्डल बनाउनु राजनीतिक अपराध हो'

३० असोज, बिराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादी पार्टीहरु कम्युनिष्ट नभएर ‘कमाउनिष्ट’ भएकाले उनीहरुसँग आफूलाई कुनै डर नलागेको बताएका छन् ।

नेपालमा कांग्रेस, कम्युनिष्ट र राप्रपा सबै एकै भएको भन्दै यादवले कम्युनिष्टले नेपाल खान आँट्यो भनेर चिन्ता नगर्न कांग्रेस र राप्रपाका नेतालाई सुझाव दिएका छन् ।

सोमबार बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले शेरबहादुर देउवाले गरेको सरकार विस्तारलाई राजनीतिक अपराध एवं भ्रष्टाचारको संद्दा दिए ।

सरकार विस्तारबारे सोधिएको प्रश्नमा यादवले देउवाको खरो आलोचना गर्दै भने- ‘यति ठूलो मन्त्रिमण्डल बनाउनु भनेको अपराध हो, राजनीतिक अपराध हो । राजनीतिक भ्रष्टाचार हो । योचाहिँ मुलुकलाई दिवालिया बनाउने कार्य हो ।’

यादवले अगाडि भने- ‘संविधानमा लेख्ने २५ वटाभन्दा बढी मन्त्री नबनाउने, अनि बनाउँदाखेरि त्यत्रो जम्बो बनाउने ? यो गलत काम हो ।’

‘बिराटनगर र काठमाडौंका माफिया कम्युनिष्टमा छन्’

वाम एकताबारे तपाईको धारणा के छ भनेर सोधिएको प्रश्नमा फोरम नेता यादवले यसरी व्याख्या गरे-

ए……कम्युनिष्टले नेपाललाई खायो खायो भन्दै शेरबहादुर अत्तालिएका छन्, राप्रपाहरु अत्तालिएका छन् । मैले उहाँहरुलाई मिटिङमै हुँदाखेरि पनि भनेको, किन अत्तालिएको ? यिनीहरु कम्युनिष्टै होइनन्, यिनीहरुले खाँदैनन् । कम्युनिष्ट भए न अत्तालिनुपर्नेहुन्थ्यो । यिनीहरु त सब बिग्रेका कम्युनिष्टहरु हुन् । यिनीहरु कम्युनिष्ट नै होइनन्, किन चिन्ता गर्नुहुन्छ ?

कांग्रेस, कम्युनिष्ट उस्तै छन् नेपालमा । राप्रपा, कांग्रेस, कम्युनिष्ट सबै उस्तै उस्तै हुन् । बाहिरको कभर र चुनाव चिन्हमात्रै फरक हो । त्यही भएकाले अत्तालिनुपर्ने कुनै जरुरी छैन । मलाई त केहीजस्तो लागेको छैन । तर, नजिक हुन्छन्, एकता हुन्छन् भने. मैले त्यसलाई नकारात्मक रुपमा लिएको पनि छैन ।

कम्युनिष्टहरुले नेपाल खाइदिए भन्ने कुरासँग म सहमत छैन । यिनीहरु कम्युनिष्ट भए न खान्छन् । यिनीहरु सबै कमाउनिस्टहरु हुन् । कमिसनतन्त्र, लुटतन्त्र, भ्रष्टतन्त्र र माफियाहरुले चलाएका दलहरु न हुन् । यहाँ, बिराटनगर र काठमाडौंका माफियाहरु कहाँ छन् ? कम्युनिष्ट पार्टीमा छन् । यिनीहरुको कम्युनिष्ट चरित्रै छैन ।

रसियाको जस्तो, चाइनाको जस्तो, कोरिया, भियतनाम, क्युबाको जस्तो कम्युनिष्ट कहाँ हुन् र ? यिनीहरु बिग्रेका कम्युनिष्ट हुन् । यिनीसँग किन त्रसित छन् कांग्रेस र राप्रपाहरु ? म छक्क पर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment