Comments Add Comment

प्राधिकरणले थाल्यो सौर्य ऊर्जा खरिदः २ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने

सर्वसाधारण, सरकारी/गैरसरकारी कार्यालयबाट खरिद गरिने

३१ असोज, काठमाडौं । सरकारले सर्वसाधारण, संघसंस्था, विभिन्न कार्यालयमा जडित सोलार प्यानलबाट उत्पादित बिजुली खरिद सुरु गरेको छ ।

विद्युत प्राधिकरणले पहिलो चरणमा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ एसोसिएसन र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उत्पादित सौर्य ऊर्जालाई केन्द्रीय प्रसारण लाइनमा जोडिसकेको छ । त्यसको साटो प्राधिकरणले बिजुली उपलब्ध गराएको छ ।

अब सर्वसाधारणले घरमा राखेका सोलार प्यानलबाट उत्पादित ऊर्जा खरिद थाल्नेछ । त्यसका लागि पाँच सय वाटभन्दा बढीको प्यानल जडान गर्नुपर्नेछ, सर्वसाधारणले ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार त्यसभन्दा सानो क्षमताका प्यानलबाट उत्पादित बिजुली जोड्दा लागत महँगो पर्छ । शहरी क्षेत्रमा पाँच सय वाटभन्दा ठूलो क्षमताका प्यानल जडान गर्ने व्यक्ति, निकाय र व्यावसायिक र्फम प्रशस्तै छन् ।

उक्त कामबाट ऊर्जा संकट निवारणमा सहयोग पुग्ने र खेर गइरहेको सौर्य ऊर्जाको सदुपयोग हुने प्राधिकरणको आशा छ ।

प्राधिकरणले विभिन्न संघसंस्था र निकायमा उत्पादन भएर पनि खेर गइरहेको सौर्य ऊर्जा खरिद गरेर राष्ट्रिय प्रसारणमा जोड्न ‘नेट मिटरिङ’ लागू गरेको छ ।

केन्द्रको अध्ययनअनुसार तत्काल दुई मेगावाट राष्ट्रिय प्रसारणमा जोड्न सकिने देखिएको छ ।

कसरी गर्ने बिक्री ?

सौर्य ऊर्जा उत्पादन गर्ने व्यक्ति र निकाय प्राधिकरणको ग्राहक भए आफूले उपभोग गर्ने बिजुलीको १० प्रतिशत शुल्क मात्र तिरे पुग्नेछ । तर, उत्पादकले छुट्टै रकम पाउँदैनन् ।

धेरै बिजुली खपत हुने ठूला औद्योगिक प्रतिष्ठानमा ब्याकअपका रुपमा सोलार राख्न र त्यसबाट बढी हुने बिजुली किन्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले यो योजना ल्याएको हो

केन्द्रले आफ्नै कार्यालय परिसरमा उत्पादन हुने ४० किलोवाट बिजुली पनि राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, राष्ट्रपति कार्यालय, शिक्षण अस्पताल, धुलिखेल अस्पताल, नेपाल विद्युत प्राधिकरण, माइती नेपाललगायत कार्यालयमा राखिएका सौर्य प्लान्टबाट पनि ‘ग्रिड कनेक्सन’ गर्न सकिने देखिएको छ ।

उपत्यकाबाहिर पनि धेरै स्थानमा साना प्लान्टहरु रहेकाले त्यसलाई प्रसारण लाइनमा जोड्नुपर्ने निश्कर्ष केन्द्रको अध्ययनबाट निस्किएको छ । ‘तर, त्यसका लागि सम्बन्धित कार्यालय र संघसंस्थाले प्राधिकरणसँग सम्झौता गर्नुपर्छ,’ केन्द्रका सोलार महाशाखा प्रमुख चैतन्य चौधरीले भने ।

युनिटको नौ रुपैयाँ ६१ पैसा

सर्वसाधारणले घरका छत र खाली जग्गामा सोलार प्यानल राखेर बिजुली उत्पादन गर्न सक्नेछन् । त्यसलाई प्राधिकरणले युनिटको नौ रुपैयाँ ६१ पैसामा खरिद गर्नेछ ।

प्राधिकरणसँग बिजुली सट्टापट्टाको अवसर पनि सौर्य ऊर्जा उत्पादकले पाउने छन् । सरकारले ऊर्जा संकटकाल घोषणाका क्रममा पाँच सय वाटभन्दा बढीको सौर्य ऊर्जा राष्ट्रिय प्रसारणमा जोड्ने घोषणा गरेको थियो ।

धेरै बिजुली खपत हुने ठूला औद्योगिक, व्यापारिक र अन्य प्रतिष्ठानमा ब्याकअपका रुपमा सोलार राख्न र त्यसबाट बढी हुने बिजुली किन्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले उक्त योजना ल्याएको हो । यसबाट घरमै सोलार राखेर आम्दानी गर्ने बाटो खुलेको छ ।

डिजेल खर्चेर जेनेरेटर चलाउनुभन्दा सोलार प्यानल सस्तो हुने भएपछि पछिल्ला दिनमा उद्योगहरुमा ठूला प्लान्ट राख्ने क्रम बढेको छ । भारतको नाकाबन्दीपछि शहरी क्षेत्रमा विभिन्न व्यावसायिक र्फमले पाँच सय वाटभन्दा माथिका तीन सयभन्दा बढी प्लान्ट जोडेका छन् ।

उद्योगहरुले पनि एक मेगावाटभन्दा बढीको सोलार राखेका छन् । यसले पनि जनतासँग सौर्य ऊर्जा खरिद गर्ने सरकारी योजना सफलाउन्मुख रहेको अधिकारीहरु बताउँछन् ।

मुलुकभरबाट सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा खरिद गर्न सकिने अध्ययनले देखाएको छ ।

मूल्यप्रति असन्तुष्टी

तर, त्यसमा सरकारले निर्धारण गरेको प्रतियुनिट नौ रुपैयाँ ६१ पैसामा व्यवसायी सन्तुष्ट छैनन् । लागतअनुसारको मूल्य नतोक्दा व्यावसायिक उत्पादन गर्न नसकिने उनीहरुको तर्क छ ।

खरिद मूल्यलाई समयसापेक्ष बनाउनुपर्ने व्यवसायीहरुको माग छ । ऊर्जा मन्त्रालयले त्यसमा पुनरावलोकनको तयारी पनि नगरेको होइन । तर, त्यसका लागि भइरहेको ढिलाइका कारण असन्तुष्टी सम्बोधन हुन सकेको छैन ।

खरिद मूल्य बढाउँदा सौर्य ऊर्जाको व्यावसायिक उत्पादन र लगानी बढ्ने अपेक्षा मन्त्रालयको पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment