Comments Add Comment

२० वर्षदेखि अमेरिकामा रहेका एक कलाकारको फोटोकथा

३० असोज, अमेरिका । कलाकार तथा वाधवादक न्हुछेनारायण डंगोल सन् १९९६ ताका अमेरिका एक कार्यकमको शिलशिलामा आएका थिए । ५४ वर्षे न्हुछेनारायण त्यतिखेर नेपाल प्रज्ञा प्रतिष्ठानका जागिरे थिए । जागिरले मात्र आफ्नो परिवारको भविष्य राम्रो नहुने देखेर उनले अमेरिका नै बसेर आफ्नो आर्थिक स्थितिलाई उकास्ने निर्णय गरे ।

रेस्टुरन्टमा वेटर, किचेनमा हेल्पर लगायत थुप्रै काम गरेका न्हुछेनारायणले यहाँ आफ्नो कलालाई पनि निरन्तरता दिइरहेका थिए ।

यसबीच सन् १९९९ मे महिनामा, उनको ब्यान्डले वर्ल्ड ट्रेड सेन्टरको छानामा कन्सर्ट गरेर संसारकै अग्लो छानामा गरिएको कन्सर्टको रेकर्ड राख्न पनि सफल भयो । त्यतिखेर उनी लगायत अन्य ३ जना नेपालीहरु उक्त ब्यान्डका सदस्य थिए । उक्त रेकर्डलाई संसारभरिका मिडियाहरुले प्रमुख स्थान दिएका थिए भने म्युजिक च्यानल भीएचवनमा त्यसको प्रशारण गरिएको थियो ।

२० वर्षदेखि अमेरिकाको न्युयोर्क शहरमा बसिरहेका उनलाई यसबीचमा नेपाल जाने रहर नभएको भने पक्कै होइन तर कानुनी रुपमा उनलाई र्फकन सहज थिएन ।

यसबीच २ वर्षअघि सन् २०१५ मा नेपालमा भुकम्प गएपछि अमेरिकी सरकारले मानवीयताका आधारमा नेपाललाई टेम्पोरेरी प्रोटेक्टेट स्ट्याटस प्रदान गर्‍यो । जसका कारण अमेरिकामा लामो समयदेखि कागजविहीन भएर बसेका धेरै नेपालीहरुले वर्क परमिट र नेपाल गएर आउने अवसर प्राप्त गरे । १८ महिनाको लागि प्रदान गरिएको यो सुविधालाई जुन २४, २०१८ सम्मलाई थपिएको छ ।

न्हुछेनारायणले पनि त्यही सुविधाको सदुपयोग गर्दै गत वर्ष आफ्नो काठमाडौंमा रहेको परिवारसँग १ महिना बिताएर फर्के ।

२० वर्षपछि नेपाल र्फकेर अमेरिकी आएका न्हुछेनारायणको अमेरिकी जीवन यो फोटो कथामा प्रस्तुत गर्दैछौं ।


न्युयोर्क शहरको ज्याक्सन हाइट्स नजिकै २ बेडरुम रहेको बेसमेन्ट अन्य अपार्टमेन्टमा अरु २ जनासंग शेयर गरेर बसिरहेका न्हुछेमान डंगोल नियमित बिहान ७ बजे उठ्छन् ।

नित्यकर्म गरेर आफ्नै कोठमा स्थापना गरेका सानो मन्दिरमा उनी भगवानको उपासना गर्छन् ।

” म निकै नै आध्यात्मिक छु ,’उनले भने ।’अमेरिका जस्तो देशमा आध्यात्मिक हुन जरुरी छ । भगवानको दैनिक उपासना गर्नाले तपाईमा बिहान बिहानै छुट्टै उर्जा मिल्छ ।’


‘अर्काे कुरा तपाईले न्युजमा देख्नुहुन्छ ,कति नेपालीहरु यहाँ एक्लोपनाको शिकार भएर डिप्रेसनमा जान्छन्, यसबाट जोगिनका लागि पनि भगवानलाई सम्झनु जरुरी छ,’ उनले भने । ‘पूजा प्रार्थना गर्दा तपाई कहिले एक्लै महसुस गर्नुहुन्न किनभने तपाईलाई थाहा हुन्छ, भगवान सधैं तपाईको साथमा हुनुहुन्छ भनेर ।’

२० वर्ष भयो उनले आफैंले खाना बनाउन थालेको । सधैं ताजा खानेकुरा बनाएर खाने न्हुछेमान भन्छन्, ‘ फ्रोजन खानाले कहिले फाइदा गर्दैन ।’

न्यूयोर्क शहरमा सार्वजनिक यातायात एकदमै सहज छ । २४ सै घण्टा टे्रन र बस चल्ने हुँदा उनले गाडी किनेका छैनन् ।’यस शहरमा गाडी हुनु त सास्ती पाउनुजस्तै हो । पार्किङ्गको ठूलो समस्या छ यहाँ ,’उनले भने ।

उनको नियमित काम भनेको म्यानहृयाटन शहरको एक ट्राभल एजेन्सीको काम हो । विगत १३ वर्षदेखि उनी प्लानेट ट्राभल एन्ड टुर्समा काम गरिरहेका छन् ।

उनले भने,’मलाई यहाँ काम गर्न निकै सहज छ । म कलाकार भएको कुरा बोसलाई थाहा छ , त्यही भएर कुनै कार्यक्रमका लागिा छुट्टी चाहियो भने सजिलै मिलाइदिन्छन् ।’

‘अमेरिकामा गरेको श्रमले गर्दा मैले दुई छोरीलाई राम्रो शिक्षा दिन सकें ,’ उनले भने ।’ मेरी जेठी छोरीेेलाई भारतको बैंग्लोरमा पढ्न पठाए जहाँ उनी डेन्टिस्ट बनिन् । ‘उनकी जेठी छोरी निलम डंगोल अहिले बिहे गरेर टेक्सस राज्यमा बसोबास गर्छिन् ।

उता उनकी कान्छी छोरी सपना डंगोल नेपालमै पब्लिक हेल्थ पढिरहेकी छिन् ।’म निकै सन्तुष्ट छु आफ्नो सन्तानदेखि” उनले भने ।

नियमित काम बाहेक उनी अन्य काम पनि गर्छन् । आफू काम गर्ने ठाउँभन्दा २ घण्टा जति टाढा उनी ट्रेन र बस चढेर पार्ट टाइम काममा जान्छन् ।

हरेक बिहीबार साँझ करिब १ घण्टासम्म उनी एक इन्डियनको म्युजिक स्कुलमा बच्चाहरुलाई ढोलक बजाउन सिकाउँछन् ।

‘यहाँ नेपालीहरु आफ्ना बच्चाहरुलाई गीत संगीत र बाजा सिकाउन खासै वास्ता गर्दैनन् ,’ उनले भने । ‘तर इन्डियनहरु भने यसबारे सजग छन् उनीहरुलाई थाहा छ, गीतसंगीतले हाम्रो संस्कृति जोगाइरहेको हुन्छ भनेर । खोइ, नेपालीहरुले कहिले बुझ्ने यो कुरा ।’

म्युजिक सिकाएपश्चात तत्कालै स्कुलका सञ्चालकसँग उनले पारिश्रमिक थाप्छन् ।’यहाँ श्रमको मूल्य छ ,’उनले भने ।

उनलाई धेरै बाजा बजाउन आउने कारण दक्षिण एशियालीहरुको कार्यक्रममा तारन्तार निम्ता आइरहन्छ ।

एक बंगाली कार्यक्रममा बाजा बजाउँदै न्हुछेनारायणले भने,’पारिश्रमिकको मामलामा अन्य देशका मानिसहरु एकदमै पक्का छन् । काम गरेपछि पैसा लिन ताकेता गर्नु पर्दैन ।’

‘तर हाम्रै मान्छेहरु भने यस मामलामा व्यवसायिक छैनन् । काम गर्‍यो , पारिश्रमिक बुझ्नै गाहृ्रो, ‘उनले थपे । ‘त्यही भएर म खासै नेपाली कार्यक्रममा बजाउँदिन । बजाउनै परे, पारिश्रमिकको मामलाका क्लियर कुरा राख्छु ।’

‘एकदम भागदौडको जीन्दगी छ यहाँ । आफूलाई व्यस्त राखेकै राम्रो किनभने खाली दिमाग सैतानको घर हो ।’

न्हुछेनारायणको जीन्दगी औसत अमेरिकी नेपालीहरुको जस्तै छ । काम र घरको गोलचक्करमा फसिरहेका विदेश बस्ने नेपालीलाई सधैं सोधिने प्रश्न तेर्साइयो -‘अब नपाल कहिले फर्कने ? ‘ उनले पनि अपेक्षा गरिएकै उत्तर दिँदै बिदा भए -‘अब बुढेसकालमा ।’

तस्वीर अनुज थापा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment