Comments Add Comment

दामोदर न्यौपानेको ‘स्वर्णिम समय’

यसरी विमोचन भयो प्रेमालय

भन्ने गरिन्छ, पत्रकारिता हतारमा लेखिने साहित्य हो । तर, पत्रकारितासँगै आख्यान लेखनमा पनि दामोदर न्यौपानेका हात उत्तिकै चलायमान छन् ।

एकपछि अर्को कृति सार्वजनिक गर्न भ्याइरहेका न्यौपानले शनिबार बत्तिसपुतलीको शैली थिएटरमा ‘स्वणिर्म समय’ को घुम्टो उघारे ।

केही समयअघि मात्र ‘ट्यालेन्ट सो’ नामक पुस्तक बजारमा ल्याएका उनको पछिल्लो रचना संख्याको हिसाबले चौथो हो । खासगरी, बालबालिकाको कथा, मनोविज्ञान, सामाजिक अवस्थामा केन्दि्रत रहेर लेख्ने उनले यसपालि पनि त्यसैको फेर समातेका छन् ।

अर्थात्, ‘स्वणिर्म समय’ बाल्यकालको कथा हो, जो आजका चर्चित व्यक्तित्वहरुले भोगेर आए । यसमा साहित्यकार, चिकित्सक, प्रशासक, व्यवसायी, संगीतकर्मी आदिको बाल्यकालीन अनुभूति समेटिएको छ । यसमा राजनीतिकर्मी सुवासचन्द्र नेम्वाङदेखि साहित्यकार श्रवण मुकारुङसम्मका चार दर्जन स्रष्टाको बाल्यकाल उल्लेख छन् ।

दयनीय विगत वा बाल्यकाल झेलेर माथि उठेका कति व्यक्तित्व अहिलेका लागि आदर्श, मार्गदर्शक हुनसक्छन्, किताबले यसै भन्छ । कान्तिपुर पब्लिकेसन्सको बाल कोसेली ‘कोपिला’ संयोजन गर्ने क्रममा यो कृतिको गर्भधारण भएको न्यौपानको भनाइ छ । ‘यी पात्रले गरेका संघर्ष प्रेरणादायी हुने’ न्यौपानेको विश्वास छ । पुस्तक इस्टर्न पब्लिकेसनले प्रकाशन गरेको हो ।

यसरी विमोचन भयो प्रेमालय

पत्रकार अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’को शनिबार विमोचन गरिएको छ । विमोचनको झलक अलि भिन्न देखियो ।

मञ्चमा पुस्तकको घुम्टो उघार्न र त्यसबारे चर्चा-टिप्पणी गर्न केही युवा मञ्चमा तैनाथ थिए । ‘अग्रज व्यक्तित्व’हरु भने दर्शकदिर्घामा ।

अश्विनीले प्रष्ट्याए, ‘प्रेम र युवाकै सेरोफेरोमा कथा बुनिएकाले मञ्चमा युवालाई निम्त्याएँ । यहाँ दिग्गज व्यक्तित्वहरु पनि हुनुहुन्छ, पछाडितिर बसिरहनुभएको । उहाँहरुप्रति म क्षमा चाहन्छु ।’

सञ्चारकर्मी स्वेच्छा राउत, राजनीतिकर्मी रञ्जु दर्शना, अभिनेत्री बेनिसा हमाललगायतले उपन्यास ‘प्रेमालय’को विमोचन गरे । लेखक कोइरालाको यो तेस्रो कृति हो । यसअघि उनले महिलाहरुको अन्तर्वार्ता समेटिएको पुस्तक ‘उनी’ र कथा संग्रह ‘जुकरबर्ग क्याफे’ बजारमा ल्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment