Comments Add Comment

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का मन्त्रालय तानिने

३१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबाबु खड्कालाई आपूर्ति मन्त्रालयमा तान्न अनुमति दिएको छ । आयोगले उक्त निर्णय गरेर त्यसको आधिकारिक पत्रसमेत आपूर्ति मन्त्रालयलाई उपलब्ध गराइसकेको छ ।

‘निर्वाचन आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार उनलाई मन्त्रालयमा झिकाई काममा लगाउन प्रदान गरेको छ,’ आयोगले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

आपूर्ति मन्त्रालयले २६ असोजमा खड्कालाई ‘तोकिएको कार्यसर्तअनुसार कार्यसम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालय झिकाई काममा लगाउन सक्ने’ बताउँदै त्यसका लागि आयोगसँग सहमति मागेको थियो ।

मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले आयोगको पत्र मन्त्रालयलाई मंगलबार अबेर प्राप्त भएको जानकारी दिए ।

मन्त्रालयले पनि सचिवस्तरीय निर्णयबाट खड्कालाई मन्त्रालय तान्ने निर्णय गरिसकेको मन्त्रालय स्रोतले जनाएको छ । ‘सचिवस्तरीय निर्णयको उक्त फाइल मन्त्रीको टेबुलमा पुगेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अब मन्त्रीको निर्णयअनुसार काम अघि बढ्छ ।’

आपूर्तिमन्त्री शिवकुमार मण्डलले कारवाही गर्ने विषयमा मन्त्रालय दृढ रहेको बताए । ‘यसबीचमा सरकार परिवर्तनको कुरा पनि आएको छ,’ मन्त्री मण्डलले भने, ‘यसले निर्णय फेरि उल्टिन सक्ने खतरा पनि हुन सक्छ, यस विषयमा सोचेर उचित निर्णय हुनेछ ।’

गत २२ असोजमा सर्वोच्च अदालतले खड्कालाई निगमको कार्यकारी निर्देशकबाट बर्खास्त नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशसँगै खड्काले निगमका नियमित कामकारवाही थालिसकेका छन् । सरकारले २ असोजमा खड्कालाई बर्खास्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment