Comments Add Comment

मातृ पार्टीमा गच्छदारको ‘सेकेन्ड इनिङ’, कांग्रेसलाई कति सिट थपिएला ?

चुनाव हार्ने मनोविज्ञानको परिणतिले जुराएको एकता

३० असोज, काठमाडौं । कांग्रेसमा लडाकु मानिएका नेता थिए, विजयकुमार गच्छदार, जो फेरि सोमबारदेखि आफ्नो राजनीतिको धरातलमा फर्केका छन् । तथापि, उनी दोस्रो पटक मातृ पार्टीमा फर्किएका हुन् । पहिलो पटक कांग्रेसकै नेता/कार्यकर्तासहित उनी मातृ पार्टीमा फर्किएका थिए भने दोस्रोपटक जातीय आन्दोलनमा होमिएकाहरुको समूहसहित ।

एक समय थियो, सुनसरी-मोरङमा विजयकुमार गच्छदार कांग्रेसको सक्रिय राजनीतिमा थिए । गच्छदारकी पत्नी गरिबीको कहरका कारण विराटनगरस्थित कोइराला निवासबाट लत्ताकपडा र खाद्यान्न लिँदै जिविका चलाउँथिन् । तिनै गच्छदार कोइराला परिवारविरुद्ध विष ओकल्दै मातृपार्टी छाडेर शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक) तिर लागे ।

२०६२/०६३ को आन्दोलनपछि दुई कांग्रेस एक भए । गच्छदार पनि देउवासँगै मातृ पार्टीमा फर्किए । संविधानसभाको निर्वाचनको बहस चुलिँदै गर्दा गच्छदारले वर्षौंदेखि कांग्रेसमा बगाएको पसिना त्यतै विसर्जन गरेर जातीय राजनीति रोजे ।
तत्कालीन फोरम नेपाल गच्छदारको जातीय राजनीतिको प्रस्थान विन्दु बन्यो । दोस्रो मधेस आन्दोलनमा उनी पनि उपेन्द्र यादवसँगै थिए ।

पहिलो संविधानसभा निर्वाचनपछि संविधान निर्माणको एजेन्डा बहसमै सीमित रह्यो । सत्ता राजनीतिको पारोले मुलुकलाई अस्थिरताको भुमरीमा फसायो । सत्ता गठबन्धनको सरगर्मी चल्दै गर्दा गच्छदारसामु यादवको नेतृत्व अस्वीकार गर्नुपर्ने बाध्यता आयो । फोरम लोकतान्त्रिक गठन गर्दै उनले अलग्गै बसेर मधेसको राजनीतिलाई अगाडि बढाए ।

दोस्रो संविधानसभामा प्रत्यक्ष १० र समानुपातिक चारसहित उनको पार्टीले १४ सिट हात पार्‍यो । फेरि पनि सत्ता राजनीतिमै केन्द्रित बने, गच्छदार । सत्ताको राप र तापमै उनले तेस्रो मधेस आन्दोलनमा बलियो उपस्थिति देखाएनन् । बरु, नाकाबन्दीसम्मका अतिवादी कार्यक्रमको विरोध गर्दै उनी प्रमुख दलहरुसँग टाँसिए । त्यतिबेलै उनीमाथि मधेसको गद्दार र कांग्रेसको पुच्छर भएको आरोप लागेको थियो । र, त्यसैको परिणति हो, स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकको कमजोर प्रदर्शन ।

जातीय एवं क्षेत्रीय राजनीतिको भविष्यमाथि प्रश्न उठ्न थालेपछि खासगरी तराई मधेसका एजेन्डालाई आधार बनाएर राजनीति गरिरहेकाहरुले अर्कै छहारी खोज्न थाले । अनि यही शृंखलाको पछिल्लो पात्र बनेका छन्, गच्छदार ।
गच्छदारका लागि मधेस ‘दूर’ भएको छ । जिन्दगीभर वामपन्थको विरोध गरेर बिताएका उनी कम्युनिस्ट पार्टीमा जान सक्दैनथे । त्यसैले रोजे त्यही पार्टी, जसले उनको राजनीतिक यात्रालाई उचाइमा पुर्‍याएको थियो ।

कांग्रेसमा कोइरालाहरुबाट हेपिएको अनुभूति गर्नुपर्ने अवस्था गच्छदारसामु तत्काललाई छैन । राजनीतिमा उनीभन्दा ज्येष्ठ गिरिजाप्रसाद कोइराला जीवित छैनन् । अहिले कांग्रेसको केन्द्रमा राजनीति गरिरहेका कोइरालाहरु राजनीतिक योगदानको हिसाबमा गच्छदारभन्दा कान्छा सदस्य हुन् ।

‘थ्रेसहोल्ड’को त्रासले लखेटिरहँदा गच्छदारसामु कांग्रेस प्रवेश गर्नुको विकल्प पनि थिएन । पटक-पटक उनले मातृ पार्टी प्रवेश गर्ने आकांक्षा देखाएका थिए । लामो समयको ‘डिल’पछि अन्ततः उनी कांग्रेसमा फर्किएका छन् ।

काठमाडौंमा पार्टी एकता घोषणा हुनुअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विराटनगरमा सटिक विश्लेषण गरेका छन्, ‘गच्छदारबाट कांग्रेसको भलो होस् । मधेस आन्दोलनपछि कांग्रेसबाट चुनाव जित्न नसकिने भएपछि उनी फोरम प्रवेश गरेका थिए । र, फेरि चुनाव जित्न अहिले कांग्रेस छिरेका छन् ।’

हेर्न बाँकी छ, पार्टी एकताले गच्छदारको भलो गर्छ कि कांग्रेसको । तथापि, वाम गठबन्धनका कारण आत्तिएका कांग्रेसजनलाई गच्छदारको पुनरागमनले थोरै भए पनि राहत दिएको छ । जस्तोः वरिष्ठ नेता रामचन्द्र पौडेलले एकता सभामा भने, ‘बिहान घरबाट निस्केको परिवारको सदस्य साँझ घर फर्किंदा खुशी छाउँछ, विजयजी फर्किंदा त्यस्तै खुशी मिलेको छ ।’

सुनसरीका पुराना कांग्रेसीबीच गच्छदारको छाता चर्चित छ । दुहवी नजिक भलुवा, पचिराको थारु परिवारका सदस्य हुन्, उनी । बाँसको डाँठसहितको ठूलो, कालो रंगको छाता एक समयमा गाउँघरमा प्रचलित थियो । त्यस्तै छाता बोकेर गच्छदार भलुवा, पचिराबाट धरान-विराटनगर आउजाउ गर्थे । कृष्णप्रसाद भट्टराई पनि त्यस्तै छाताबाट चर्चित थिए ।

गच्छदार कांग्रेसका लडाकु र जुझारु नेता मात्र थिएनन्, कुशल संगठक पनि मानिन्थे । ‘पार्टीभन्दा टाढा हुँदा पनि उनलाई हामीले परको ठानेका थिएनौं, उनको पुनरामनबाट अझ मजबुत भएको महशुस गरेका छौं,’ सुनसरी कांग्रेसका पुराना नेता गिरिराज आचार्य भन्छन्, ‘देर से आया, दुरुस्त आया ।’

तर, गच्छदार कति दुरुस्त ढंगले कांग्रेसमा फर्केका छन् भन्ने विषयले शंकाको सुविधा दिन्छ । त्यसै पनि गच्छदार नेपाली राजनीतिका विवादमुक्त पात्र होइनन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पस पढ्दाताका अनेरास्ववियुका कार्यकर्ता फणिन्द्र तिम्सिनाको हत्यापछि उनले पञ्चायतकालमै जेलजीवन भोगेका थिए ।

पञ्चायतको अन्त्यपछि ०४८ सालको आम निर्वाचनलगत्तै बनेको सरकारमा सञ्चार राज्यमन्त्री बनेर उनको सत्तारोहणको यात्रा सुरु भएको थियो । त्यसयता बारम्बार मन्त्री बने, उनी । हरेक पटक विवादित छवि बोकेरै निस्किए । यसबीचमा गृह, भौतिक योजना, जलस्रोतलगायत ‘मालदार’ मन्त्रालयको नेतृत्व गर्न भ्याइसकेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारबाट बाहिरिएलगत्तै उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत पनि गर्न भ्याएका थिए । त्यसयता पनि उनले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत नगरेको होइनन् । किनभने, सत्ता यात्रामा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा मात्र पूरा गर्न बाँकी छ, गच्छदारले ।

उनी कांग्रेस त फर्के, तर उनको व्यवस्थापन कसरी हुन्छ भन्ने कुराले नै उनको भावी यात्रा तय गर्ने निश्चित छ । कांग्रेस सभापति शेरबहादुर देउवासामु गच्छदारको व्यवस्थापन कम चुनौतिपूर्ण छैन । प्रदेश २ बाट पार्टी राजनीतिमा एकछत्र छाउने महत्वाकांक्षाका साथ अगाडि बढेका विमलेन्द्र निधि गच्छदारको व्यवस्थापनमा अवरोधका रुपमा खडा हुने सम्भावनालाई नकार्न सकिँदैन । अहिले निधी र गच्छदारले अंकमाल त गरेका छन्, तर यसमा कूटनीतिक चालबाजी छैन भन्न सकिँदैन ।

उमेरले ६४ वर्ष कटेका गच्छदारलाई आफूभन्दा तीन वर्ष कान्छा एवं कांग्रेसको राजनीतिमा पनि कनिष्ठ सदस्य निधिले पार्टीभित्र कडा टक्कर दिने निश्चित छ ।

गच्छदारले फेरि त्यही मधेसको भूमिबाट राजनीतिक यात्रा सुरु गर्नुछ, जसले उनलाई गद्दार घोषणा गरेको थियो ।

र, उनी देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकतिर लाग्दा अत्यधिक खुशीको बौछार गरेकी गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला पनि पार्टी राजनीतिबाट बाहिर छैनन् । कोइराला परिवारकै डा. शेखर र डा. शशांक पनि सक्रिय राजनीतिमै छन् ।

राजनीतिको कर्मथलो सुनसरी, मोरङलाई बनाउनुपर्ने बाध्यताबीच गच्छदारलाई दोस्रो पुस्ताका कोइरालाहरुको बलियो सामीप्यता कायम राख्नु जरुरी देखिन्छ । कांग्रेसमा उनको ‘सेकेन्ड इनिङ’ प्रदेश र प्रतिनिधिसभाका आसन्न निर्वाचनबाट मात्र फराकिलो सडकमा प्रवेश गरेको विश्लेषण गर्नु हतारो हुनेछ । त्यसपछिको सत्ता गठबन्धन र कांग्रेसको १४ औं महाधिवेशनसम्म पुग्दा मात्रै उनी नेतृत्वमा स्थापित या विस्थापित के बन्ने हुन् भन्ने यकिन गर्न सहज हुनेछ ।

कांग्रेसलाई बदनाम बनाउनमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले र गोविन्दराज जोशीहरुको जति योगदान र भूमिका थियो, गच्छदारको पनि कम थिएन । शाही शासनकालमा गच्छदारमाथि पनि भ्रष्टाचारको मुद्दा लगाउन खोजिएको थियो तर उनी जोगिए ।

कर्मचारी सरुवा बढुवा आदिमा कमिसनको खेललाई वैधता दिने कांग्रेसभित्र व्याप्त विकृतिका एक सर्जकका रुपमा गच्छदारलाई पनि लिने गरिन्छ । यो स्थितिमा कांग्रेसमा उनको प्रवेशले कांग्रेसलाई भलो गर्छ या कुभलो, योचाहिँ भविष्यले नै बताउला ।

गच्छदारले कम्युनिस्टको बहुमत रोक्लान् ?

गच्छदारले सोमबार बालुवाटारबाट कांग्रेस प्रवेशको घोषणा गर्दै गर्दा कम्युनिस्टहरुलाई बहुमत ल्याउनबाट रोक्ने दाबी गरेका छन् । के गच्छदारले यस्तो ल्याकत राख्लान् ? यसका लागि उनको पार्टीले कति जनमत ‘होल्ड’ गरेको छ भन्ने हेर्नुपर्छ ।

दोस्रो संविधानसभाको चुनावमा गच्छदारको पार्टीले समानुपातिकतर्फ दुई लाख ७४ हजार नौ सय ८७ मत प्राप्त गरेको थियो । अहिले गोपाल दहितलगायत नेताहरु उनको पार्टीमा थपिएको अवस्था छ । ०७० सालको मतसंख्याका आधारमा विश्लेषण गर्दा गच्छदारले कांग्रेसलाई समानुपातिकतर्फ दुईदेखि तीन सिटसम्म योगदान गर्न सक्ने देखिन्छ । किनभने, यसपालि एक जना समानुपातिक संासद जित्नका लागि करिब एक लाख मत प्राप्त गर्नुपर्ने हुन्छ ।

गच्छदारको कांग्रेस प्रवेशले प्रत्यक्ष चुनावतर्फ पनि कांग्रेसलाई केही नाफा हुने देखिन्छ । जस्तोः सुनसरी र मोरङमा अब कांग्रेस केही बलियो बन्न सक्छ । कैलालीमा पनि कांग्रेसलाई यो एकताले बलियो बनाएको छ ।

गोपाल दहितका कारण थारु बाहुल्य क्षेत्र बर्दिया र दाङलगायत जिल्लामा पनि कांग्रेसलाई यो एकताले केही भोट थप्ने देखिन्छ । काभ्रेमा गणेश लामाले कांग्रेसलाई केही भोट थपिदिन सक्छन् ।

रौतहट लोकतान्त्रिक फोरमबाट मुस्ताक आलमले अघिल्लो चुनाव जितेको जिल्ला भएकाले यो जिल्लामा पनि आगामी चुनावमा कांग्रेसलाई यो एकताले केही फाइदा पुर्‍याउने देखिन्छ ।

यी सबै स्थितिलाई हेर्दा गच्छदारसँगको पार्टी एकताबाट कांग्रेसले आगामी चुनावमा पाँचदेखि १० सिटसम्म थप भयो भने आश्चर्य नमान्दा हुन्छ ।

जस्तोः मोरङको विराटनगरमा गत संविधानसभा चुनावमा लोकतान्त्रिक फोरम र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । अब त्यहाँ दुईवटा मिलेपछि वाम गठबन्धनलाई निकै गाह्रो पर्न सक्छ । कैलाली पनि लोकतान्त्रिक फोरमको जनाधार भएको जिल्ला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment