Comments Add Comment

नेपाली युवती प्रयोग गरेर काठमाडौंमा नाइजेरियनको ठगी धन्दा !

अमेरिका जाने लोभमा सेनाका जवानसमेत ठगिए

३० असोज, काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका जर्मन नागरिक अर्मिन ओट्टे रिगर नेपाली ट्रेकिङ एजेन्ट मिङमार लामासँग सम्पर्कमा थिए । मिङमारको एकाउन्टबाट उनलाई १९ सय ८० अमेरिकी डलर पठाउन अनुरोध गरिएको इमेल जर्मनी पुग्यो ।

कुनै हिच्किचाहटबिना रिगरले सो रकम इमेलमा भनिएको एकाउन्टमा पठाए । इमेल वार्ताका आधारमा त्यसरी पैसा पठाउँदा उनले आफू ठगिएको पत्तै पाएनन् ।

खासमा ट्रेकिङ एजेन्ट मिङमारको सो इमेल एकाउन्ट दुई नाइजेरियन नागरिक डोग्लास एमोबिओकोरोइग्वे र जुलियस फेस्टस चिजेक्वुले ह्याक गरेका रहेछन् । ह्याक गरेको इमेलबाट उनीहरुले जर्मन नागरिकसँग रकम मागेका रहेछन् ।

अपराध गर्न नेपाल पसेका ती दुई नाइजेरियनले काठमाडौं सोह्रखुट्टेमा रहेको द पिटर हाउस चर्चमा दैनिकरुपमा पुगेर स्नेहा श्रेष्ठ नामकी युवतीसँग हिमचिम बढाए ।

त्यसपछि नाइजेरियाबाट दाइले रकम पठाउन लागेको बहानामा उनीहरुले स्नेहाको बैंक खाता मागे । स्नेहाले आफ्नो एभरेस्ट बैंकको खाता नम्बर ती नाइजेरियन नागरिकलाई दिइन् ।

र, सोही खातानम्बर ती नाइजेरियनले जर्मन नागरिकलाई पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

खातामा प्राप्त भएको करिब २ लाख दुई हजार रुपैयाँ स्नेहा श्रेष्ठको सहयोगबाट डोग्लासले चेकमार्फत भुक्तानी लिए ।

त्यसैगरी नेपाल भ्रमणमा आउन लागेका फ्रेन्च नागरिक फार सोफियानको पनि २ हजार ८ सय ३५ यूरो र रसियन नागरिक मर्कुलोभएभजेन्टीको ५ हजार ४ सय ८० अमेरिकी डलर पनि ती नाइजेरियनले ठगेको नेपाल प्रहरीले पत्तो लगाएको छ ।

अमेरिका जाने लोभमा सेनाका जवान पनि ठगिए

यसैवीच ती दुई नाइजेरियन नागरिकले फेसबुकमार्फत नेपाली सेनाका एक जवानलाई झण्डै चार लाख रुपैयाँ ठगेको खुलेको छ ।

प्रहरीका अनुसार संखुवासभा स्याबुन घर भएका नेपाली सेनाका जवान २४ वर्षीय अमृत दाहाल ‘मिराबल विल्सन’ नामका व्यक्तिसँग फेसबुकमा साथी थिए । मिराबलले आफू अमेरिकी सेनामा कार्यरत रहेको गफ दिँदै दाहाललाई अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागमा जागिर लगाइदिने लोभ देखाए ।

त्यसका लागि मिरावलले अमेरिकी डलर ६ हजार ८ सय ९० माग गरे । सोहीबमोजिम दाहालले स्नेहा श्रेष्ठको खातामा ९७ हजार ४ सय ७० र काठमाडौं नयाँ बजार बस्ने केशव गुरुङको खातामा आइएमई गरी २ लाख ९२ हजार ४ सय पठाए । यसरी ती दुई नाइजेरियनले दाहालबाट जम्मा ३ लाख ८९ हजार ८ सय ७० रुपैयाँ ठगी गरेका छन् ।

ठगीमा संलग्न २९ वर्षीय डोग्लास र २४ वर्षीय जुलियसलाई प्रहरीले पक्राउ गरेको छ । साथै एकाउन्ट उपलब्ध गराएर सहयोग गर्ने स्नेहा र केशव पनि पक्राउ परेका छन् । २१ वर्षीया स्नेहा गोरखाको आँपपिपल निवासी हुन् भने केशव धादिङ नीलकण्ठका हुन् ।

पक्राउ परेका चारै जनालाई ठगी महल बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

मुलुकी ऐनको ठगी महलमा यस्तो अपराध गर्नेलाई बिगोबमोजिम जरिवाना र ५ वर्ष कैद सजायँको व्यवस्था छ ।
यसका साथै उनीहरुमाथि थप अनुसन्धानपश्चात विद्युतीय कारोवार ऐन अन्तरगतसमेत कारवाही अघि बढाइने महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment