Comments Add Comment

देशभरका स्थानीय तहमा चाहियो ८ सय ३० आइटी अफिसर, तलब ४० हजार

प्रतिष्पर्धामा बन्देज गरिएको भन्दै विज्ञान-प्रविधि संकायका विद्यार्थी आन्दोलित

३१ असोज, काठमाडौं । देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिमा सूचना प्रविधि अधिकृत (आइटी अफिसर) नियुक्तिका लागि स्थानीय विकास मन्त्रालयले दरबन्दी पठाएको छ । तर, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट आइटी इन्जिनियरिङ गरेकाले मात्र अवसर पाउने भएपछि विज्ञान तथा प्रविधितर्फका विद्यार्थी आन्दोलित भएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको थप एक वर्षका लागि बजेटसमेत विनियोजन गरेर असोज २६ गते स्थानीय तहलाई परिपत्र गरेपछि यो विषय बाहिर आएको हो । त्रिविअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान फरक–फरक संकायले एकै प्रकृतिको अध्ययन अध्यापन गराउँछन् ।

मन्त्रालय र इन्जिनियरिङ अध्ययन संस्थानबीच समझदारीपत्रमा हस्ताक्षर गरी स्थानीय तहमा करारमा नियुक्ति लिइने र ती आइटी अफिसरको तलब मासिक ४० हजार हुने उल्लेख छ । आइटी अफिसर बन्न त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट इन्जिनियरिङ गरेकाले मात्र पाउने भएपछि अन्य विश्वविद्यालयबाट आइटीमा इन्जिनियरिङ गरेका विद्यार्थी पनि वन्चित हुने भएका छन् ।

त्रिविअन्तर्गतकै विज्ञान तथा प्रविधि संकायका विद्यार्थीहरुले आफूहरुमाथि विभेद भएको भन्दै सम्बन्धित निकायमा दबाब दिएका छन् । त्रिविबाट विज्ञान तथा प्रविधि अध्ययन गरी ४ वर्षे बिएस्सी एआइटी गरेका विद्यार्थीले पनि स्थानीय तहको आइटी अफिसरमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग राखेका छन् ।

अमृत साइन्स क्याम्पसबाट बिएस्सी एसआइटी गरेका अनेरास्ववियुका नेता गोपाल नेपालले स्थानीय विकास मन्त्रालयको परिपत्रले आइटी अध्ययन गरेका हजारौं विद्यार्थीमाथि अन्याय भएको बताए । उनले भने, ‘हामीले पनि ४ वर्षे विज्ञान प्रविधि विषयमै पढेका हौं, हामीलाई यहाँ बन्चित गरियो भने हामीले अन्यत्र प्रतिस्पर्धा गर्ने ठाउँ नै रहँदैन ।

४ वर्ष लगाएर नेपालका त्रिभुवन विश्वबिद्यालयबाट दीक्षित भै सकेपछि वेरोजगार बस्नुपर्ने अवस्था सरकारले सिर्जना नगरोस् भनेर तिहारपछि संघर्षको तयारी भइरहेको उनले बताए ।

डीन भन्छन् – हामीले पत्राचार गरिसक्यौं

यसैबीच त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले ७५३ स्थानीय तह र ७७ जिससमा आइटी अफिसर नियुक्तिमा आफ्ना विद्यार्थीले पनि समान प्रतिस्पर्धाको अवसर पाउनुपर्ने भन्दै स्थानीय विकास मन्त्रालयलाई लिखित आग्रह गरेको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन रामप्रसाद खतिवडाले सोमबार नै संस्थानले अध्यापन गराउने पाठ्यक्रमको ढाँचासहित आइटी अफिसरमा आफ्ना विद्यार्थीलाई पनि प्रतिस्पर्धाको अवसर दिन पत्राचार गरिएको बताए ।

उनले भने– उहाँहरुले इन्जिनियरिङ अध्ययन संस्थानसँग मात्र सम्झौता गर्नु भएको रहेछ, यो कुरा थाहा पाएर हामीले पनि आइटीका विद्यार्थी उत्पादन गर्ने पाठ्यक्रम रहेकाले सबै विषयबस्तु सहित पठाएका छौं । यति ठूलो अवसरबाट हाम्रा विद्यार्थी बन्चित नहुन् भन्नेमा सचेत छौं ।’

७५३ स्थानीय तह तथा ७७ जिल्ला समन्वय समिति गरी ८३० स्थानीय तहमा आइटी अफिसर राख्नुपर्ने भएकाले विज्ञान प्रविधिका विद्यार्थीहरुका लागि यो ठूलो अवसर हो । कतिपय स्थानीय तहमा एउटा मात्र आइटी अफिसरले नपुग्ने भएकाले पनि थप करारमा नियुक्ति गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

विज्ञान प्रविधि अध्ययन संस्थानअन्तर्गत ५५ कलेजबाट बर्सेनि २ हजारभन्दा बढी सूचना प्रविधि विज्ञ जनशक्ति उत्पादन हुने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment