Comments Add Comment

नम्रताको कुकुर मोहः मिल्खासँगको अट्याचमेन्ट आमा र सन्तानको जस्तो

१ कात्तिक, काठमाडौं । चलचित्रवृत्तमा हल्ला छ, ‘नम्रता खाँट्टी डग लभर हुन् ।’ उनको एउटा कुकुर छ । नाम, मिल्खा । मिल्खा मात्र होइन, मिल्खा सापकोटा ।

अभिनेत्री नम्रता सापकोटाकी प्यारो सन्तान । मिल्खाप्रति उनको जुन अट्यामेन्ट छ, त्यो एउटा बच्चा र आमाबीचको जस्तै लाग्छ । मानौं, मिल्खा नम्रताको साख्खै सन्तान हुन् ।

नम्रता मिल्खासँगै खान्छिन्, खेल्छिन् । यतिसम्म कि उनीहरुको सुत्ने ओछ्यान पनि एउटै । ‘म बाथरुममा मिल्खालाई साथमै लैजान्छु,’ नम्रता भन्छिन्, ‘घरमा उसले मलाई कहीं छाड्दैन ।’

अरु कुकुरलाई नम्रताले माया गरेको, सुम्सुम्याएको मिख्खालाई रुचिकर लाग्दैन । उसले इष्र्या गर्छ । नम्रतालाई अपरिचित व्यक्तिसँग बसेको समेत मिख्खले सहँदैन । ऊ भुक्न थाल्छ । झम्टन थाल्छ ।

मिल्खा के गर्दैछौ ?

‘मिल्खा के गर्दैछौ ?’ नम्रता सोध्छिन् ।

मिल्खा बोल्दैन । नम्रताले कुनै जवाफको अपेक्षा गरेकी पनि होइनन् । घरबाहिर लामो समय बिताएको बेला उनलाई मिल्खाको यादले सताउँछ । चुलबुल गर्दै काखमा खेल्ने मिल्खासँग बोल्न मन लाग्छ । छिल्लिन मन लाग्छ । तर, मिल्खा बोल्दैन । ऊ जनावर न हो ।

नम्रता घरमा फोन गर्छिन् । ममीले मिल्खाको कानमै फोन पुर्‍याएपछि नम्रताले प्रेमपूर्वक मिल्खालाई बोलाउँछिन् । मिल्खा पुच्छर हल्लाउँदै यताउता गर्छ ।

‘त्यसबेला मिल्खाले अनौठो हाउभाउ गर्छन् रे,’ नम्रता भन्छिन्, ‘ममीले भन्नुभएको ।’

लामो समय बाहिर बसेर घर र्फकने दिन मिल्खाले कसरी संकेत पाउँछ, बिहानैदेखि बुरुक्क-बुरुक्क उफ्रिन थाल्छ । बेपत्ता रमाउँछ ।


नम्रताले नखाएसम्म मिल्खा भोकै

कहिलेकाहीं नम्रताको मुड खराब हुन्छ । त्यसबेला मिल्खा टुलुटुलु उनको अनुहार हेरिरहन्छ । ‘मेरो मुड उसलाई थाहा हुन्छ,’ नम्रता भन्छिन्, ‘म खुशी भएको बेला ऊ पनि खुशी, दुःखी भएको बेला ठुस्स पर्छ ।’

जब नम्रता रुन्छिन्, तनावमा हुन्छिन् । मिल्खा चुपचाप बस्छ । नम्रताले खाना नखाएसम्म उसले पनि मुख जुठो बनाउँदैन । ‘टेन्सन भएर मैले खाना खाएको छैन भने मिल्खाले खानै मान्दैन,’ नम्रता भन्छिन्, ‘मैले खाएपछि मात्र खान्छ ।’

कहिले नम्रता राति सुत्न अबेर हुन्छ । बिहान ८/९ बजेसम्म ओछ्यानमै पल्टिन्छन् । मिल्खाले पनि ओछ्यान छाड्दैन । कुकुर भनेर भो त ! मान्छेभन्दा बुझ्ने छ । समझदार छ ।

कुकुरको बर्थ डे सेलिब्रेसन

नम्रताका साथी सर्कल छन्, जसले मिल्खाजस्तै कुकुर पालेका छन् । बेलाबखत उनीहरु भेला हुन्छन्, आफ्ना कुकुरका साथ । कुकुरहरुलाई खेल्न छाडिदिन्छन् । सबै रमाउँछन् । उपि|mन्छन् । मस्त खेल्छन् ।

खासगरी, यस्तो जमघट कुकुरको बर्थ डेको बहानामा हुन्छ । नम्रताले कुकुरको जन्मदिन मनाइदिने गरेकी छन् । त्यसबेला साथीभाइका कुकुरलाई पनि भेला गर्छिन् । मनपर्ने खानेकुरा दिन्छन्, खेलाउँछिन् । ‘कुकुर पनि रमाइलो गर्छ,’ नम्रता भन्छिन्, ‘हामी साथीभाइ पनि ।’

कुकुरप्रतिको माया

कुकुर भनेपछि हुरुक्कै हुने नम्रता, सानैदेखि । उनी टोलभरिका कुकुर भेला पार्थिन् । घरमा ल्याएर खान दिन्थिन् । बिरालो पनि ल्याउँथिन् । एक पटक त आधा दर्जन बिरालो भेला भएछन्, उनको घरमा ।

बाल्यकालको बानी अहिले पनि सर्लक्क सरेको छ । साथीभाइले भनेजस्तै उनी ‘डग लभर’ हुन् । अहिले पनि कुकुर देख्नासाथ उनलाई सुम्सुम्याउन मन लाग्छ । स्नेहपूर्वक अँगालोमा बाँध्न मन लाग्छ ।

रेस्टुराँमा बाँकी रहेको खाना उनी प्याक गर्छिन्, कुकुरका लागि । घरमा बाँकी रहेको खाना पनि उनी कुकुरकै लागि बोक्छिन् । भोकभोकै अवस्थाका कुकुरलाई किनेर पनि खुवाउने गर्छिन् । भ्याएसम्म र सकेसम्म कुकुरको हेरचाह गर्छिन् । चाहे त्यो घरको होस् वा बाहिरको ।

आफ्नो खुशीका लागि कुकुर पाल्नेहरु

नम्रताले देखेकी छन्, राजधानीमा कैयौं छन् कुकुर पाल्नेहरु । बिहान कुकुर डोर्‍याउँदै मर्निङ वाक गर्नेहरुको संख्या पनि कम छैन । तर, उनीहरु डग लभर्स होइनन् । ‘कुकुरलाई खान र बस्न दिएपछि पुग्छ,’ अधिकांशको सोचाइ यस्तै छ ।

‘कुकुर पालेपछि त्यससँग तपाईंले समय बिताउनुपर्छ, खेल्नुपर्छ,’ नम्रता भन्छिन्, ‘आफ्नो खुशीका लागि मात्र कुकुर पाल्ने होइन, कुकुरको खुशीका लागि पनि हो ।’

कुकुरले मान्छेको सामिप्यता खोज्छ । आफूसँगै खेलेको रुचाउँछ । बोलेको रुचाउँछ । कुकुर बोल्दैन तर आफूसँग गफ गरोस् भन्ने सोच्छ । नम्रता भन्छिन्, ‘यदि तपाईंहरु कुकुरसँग समय खर्चन सक्नुहुन्न, बोल्न र खेल्न सक्नुहुन्न भने प्लिज कुकुर पाल्दै नपाल्नोस् । तपाईंको खुशीका लागि उसलाई आफ्नो जीवन बाँच्नबाट वञ्चित नगर्नोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment