Comments Add Comment

आज कागको पूजा गरिँदै, पढ्नुस् कागका रोचक कुरा

कुनै काग भेज, कुनै यार्सागुम्बाका शिकारी

३१ असोज, काठमाडौं । यमपञ्चकको पहिलो दिन आज कागतिहार हो । आजको दिन नेपालीहरुले आ–आफ्नो घरआँगनमा कागलाई डाकेर विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्छन् । आजको दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । नेपाली समाजमा कागलाई सन्देशवाहक पंक्षीको रुपमा लिइन्छ । साथै समस्त पंक्षीहरुमध्ये सबैभन्दा चतुर पनि मानिन्छ ।

वरिष्ठ पंक्षीविद हरिशरण नेपालीका अनुसार संसारभर काग प्रजातिका पंक्षीहरु १०० किसिमका छन् । नेपालमा भने १४ किसिमका कागहरु भेटिने उनले बताए ।

‘त्यसमा पनि काग नै भनेर नाम पाएका पंक्षी ४ थरीका छन्,’ उनले भने ।

४ वटामा एउटा कालो भोटे काग भनिने ‘रेभिन क्रो’ तिब्बतमा र नेपालको बोर्डर साइडमा पाइन्छ । यो काग चिलभन्दा पनि ठूलो हुन्छ । दोस्रो ‘जंगल क्रो’ भनिने काग अलि सानो पूरा कालो हुन्छ । यो १०/११ हजार फिटसम्म उचाइमा उड्छ । खैरो टाउको र जिउ कालो भएको ‘हाउस क्रो’ चाहिँ नेपालमा जहाँ–त्यहीँ पाइन्छ । अर्को रातो चुच्चो भएको ‘प्यूरी क्रो’ लेकमा पाइन्छ, काठमाडौंमा हुँदैन ।

एकथरी कागहरु भेज र ननभेज जे पनि खान्छन् भने अर्काथरी कागहरु ननभेज मात्र खान्छन् । कागले नेपालमा यार्सागुम्बाहरु खाएर क्षति पु¥याउने गरेको नेपाली बताउँछन् ।

‘कागलाई यार्सागुम्बा खान नदिने हो भने ३०/४० गाउँका मानिसहरु धनाढ्य बन्छन्,’ उनले भने ।

मे, जून र जुलाईमा कागको प्रजनन हुन्छ । उनीहरुले वर्षमा एक पटकदेखि तीन पटकसम्म गर्भाधान गर्न सक्छन् । एक पटकमा पाँच वटासम्म बच्चा जन्माउँछन् ।

काग ज्यादै छुचो पंक्षी पनि हो । यसले वरपरको चराचुरुङ्गीका फुल र बच्चा खाएर दुःख दिन्छ । यसले बालीनाली पनि नष्ट गर्छ । कागले भँगेराले जस्तो चुच्चोले टिपेर खानेकुरा खान सक्दैन । यसले लुछेर खान्छ ।

जे पनि खाने जात भएकाले नेपालमा कागको मासु खाने प्रचलन छैन । कागको मासु खाँदा स्वास्थ्यलाई हानी भने नगर्ने नेपालीको भनाई छ । जर्मनीमा क्रो हन्टिङ गरेर खाने गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment