Comments Add Comment

प्रधानमन्त्रीलाई राष्ट्रपतिको कटाक्षः म खुशीले गदगद छु

दिपावलीको अवसरमा शीतलनिवासमा जलपान

३० असोज, काठमाडौं । सोमबार अपरान्ह राष्ट्रपतिनिवास शीतलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्त्याइयो । प्रधानमन्त्री देउवामात्रै होइन, मुख्य दलका सबै शीर्षनेताहरु ‘दिपावलीका अवसरमा जलपान’ समारोहमा निम्त्याइए, जहाँ राष्ट्रपतिले प्रधानमन्त्रीलाई कूटनीतिक पाराले कटाक्ष गरिन् ।

राष्ट्रपतिको निम्तो मान्न अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख पार्टीका शीर्षनेताहरु शीतलनिवास थिए । सो जमघटमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीसहित रामचन्द्र पौडेल र विजयकुमार गच्छदार थिए ।

एमालेबाट केपी ओली, माधवकुमार नेपालसहित पूर्वप्रधानमन्त्रीहरु निम्त्याइएका थिए भने नयाँशक्तिका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि शीतलनिवास पुगेका थिए ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शीतलनिवास पुगेका थिए ।

राप्रपा दुबै समूहका नेता पशुपतिसमशेर राणा र कमल थापा पनि शीतलनिवास पुगेका थिए । त्यस्तै राजपाका राजेन्द्र महतो पनि जमघटमा सहभागी थिए । महन्थ ठाकुर भने निम्तो गरिए पनि शीतलनिवास गएनन् ।

राष्ट्रपतिले के भनिन् ?

आफ्नै निम्तोमा शीतलनिवास बोलाइएका नेताहरुवीच राष्ट्रपति विद्यादेवी भण्डारीले संक्षिप्त सम्वोधन गरिन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गर्दै राष्ट्रपतिले तोकिएको समयमा चुनाव गर्न परोक्ष दबाव दिइन् ।

राष्ट्रपतिले दिपावलीको अवसरमा नेताहरुलाई जलपानका लागि आमन्त्रण गरेको बताएकी थिइन् । करिब आधा घण्टा भएको छोटो जमघटमा नेताहरुलाई चिया र मिठाइ भोजन गराइएको थियो ।

राष्ट्रपतिले नेताहरुसमक्ष भनिन्- ‘चुनाव गर्न सिंगो देश एकतावद्ध भएको छ, सबैतिरबाट प्रधानमन्त्रीलाई पनि बल पुगिरहेको देखेर म खुशीले गदगद बनेकी छु ।’

राष्ट्रपतिले यसो भनेर प्रधानमन्त्री देउवामाथि व्यंग्य गरेको वाम नेताहरुको बुझाइ छ ।

संक्षिप्त सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले दलहरु एकतावद्ध भएकाले चुनावलाई बल पुगेको बताएकी थिइन् । उनले आजैमात्र कांग्रेस र विजय गच्छदारवीच पार्टी एकता भएको आफूले सुनेको र यसले चुनाव गर्न प्रधानमन्त्रीलाई बल पुर्‍याइरहेको प्रतिक्रिया दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले चुनावका लागि प्रधानमन्त्रीलाई बल पुगेको भनिरहँदा प्रधानमन्त्री देउवाले भने कुनै प्रतिक्रिया नदिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार आचारसंहिता विपरीत सरकार विस्तार गरे पनि राष्ट्रपतिले शनिबार साँझ मन्त्रीहरुलाई सपथग्रहण गराएर देउवालाई सजिलो बनाइदिएकी छिन् । शायद यसैलाई उनले ‘चुनाव गराउन प्रधानमन्त्रीलाई सबैतिरबाट बल पुगेको’ बताएकी हुन् ।

राष्ट्रपतिले कमल थापा लगायत नयाँ मन्त्रीहरुलाई सपथग्रहण गराएकोमा खुशी हुँदै प्रधानमन्त्री देउवाले शनिबार संसदबाटै राष्ट्रपतिको प्रशंसा गरेका थिए । राष्ट्रपतिलाई कसैले उचाल्न खोज्दा पनि उहाँले संवैधानिक भूमिका खेलेको भन्दै देउवाले संसदमा राष्ट्रपतिको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment