Comments Add Comment

भ्रष्ट नेता चुन्ने कि प्रष्ट नेता चुन्ने ?

नजिकिँदो चुनावलाई हेरेर दलहरुको गठबन्धन फेरिएको छ, तर सोच उस्तै छ,आचरण झन् झन् खराव हुँदै गइरहेको छ, सत्ताका लागि पार्टीहरुको ध्रुवीकरण भएको छ तर, देश र जनताको हितका लागि दलहरु खण्डीकरण भइरहेका छन् ।

भ्रष्टाचार र दण्डहीनताले देशलाई ढपक्कै ढाकेको छ । लोकतन्त्रलाई जोकतन्त्र बनाएर इतिहासकै जम्बो मन्त्रीमण्डल बनेको हामीले टुलुटुलु हेरिरहेका छौं । भ्रष्टाचारीहरुले टिकट बाँड्ने, डनहरु उम्मेदवार सिफारिस हुने तर सत्यको आग्रह गरेका डा. गोविन्द केसी १३औं पटकसँा पनि पराजित भएको देख्दा राजनीतिको पुरानै ढाँचाले हाम्रो लोकतन्त्र झन् झन् अपांग बन्दै गएको हामीले निरिह भएर हेरिरहेका छौं ।

किनकि हामीलाई यसको बिकल्प थिएन । त्यसैले भ्रष्टाचारीहरुलाई पटक पटक जितायौं, हामीसँग कुनै सम्भावना थिएन त्यसैले सुध्रेलान् भनेरै दूराचारीहरुलाई पटक पटक माथि उठायौं । तर, देशले फड्को मारेन ।

बैकल्पिक राजनीतिमार्फत स्वाभिमानमा सुगन्ध भर्न आएका नयाँ अनुहारहरुले जित्नु भनेको तपाईं हामीले जित्नु हो, हाम्रो योजना सपनाले जित्नु हो, लाखौं युवाहरुको आशा र भरोशाले जित्नु हो

अहिले बिकल्प आएको छ, तर पनि हामी आफ्नो राजनीतिक मेनू परिवर्तन गर्न हिच्किचाएका छौं । यो कठिन घडीमा लोकलाई सुहाउने लोकतन्त्र बनाउन ईमान जमान र क्षमता भएका नयाँ अनुहारले जित्नैपर्छ । राजनीतिलाई ब्यापार बनाउनेहरुबाट बचाउन राजनीति समाजसेवा हो भन्नेले जित्नैपर्छ, अहिलेसम्म नैतिक र आर्थिक रुपमा स्वच्छहरुले जित्नैपर्छ । तर, त्यसका लागि हामीले बाजे बराजुदेखिका आफूलाई कहिल्यै सुधार्न नसकेका, नचाहेका दलहरुलाई सम्मानपूर्वक बिदाई दिनैपर्छ ।

अझै पनि तिनै दल र तिनका नेताहरुजसले देशलाई बनाउने कसम खाएर आज आफू र आफ्नालाई मात्र बनाएका छन्, तिनीहरुको बिकल्प खोज्नैपर्छ । नयाँ पुस्ता र नयाँ बिकल्पलाई जिताएर सत्ताका लागि एकजुट हुने बिसंगतिका जत्थाहरुलाई परास्त गर्ने बेलामा हजार पटक सोच्ने बेला यही हो ।

बैकल्पिक राजनीतिमार्फत स्वाभिमानमा सुगन्ध भर्न आएका नयाँ अनुहारहरुले जित्नु भनेको तपाईं हामीले जित्नु हो, हाम्रो योजना सपनाले जित्नु हो, लाखौं युवाहरुको आशा र भरोशाले जित्नु हो । राजतन्त्रले राम्रो गरेको भए बहुदल र बहुदलले राम्रो गरेको भए गणतन्त्रका लागि लड्नुपर्ने थिएन ।

त्यस्तै बाबु बाजेको पालादेखिका पार्टीले राम्रो गरेका भए आज बिकल्प खोज्नुपर्ने थिएन । बाबु बाजेका पालाका पालाका पार्टीहरुले बाटो नविराएका भए आज लाखौं युवा बिदेशिनुपर्ने थिएन । आन्तरिक द्वन्द्वमा हजारौं मारिनु र बेपत्ता हुनुपर्ने थिएन । दिनदिनै भ्रष्टाचार र दण्डहीनताका मुख्य समाचारहरु सुन्नैपर्ने थिएन ।यिनीहरु सत्ता प्राप्तिको लागि मत्ता हात्तीजस्तै नबहुलाएको भए आज देश युरोप अमेरिकाको टक्करमा हुने थियो ।

हाम्रा शहरहरु शहरजस्ता छैनन्, दिनदिनै ढलमा डुवेर केटाकेटी मर्छन । व्यवसायीहरुलाई चलचित्रमा जस्तै ड्याम ड्याम गोली हानेर मारिन्छ । नेताहरुले स्मार्ट सिटी बनाउँछु भनेका हाम्रा शहरमा राम्ररी स्वास फेर्न पनि दश पटक सोच्नुपर्छ । घर बाहिर हिँड्दा ढुक्कले हिँड्न सकिँदैन, हाम्रा गाउँहरु गाउँजस्ता छैनन्, झाडापखाला लागेर सिटामोल जीवनजल नपाएर जनता मर्छन् । राज्यकोषमा मस्ती गरेर युरोप अमेरिकामा ज्वरो जँचाउन हाम्रा नेताहरु पुगेका छन् । राजनीतिमा हुने गुण्डागर्दीको बिषयान्तर भएर गुण्डाहरु राजनीतिमा आइरहेका छन्, यस्ताले देश बनाउलान् भनेर कसरी विश्वास गर्ने ?

देश यति बिग्रेको छ कि कुरा गरिसाध्य छैन । पलपलमा छल छ, बेइमानको ढलमा हाम्रा प्रायःजसो पुराना नेता पौडिएका छन् । राजनीति मकुण्डो लगाएर लाजनीति बनेको छ

प्रकृतिले सबैथोक दिएको हाम्रो देशलाई झन् झन् गरीब बनाएर आफूहरु मात्रै मोटाएका छन् नेताहरु, पुर्खाले स्वाभिमान थामेको देशको अन्तर्राष्ट्रिय सम्बन्ध निरिह छ, हामी जोगीजस्तै जता पनि माग्ने मात्रै भएका छौं ।

यो सबै हाम्रो इमान हराएको राजनीतिको फल हो, यो सबै हाम्रा नेताहरुले बाटो बिराएको नतिजा हो ।

देश यति बिग्रेको छ कि कुरा गरिसाध्य छैन । पलपलमा छल छ, बेइमानको ढलमा हाम्रा प्रायःजसो पुराना नेता पौडिएका छन् । राजनीति मकुण्डो लगाएर लाजनीति बनेको छ ।

अनि हामीले अझै पनि यिनैलाई जिताएर भ्रष्टाचार दुगुना पार्ने ? अझै पनि यिनलाई जिताएर दण्डहिनता तीनगुणा पार्ने ? अझै यिनीहरुलाई जिताएर राज्यकोषको दोहन चौगुणा पार्ने ?

त्यसैले भ्रष्ट नेता चुन्ने कि प्रष्ट नेता चुन्ने, जिम्मा जनताकै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment