Comments Add Comment

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल ‘रिस्क जोन’मा

यस्तो छ तनहुँ जिल्लाको चुनावी शक्ति सन्तुलन

१ कात्तिक, तनहुँ । कांग्रेसहरुको बलियो क्षेत्र मानिएको तनहुँको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल रिक्स जोनमा छन् । वामपन्थी गठवन्धनले पौडेललाई सकस पार्ने त देखिन्छ नै, स्वंय कांग्रेस तनहुँभित्र मच्चिएको हुण्डरीले गर्दा पौडेल असुरक्षित बन्दै गएको देखिएको छ ।

साविक ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँ अहिले २ वटा निर्वाचन क्षेत्र भएको छ । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट निर्वाचन लड्दै विजयी बन्दै आएका छन् ।

विगतमा आफैंले छाडेको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ बर्षपछि फर्कन लागेका हुन् । पौडेलले छाडेपछि उनको विरासत कांग्रेसकै नेता गोविन्दराज जोशीले सम्हाल्दै आएका थिए । जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते पनि ०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी तेस्रो भए । अकुत सम्पती आर्जन गरी भष्ट्राचार गरेको अभियोग जोशीमाथि लागेपछि उनको राजनीतिक जीवन र यात्रा स्खलित बन्दै गयो ।

जोशीलाई एकातिर भष्ट्राचारको अभियोग लाग्यो, अर्कोतिर उनी निर्वाचनमा पराजित भए । यही मौकामा पौडेल तनहुँको राजनीतिमा हावी भए ।

जिल्लाको राजनीतिमा पौडेल हावी भए पनि केन्द्रीय राजनीतिमा भने उनलाई पराजयले पछ्यायो । १७÷१७ पटकसम्म प्रधानमन्त्रीको लिगलिगे दौडमा पराजित बनेका पौडेल महाधिवेशनमा पार्टी सभापतिमा पराजित बने ।

युवा नेतृत्व फस्टाएन

अहिले तनहुँ जिल्लामा कांग्रेसका यिनै दुई नेताको टकराव र एकलौटी हैसियतका कारण नयाँ क्षमतावान युवाहरु राजनीतिको केन्द्रमा आउनै सकेका छैनन् ।

विद्यार्थी राजनीतिबाट केन्द्रीय सदस्य बनेका प्रदिप पौडेलबाहेक जिल्लाबाट राजनीतिक गर्नेहरुको तगारो यिनै दुई नेताहरुलाई मान्ने गरिएको छ कांग्रेसवृत्तमा ।

अहिलेसम्म गठन भएका अधिकांश मन्त्रिमण्डलमा तनहुँका कांग्रेसी नेताहरु मन्त्री नभएको सायदै सुनिन्छ । तर, पौडेल र जोशीले पनि जिल्लाको विकासमा माखो मार्न नसकेको आरोप लाग्दै आएको छ ।

आगामी चुनावमा टकराव

यी ठूला नेताको भाले भिडन्त यसपटक पनि तनहुँमा राम्रैसँग देखिने भएको छ । काँग्रेस तनहुँका नेताहरुले बरिष्ठ नेता पौडेललाई कि समानुपातिकमा बस्न वा तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्न सुझाव दिइरहेका छन् । तर, पौडेलले भने एमालेको पकड रहेको क्षेत्र नम्बर २ भन्दा १ लाई नै सुरिक्षत मानेका छन् ।

पौडेल आफैं टिकट दिने ठाँउमा भएका कारण उनले तनहुँ १ रोज्ने पक्कापक्की छ । यो कुरा बुझेर नै कांग्रेस नेता जोशीले आफ्ना कार्यकर्ताहरुलाई सदरमुकाम दमौलीमा उतारेर प्रर्दशन गरिसकेका छन् ।

यतिले मात्रै कांग्रेसको किचलो सकिनेवाला छैन । कांग्रेसका नेता एवम् क्षेत्र नं १ का निवर्तमान सांसद शंकर भण्डारी, गोविन्द भट्टराई जस्ता नेताहरु पनि यसै थन्किनेवाला छैनन् ।

दुई ठूला दल एमाले र माओवादीको वाम गठवन्धनबाट कांग्रेस तनहुँमा रक्षात्मक बन्ने प्रस्ट देखिएको छ । स्थानीय तहको मतपरिणामका आधारमा विष्लेषण गर्दा तनहुँ १ र २ दुवै निर्वाचन क्षेत्रमा कांग्रेस रक्षात्मक देखिएको छ ।

तनहुँको निर्वाचन क्षेत्र नं १ मा वाम गठवन्धनले स्थानीय तहमा प्राप्त गरेको मत कांग्रेसको भन्दा २०९२ बढी देखिन्छ । यस्तै क्षेत्र नं २ मा वाम गठवन्धन कांग्रेसभन्दा ६८११ मतले अगाडि छ ।

कांग्रेसका नेता शंकर भण्डारी र गोविन्द भट्टराईले समेत टिकटका लागि आ–आफ्ना गोटी चलाइरहेका छन् । उनीहरु दुबै केन्द्रीय सदस्य भएकाले नेतृत्व दबावमा छ ।

भण्डारी खुमबहादुर खड्को कोटाबाट वनमन्त्री भैसकेका व्यक्ति हुन् । भण्डारीले काँग्रेसले टिकट वितरणमा ध्यान पु¥याएन भने दुबै क्षेत्र गुमाउनुपर्ने चेतावनी दिएका छन् ।

भण्डारीले बरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्न सुझाव दिँदै आएका छन् । पौडेल २ मा गए १ बाट आफूले टिकट पाउने उनको भनाइ छ ।

टिकट नपाए बिद्रोह–जोशी

नेपाली कांग्रेसका नेता तथा पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफूलाई सांसदको टिकट नदिइए बिद्रोह गर्ने चेतावनी दिएका छन् । उनले आफू समानुपातिक सूचिमा नबस्ने अडान लिएका छन् । गत स्थानीय निर्वाचनमा आफ्नो पक्षबाट कसैले पनि टिकट नपाएको भन्दै नेता जोशीले यस पटक तनहुँ क्षेत्र नम्बर १ बाट आफूले टिकट पाउनुपर्ने दाबी गरेका छन् ।

जोशीले आफूले प्रतिनिधिसभामा टिकट नपाए नेपाली काँग्रेसलाई हराइदिने धम्की दिँदै हिडेका छन् । कांग्रेसको केन्द्रीय नेतृत्वका लागि जोशी र पौडेलको द्वन्द्व मिलाउन नै महाभारत हुने देखिएको छ । जोशीले कांग्रेसका जिल्ला नेताहरुलाई नै साक्ष्ी राखेर पौडेल क्याम्पसलाई ध्वत पारिदिने चेतावनी दिएका थिए ।

कुन पार्टीबाट को–को आकांक्षी ?



कांग्रेसले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तनहुँ जिल्लाबाट १०७ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको जिल्ला सभापति बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वगृहमन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र सांसद रामचन्द्र पोख्रेललगायतको नाम सिफारिस गरेको छ ।

त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा सांसद धुव्र वाग्ले, केन्द्रीय सदस्य प्रदीप पौडेल, नेपाल तरुण दलका पूर्वमहामन्त्री पुष्पराज पराजुलीलगायतको नाम सिफारिस गरिएको छ ।

त्यस्तै नेकपा(एमाले) ले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि क्षेत्र नं १ मा कृष्णकुमार श्रेष्ठ किसानको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचन उम्मेदवारमा केदार सिग्देल र विष्णुभक्त सिग्देलको नाम सिफारिस गरी पठाइएको एमाले सचिव भगवती न्यौपानले जानकारी दिइन् ।

प्रतिनिधिसभाका लागि २ र प्रदेश सभाका लागि चार निर्वाचन क्षेत्र कायम गरिएको तनहुँमा निर्वाचन क्षेत्र नं १(क) मा विद्या ढकाल र रामबहादुर गुरुङ तथा १ (ख) का सदस्यमा प्रतापलाल श्रेष्ठ र बाबुराम अधिकारीको नाम एमालेबाट सिफारिस भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ (क) मा चित्र थापा, मुक्ति तिमिल्सेना र सीता घिमिरे तथा २(ख) मा किरण गुरुङ र होमबहादुर थापाको नाम एमालेले सिफारिस गरेको छ । किरण गुरुङलाई मुख्यमन्त्रीको दाबेदार ठानिएको छ ।

माओवादी केन्द्रले क्षेत्र नं १ बाट प्रतिनिधिसभामा श्रीराम ढकालको नाम सिफारिस गरेको छ भने, क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) बाट ओमकुमारी पौडेल, सीताराम अधिकारी र बलराम ढकालको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश १(ख)बाट हरिबहादुर चुमान, सूर्यबहादुर गौंली र भीमबहादुर रानाको नाम माओवादीले सिफारिस गरेको छ । क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सुरेश आलेमगर, अतिन्द्रकेशरी न्यौपाने लगायतको नाम माओवादीले सिफारिस गरेको छ । क्षेत्र नं २ को प्रदेश क्षेत्र (क) बाट राजेन्द्र केशरी न्यौपाने, आशा कोइराला र माधव विकको नाम सिफारिस गरिएको छ भने २(ख)बाट रामबहादुर थापा, अमृत सिग्देल र कृष्णलाल विकको नाम माओवादीले सिफारिस गरेको छ ।

कुन क्षेत्रमा कति मतदाता कति स्थानीय तह ?

तनहुँको निर्वाचन क्षेत्र नं १ मा देवघाट गाउँपालिका, आबुखैरहनी गाउँपालिका, बन्दीपर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाको वडा नं १,२,३,४, ७,८,९,१०,११,१२,१३, १४ नम्वर वडाहरु पर्दछन् ।

क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) मा व्यास नगरपालिकाको वडा नं २,३,४,७,८,९,१०,११ र भानु नगरपालिका पर्दछ भने प्रदेश क्षेत्र २ मा व्यास नपाको वडा नं १, १२, १३, १४, बन्दीपुर गाउँपािलका, आबुखैरहनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र ः १ मा १ लाख ५ हजार ५०१ मतदाता छन् ।

क्षेत्र नं २ मा शुक्लगण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, क्रषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाको वडा नं ५ र ६ पर्दछ ।

क्षेत्र नं २ को प्रदेश क्षेत्र (क) मा म्याग्दे गाउँपालिका, शुल्कगण्डकी नगरपालिका र व्यास नपाको ५ र ६ नम्वर वडा पर्दछन् । प्रदेश क्षेत्र (ख) मा भिमाद नगरपालिका, घिरिङ गापा, क्रषिङ गाउँपालिका पर्दछन् ।

क्षेत्र नं २ मा १ लाख ५ हजार ७५५ जना मतदाता छन् । तनहुँमा यसपटक १६ हजार ७ सय ८५ मतदाता थप भई २ लाख ११ हजार २ सय ५६ मतदाता पुगेका छन् । यसअघि १ लाख ९४ हजार ४ सय ७१ मतदाता थिए ।

थपिएका मतदातासहित जिल्लामा महिला मतदाताको संख्या १ लाख १२ हजार १ सय ३ र पुरुषको संख्या ९९ हजार १ सय ५३ रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख बाबुराम घिमिरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment