Comments Add Comment

वर्षा शिवाकोटीको ‘ब्युटी सिक्रेट’

होममेड फेसप्याक, बन्दाको जुस र चनाको सातु

एक दिन उनलाई अनुभव भयो, बजारका नानाथरी कस्मेटिक्स प्रोडक्टले मुहारको सौन्दर्यलाई बिगार्न थालेछन् । मुहारको सौन्दर्य चम्काउनुको साटो तिनले उल्टै कुरुप बनाउने चिन्ता उनलाई भएछ ।

हुन पनि, सुटिङभर हेभी मेकअप गर्नुपर्ने । थरिथरिका कस्मेटिक्स प्रयोग हुने । सधैं एउटै मेकअप म्यान नहुने भएकाले एकनासको कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्न पनि नपाइने ।
राति थाकेर उनी घर फर्किन्थिन् । मेकअपले लेपिएको अनुहार राम्ररी पखाल्न पनि भ्याउँदिनथिन् । टिस्यु पेपरले सफा गरेर सुत्थिन् ।खुला स्थान र घाममा बसाइ, अनिन्द्रा, सेटकै चिल्लो-पिरो खाना । ग्यास्टि्रकले पनि उनलाई सतायो । डन्डिफोर फाट्ट-फुट्ट देखिए ।

‘बिहान उठ्दा अनुहारको छाला रुखो हुने । पछि अलि फुस्रो भएजस्तो भयो,’ शिवाकोटीले भनिन्, ‘स्किन बिग्रिएजस्तो लाग्यो ।’

मुहारमा फर्केको चमक

वर्षा बेलैमा सतर्क भइन् । ड्रेसिङ टेबलका असरल्ल कस्मेटिक्स प्रोडक्ट हटाइन् ।

ब्याक टु नेचर । आफ्नै हातले घरेलु फेसप्याक तयार गरिन् । त्यही फेसप्याक नियमित प्रयोग गर्न थालिन् ।

खानपान पनि सुधारिन् । स्वादे जिब्रोलाई कन्ट्रोल गरिन् । पानी र जुस बढी मात्रामा पिउन थालिन् । व्यायाममा जोड दिइन् । बाहिर हिँड्दा माक्स, स्कार्फ र सनग्लासको प्रयोग गर्न थालिन् ।

यी सबैको एकमुष्ठ प्रभाव, उनको अनुहारको आभा फर्कियो, त्यसमा चमक छायो ।

होममेड फेसप्याक बनाउने तरीका भने वर्षाले युट्युबबाट सिकेकी रहिछन् । भारतलगायत मुलुकका सौन्दर्यविद् युट्युबमा होममोड फेसप्याकबारे टिप्स दिइरहेका हुन्थे ।

तीमध्ये उनले आधिकारिक र धेरै हेरिएका च्यानल छनोट गरिन् । त्यसमै दिइएका टिप्सलाई फलो गरिन् । ती च्यानलमा देखाइएका कतिपय चिज पाइँदैनन्, उनले रिप्लेसमेन्टमा अन्य सामग्री प्रयोग गरिन् । र, यसरी तयार भएको फेसप्याक आफैंमा अप्लाइ गरिन् ।

‘निकै प्रभावकारी लाग्यो,’ वर्षाले भनिन्, ‘तपाइर्ं, हामी सजिलै त्यस्तो फेसप्याक बनाएर लगाउन सक्छौं ।’


अब ‘हेल्दी मेकअप’

अचेल सामान्य अवस्थामा वर्षा मेकअप गर्दिनन् । तर, बाहिर निस्किनुपर्ने भए मेकअप गर्छिन् । र, त्यो सामान्य हुन्छ । त्यसका लागि आधा घण्टा लाग्छ ।

‘सुरुमा सफा पानीले अनुहार पखाल्छु । त्यसपछि टोनर लगाउँछु । टोनरले छालाको सुरक्षा गर्छ । राति पनि सुत्नुअघि टोनर प्रयोग गर्छु,’ उनले भनिन्, ‘दिनमा २/३ पटक टोनर र गुलाबजल लगाउने गरेकी छु । टोनरपछि मोस्चराइजिङ क्रिम लगाउँछु । त्यसपछि फाउन्डर प्रयोग गर्छु । अनि गाजल लगाउँछु, आइब्रो बनाउँछु ।’

उनका अनुसार त्यसपछि पालो आउँछ, मेकअप सेटर स्प्रेको । यसले मेकअप टिकाउँछ । स्प्रेपछि कम्प्याक्ट पाउडर लगाउँछिन् ।

घरबाहिर निस्कँदा उनी प्रायः स्कुटरमा हिँड्छिन् । स्कुटरमा घाम, धुलो-धुँवाको सोझो असर पर्न सक्छ । त्यसैले केसलाई सलले लपेट्छिन् । आँखामा सनग्लास हुन्छ, मुखमा माक्स । यसले घाम, धुलो सबैबाट बचाउँछ ।

मेकअप गर्नु जति महत्वपूर्ण छ, त्यसलाई उतार्नु पनि उत्तिकै जरुरी छ । सुत्नुअघि मेकअप उतार्नैपर्ने उनको सल्लाह छ ।

‘घर फर्केपछि सबैभन्दा पहिला म मेकअप उतार्छु । त्यो पनि मोस्चराइजर प्रयोग गरेर । मेकअप नउतारी सुत्ने बानीले सौन्दर्यमा क्षति पुग्छ,’ उनले भनिन् ।

बन्दाको जुस र चनाको सातु

हेल्दी मेकअपसँगै वर्षा हेल्दी डाइट, व्यायाम र पर्याप्त निन्द्रामा ध्यान दिन्छिन् ।

‘मेरो सुत्ने तालिका नियमित छ । राति १० वा ११ बजेसम्म बस्नै सक्दिनँ,’ उनले भनिन्, ‘एक दिन निन्द्रा बिथोलियो भने दुई दिन डिस्टर्ब हुन्छ । त्यसैले राति समयमै सुत्छु ।’

सुत्नुअघि उनी मनतातो पानी पिउँछिन् । राति पनि उनको पानी पिउने बानी छ ।

‘बिहान उठ्नासाथ सुरुमा मनतातो पानी पिउँछु । त्यसपछि कागती र मह राखेको पानी पिउँछु,’ वर्षाले भनिन्, ‘मनतातो पानीले मेरो पाचनतन्त्र ठीक बनाएको छ । ग्यास्टि्रकको समस्या छैन ।’

खानपानमा पनि उनी अलि सर्तक छिन् । ग्यास्टि्रकले सताएकाले दूधको चिया छाडिन् । बाहिरको चिल्लो, चाप्लो खाना पनि खाने गरेकी छैनन् ।

‘सकेसम्म घरकै खाना खाइन्छ । त्यसबाहेक ड्राइ फुड्स खान्छु । म बाहिर निस्कनुअघि झोलामा ड्राइ फुड्स बोक्ने गर्छु,’ उनले भनिन् ।

उनी झोलयुक्त खानेकुरामा जोड दिन्छिन् ।

‘अहिले ममीले बन्दाको जुस बनाइदिनुभएको छ । भर्खरै पनि त्यही पिएर आएँ । अब गएर फेरि पिउँछु,’ उनले भनिन्, ‘ममीले नै चनाको सातु बनाइदिनुभएको छ । साँझ त्यही सातु खाने हो ।’

पहिले उनी दौडिन्थिन् । स्वयम्भुको सिँढी चढ्ने, ओर्लने गर्थिन् । यसरी झन्डै दुई घण्टा बित्थ्यो । अहिले जुम्बा जान थालेकी छन् । जुम्बामै दुई दिन कार्डियो एक्सरसाइज पनि गर्छिन् । त्यहाँ अरु पनि व्यायाम सिकाइन्छ ।

‘जुम्बामा निथु्रक्क पसिनाले भिजिन्छ । यो पनि स्वास्थ्य र सौन्दर्यका लागि राम्रो हो,’ उनले भनिन् ।

वर्षा टिप्सः फेस प्याक

अनलाइनखबरलाई वर्षाले घरेलु फेसप्याक तयार गर्ने टिप्स यसरी दिइन् ।

आवश्यक सामग्री

बेसनको पिठो, अलिकति चन्दनको धुलो, चामलको पिठो -सबै १-१ चम्चा), कागतीको रस, गुलाबजल र मह ।

बनाउने विधि

-बेसनको पिठो, चन्दनको धुलो, चामलको पिठोलाई एकै ठाउँ मिश्रण गर्ने । उक्त मिश्रणलाई कुनै डिब्बामा राख्ने ।

-फेसप्याक प्रयोग गर्नुपर्ने बेलामा त्यो मिश्रणमा कागतीको रस, गुलाबजल, महजस्ता लिक्विड मिक्स गर्ने । एक चम्चा गुलाबजल र महले डिजर्भ गर्नेजति धुलो मिसाउने ।

-अब यो पेस्टलाई एकछिन राख्ने र अनुहारमा लगाउने । अनुहारमा लेप लगाएपछि आधा घण्टा त्यत्तिकै छाड्ने ।

-आधा घण्टापछि सफा पानीले पखाल्ने ।

वर्षा यस्तो फेसप्याक एक दिन बिराएर लगाउने गर्छिन् ।

‘यसको साइडइफेक्ट छैन । यी सबै सामग्री जुटाउनुपर्छ भन्ने पनि छैन । त्यसमध्ये एक वा दुई वटा सामग्री मात्रै मिलाएर पनि फेसप्याक बनाउन सकिन्छ,’ उनले भनिन् ।

हेयर केयर ट्रिक

पहिला वर्षाको कपाल एकदमै रफ थियो । केश झर्ने समस्या थियो । चाया पनि परेको थियो ।

‘मेरो केश छोटो छ । र, स्ट्रेट गरेको छु । त्यसैले बाहिर निस्कनुअघि हेयर डायर युज गर्नुपथ्यो,’ उनले भनिन्, ‘यसले केशलाई रुखो बनाउने भएकाले तेलहरुको प्रयोग गर्न थालें ।’

हेयर आयल टि्रटमेन्टपछि वर्षाको केश सुन्दर भएको छ । अहिले केश झर्ने क्रम पुरै रोकिएको छ । चाया पनि छैन ।

के हो त उनको हेयर ट्रिटमेन्ट ?

केशको सौन्दर्य जोगाउन पनि उनले घरमै हेयर आयल बनाउने गरेकी छन् । त्यसका लागि क्यास्ट्रोल तेल, ओलिभ (जैतुन) तेल, तोरीको तेल, नरिवलको तेलको आदिको मिश्रण तयार गर्छिन् । प्राकृतिक तेलहरुको यही मिश्रणले केश मसाज गर्छिन् ।

वर्षाका अनुसार यी तेलहरुलाई छुट्टाछुटै वा सीधा प्रयोग गर्दा केश रुखो हुनसक्छ । त्यसैले सबैको मिश्रण बढी प्रभावकारी हुन्छ । यो मिश्रणमा प्याजको रस, अदुवाको रस र मेथी मिसाउनु झन उत्तम । यी सबैमा आ-आफ्नै गुण हुन्छ । कुनैमा केश बलियो बनाउने, कुनैमा केश मुलायम बनाउने, कुनैमा केश चम्किलो बनाउने गुण हुन्छ ।

‘तेलको यो मिश्रण सधैं होइन, कहिलेकाहीं प्रयोग गर्न सकिन्छ । खासगरी नुहाउनु एक घण्टाअघि तेलको मिश्रणले मसाज गर्छु,’ उनले भनिन् ।

मसाजपछि उनी मनतातो पानीले स्याम्पु गर्छिन् । खासमा चिसो पानीले नुहाउनुपर्छ भन्ने गरिन्छ । तर, त्यसले केसको तेल राम्ररी नपखालिने उनको अनुभव छ । दुई दिन नुहाएन भने उनको केशमा तेल आउँछ । त्यसैले एक दिन बिराएर नुहाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment