Comments Add Comment

उज्यालो अभियानको साक्षीः स्युचाटारको मास्टर स्टेसन

भारप्रेषण केन्द्र र मास्टर स्टेसनका प्राविधिकहरुको व्यस्त दिनचर्या


१ कात्तिक, काठमाडौं । मंगलबार दिउँसो विद्युत् प्राधिकरणको स्युचाटारस्थित केन्द्रीय भारप्रेषण केन्द्रको ‘मास्टर स्टेसन’ पुग्दा इन्जिनियरहरु व्यस्त देखिन्थे । उनीहरु बिजुली उत्पादन, आयात र प्रसारण प्रणाली नियन्त्रणको प्राविधिक कामका कारण चापमा थिए ।

केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठ तिहारमा कसरी बिजुलीको माग र आपूर्तिको व्यवस्थापन गर्ने भन्ने विषयमा वरिष्ठ इन्जिनियर दीपक धितालसँग परामर्शमा व्यस्त थिए । मास्टर स्टेसनमा पनि सिफ्ट इन्चार्ज विनोद लोहनीलगायत इन्जिनियरहरु सिस्टमको व्यवस्थापनमा एकचित्त भएर लगेका थिए ।

निकै संवेदनशील भएर गर्नुपर्ने काम, सँगै बिजुलीको माग र आपूर्तिबीचको सामञ्जस्यता मिलाउने जिम्मेवारी पनि । हो, देशभरि चुस्त रुपमा उपभोक्तालाई बिजुली उपलब्ध गराउने दायित्व प्रमुख रुपमा यिनै प्राविधिकहरुको काँधमा छ ।

प्राधिकरणअन्तर्गत्का सबै प्रणालीमा गर्नुपर्ने कन्ट्रोलको जिम्मेवारीले इन्जिनियरहरु तनाव र दबाबमा देखिन्थे ।

मास्टर स्टेसनका इन्जिनियरहरुलाई अहिले बिजुलीको माग र आपूर्तिको व्यवस्थापनमा प्राधिकरणको योजनाअनुरुप काम गर्न एक किसिमको दबाब रहेको भारप्रेषण केन्द्रका वरिष्ठ इन्जिनियर धिताल बताउँछन् । उनीहरुलाई प्रणालीमा विभिन्न समस्या आउँदा झनै तनाव थपिन्छ ।

परम्परागत प्रणालीबाट माथि उठेर विश्वस्तरीय प्रविधि अँगाल्न नसक्दा प्रााधिकरणका लागि बिजुलीको व्यवस्थापन चुनौतिपूर्ण बनेको छ ।

तर, आएका समस्यालाई व्यवस्थापन गर्न इन्जिनियरहरु सकेसम्म आफैं प्रयास गर्छन् । वर्षदिनयता उनीहरुले धेरै नयाँ कुरा सिकेका छन् ।

त्यो सीप र अनुभवलाई अधिकतम प्रयेाग गर्दा पनि समस्या नसल्टिए उनीहरु प्राधिकरणको नेतृत्व तहमा खबर गर्छन् ।

‘यो स्टेसन एक मिनट पनि प्राविधिकविहीन हुँदैन । तीन सिफ्टमा काम हुन्छ,’ केन्द्रका प्रमुख श्रेष्ठले भने, ‘हामीसँग प्राधिकरणका विभागहरुमध्ये सबैभन्दा धेरै इन्जिनियर छन् । त्यसमा पनि अब्बल ठहरिएकाहरु नै यहाँ आउनुहुन्छ ।’

तर एकवर्ष अघि …

वर्षदिनअघि उनीहरु यति दबाबमा हुँदैनथे । गत वर्ष तिहार अघिसम्म लोडसेडिङको घोषित तालिका आउँथ्यो । व्यवस्थापनमा ठूलो मिहिनेत गर्नु नपर्दा उनीहरु ढुक्कजस्तै थियो । लोडसेडिङको समय नहुँदै माग ह्वात्तै बढ्यो भने पनि उनीहरु ढुक्कले बिजुली काटिदिन्थे ।


कात्तिक ०७३ सम्म लोडसेडिङ तालिकाअनुसार पुगेको बिजुली मात्रै वितरण हुन्थ्यो । इन्जिनियरहरु मास्टर स्टेसनबाट तालिकाअनुसार नै प्रणालीको व्यवस्थापन गर्थे । त्यसैले अहिले जति तनाव र दबाब उनीहरुले झेल्नै पर्दैनथ्यो ।

आमनागरिकलाई पनि लोडसेडिङ हुनु नौलो थिएन । दैनिक १८ घण्टाबाट नाघिसकेको लोडसेडिङ २४सै घण्टानजिक नै पुगे पनि उपभोक्तासामू स्वीकार्नुको विकल्प थिएन । प्राविधिकहरुलाई पनि भार व्यवस्थापनमा प्राधिकरण नेतृत्वको तीव्र दबाब थिएन ।

अझै १० वर्ष लोडसेडिङ बाँकी रहने ऊर्जाविदको अनुमान पनि आइरहेकै थियो । प्राधिकरणको नेतृत्व पनि लोडसेडिङ तत्काल नहट्ने सार्वजनिक उद्घोष गरेर हिँडेको थियो ।

ऊर्जा मन्त्रालय पनि कागजकै योजनामा रमाइरहँदा उपलब्ध बिजुलीको व्यवस्थापनमा प्राधिकरण चुकेको थियो । व्यापारी र उद्योगपतिलाई साँठगाँठमा बिजुली दिएर आमनागरिकमाथि लोडसेडिङ थोपरिएको थियो ।

त्यसैले पनि मास्टर स्टेसनका मात्रै होइन, प्राधिकरणका कुनै पनि विभागले गम्भीरतासाथ कार्यसम्पादन गरिरहेका थिएनन् । स्टेसनका कर्मचारीलाई पुगेसम्म मात्रै बिजुली वितरण गर्दा हुन्थ्यो । आपूर्ति व्यवस्थापनमा उनीहरुले खासै ‘वर्कआउट’ र ‘प्लान’ गर्नु पर्दैनथ्यो ।

तर, अहिले अवस्था उल्टिएको छ । उनीहरु अहिले प्राधिकरणको सबैभन्दा जिम्मेवार प्राविधिक बनेका छन्, जसले अँध्यारो हटाउने अभियानमा ठूलो भूमिका निर्वाह गरिरहेका छन् । लोडसेडिङ हटाउने अभियानका पर्दा पछाडिका पात्र हुन्, उनीहरु ।

कुलमानको ‘उज्यालो संकल्प’का साक्षी

स्टेसनका सिफ्ट इन्चार्ज लोहनीका अनुसार गत वर्षको लक्ष्मीपूजाका दिनदेखि उनीहरुको व्यवस्ता र जिम्मेवारी एकाएक बढ्यो ।


कुलमान घिसिङले लक्ष्मीपूजाकै दिन यही मास्टर स्टेसनमा बसेर काठमाडौंलाई लोडसेडिङमुक्त गर्ने निर्णय गरेका थिए । स्टेसनका इन्जिनियरहरु नै उनको लोडसेडिङ हटाउने संकल्पको साक्षी थिए ।

त्यसपछि घिसिङको सूत्रअनुसार उनीहरुले डिमान्ड र सप्लाइ साइट म्यानेज गरे । आज उनीहरु देशमा लोडसेडिङ हटाउने अभियानको एउटा हिस्सा बन्न पाएकामा गर्व गर्छन् ।

‘जनताको घरमा उज्यालो दिइरहने अभियान र काममा भूमिका निभाउन पाएकामा हामीलाई खुशी लाग्छ,’ लोहनी भन्छन्, ‘हाम्रो नेतृत्वले लिएको संकल्पमा साथ दिने गरी काम गर्न पाउनु गर्वको कुरा हो ।’

आफू गाउँघरमा जाँदा पनि लोडसेडिङ कसरी हट्यो भन्ने प्रश्न सोधिने गरेको बताउँछन् । लोहनीले मास्टर स्टेसनमा काम गरेको ६ वर्ष बित्यो । लोहनीसँगै सिफ्ट इन्चार्जका रुपमा नरेन्द्रवीर श्रेष्ठ, राजेश रेग्मी, सुशील पौडेल र सीपी घिमिरे कार्यरत छन् ।

पछिल्लो एक वर्षमा आफूहरुले गरेको मिहिनेत र काम गराईलाई महत्वपूर्ण सिकाइका रुपमा मान्छन्, उनीहरु ।

‘विद्युत् व्यवस्थापनका विषयमा एक वर्षमा हामीले प्रत्यक्ष रुपमा विभिन्न ज्ञान हासिल गर्‍यौं,’ लोहनी भन्छन्, ‘सबै साथीहरु उच्च मनोबल र हौसलाका साथ काम गरिरहनुभएको छ ।’

संवेदनशील जिम्मेवारी

भारप्रेषण केन्द्र विद्युत प्राधिकरणको मुख्य कन्ट्रोल युनिट हो । यो युनिटमा २२ जना इन्जिनियर खटिएका छन् । केन्द्रको नेतृत्वकर्ता श्रेष्ठ प्रायः राति आठ बजेसम्मै कार्यालयमा बसेर माग र आपूर्तिको सन्तुलनका लागि व्यवस्थापकीय नेतृत्व गर्छन् । समस्या आएका समयमा प्रबन्ध निर्देशक घिसिङ आफैं पनि यहाँ आइपुग्छन् ।


धेरै बिजुली माग हुने चाडपर्वका महत्वपूर्ण दिनमा घिसिङ मास्टर स्टेसनमा बसेर कन्ट्रोलका लागि आइडिया सेयर गर्छन् ।

यो स्टेसनमा अनलाइनमा आधारित कन्ट्रोल सिस्टम छ, जसमा कहाँ, कुन आयोजनाले कति उत्पादन गरिरहेका छन् भन्ने जानकारी आउँछ ।

निजी आयोजना र प्राधिकरणअन्तर्गतका आयोजनाको उत्पादन अवस्थाबारे ताजा सूचना यही प्रणालीमा निरन्तर आइरहेको हुन्छ । आयोजनाका कुन-कुन जेनेरेटर चलेका छन् या छैनन् भन्नेसम्मका जानकारी यहाँ आउँछ ।

सँगै कुन आयोजनाबाट उत्पादित बिजुली कुन प्रसारणलाइनमार्फत् कता पठाइएको छ भन्ने जानकारी पनि यही प्रणालीबाट देखिन्छ ।

यस्तै, कुन अन्तरदेशीय प्रसारण लाइनबाट कति बिजुली आयात भइरहेको छ भन्ने पनि यहाँका प्राविधिकले हेर्न पाउँछन् । कुन सबस्टेसनमार्फत् कति बिजुली माग र आपूर्ति भइरहेको छ भन्ने पनि यही प्रणालीमा हेर्न सकिन्छ ।

यो जानकारी राख्ने मात्रै होइन, मागको अवस्था हेरेर त्यसलाई प्राविधिक रुपले कन्ट्रोल गर्ने ठाउँ पनि हो । अर्थात्, मागअनुसार कुन आयोजना चलाउने/नचलाउने, कुन नाकाबाट बिजुलीको आयात गर्ने/नगर्ने तथा कति परिमाणमा गर्ने भन्नेलगायत निर्णय यही मास्टर स्टेसनका प्राविधिकले गर्छन् ।

माग र आपूर्तिलाई सन्तुलनमा राख्न उनीहरुले नै आवश्यक प्राविधिक निर्णयहरु गर्नुपर्छ । कुनै भागमा माग बढेका बेला कुन भागको आपूर्ति कटाउने र मागभन्दा आपूर्ति धेरै भए कहाँबाट घटाउने भन्नेसम्मका निर्णय यहीँबाट गरिन्छ ।

त्यसैले कन्ट्रोलमा बसेका बेला प्राविधिकलाई अतिरिक्त कुरामा ध्यान दिने र अलमलिने छुट छैन । संवेदनशील मानिने विद्युत् प्रणालीको व्यवस्थापनमा उनीहरुले सबस्टेसन र जलविद्युत् आयोजनासँग निरन्तर संवाद गरिरहनुपर्छ ।


‘हामीले लोडसेडिङ नगर्ने घोषणा कार्यान्वयन गर्नेगरी काम गर्नुपर्छ । महत्वपूर्ण जिम्मेवारी हामीले लिएका छौं,’ वरिष्ठ इन्जिनियर धिताल भन्छन्, ‘यहाँ चौबीसै घण्टा ध्यानपूर्वक काम गर्नुपर्छ । यसैका आधारमा देश उज्यालो र समृद्ध हुन्छ ।’

तिहारमा कतै लोडसेडिङ नगर्ने योजना

भारप्रेषण केन्द्रमा आजभोलि कामको चाप अझै बढेको छ । बिजुलीको उच्च माग हुने चाड तिहार सुरु भइसक्यो । घर-घरमा झिलीमिली बत्ती बाल्न सुरु भइसक्यो । रातभर पनि बत्ती ननिभाइने भएकाले यो समयमा बिजुलीको मागअनुसार आपूर्ति धान्न ठूलो चुनौति छ ।

त्यसैलाई चिर्न केन्द्रका प्रमुख श्रेष्ठ अहिले तथ्यांकको विश्लेषण गर्दै योजना बनाउन जुटेका छन् । तिहारमा लक्ष्मीपूजाको साँझ वर्षकै सबैभन्दा बढी बिजुलीको माग हुन्छ । त्यस दिन कतै पनि लोडसेडिङ गर्न नपरोस् भन्ने हेतुले केन्द्र अहिले योजना बनाइरहेको छ ।

‘यस पटक लक्ष्मीपूजामा औद्योगिक क्षेत्रबाहेक कतै पनि लोडसेडिङ नगर्ने योजना बनाएका छौं । तर, ३० मेगावाट जति बिजुली अपुग हुनसक्छ,’ श्रेष्ठ भन्छन्, ‘३० मेगावाटको लोडसेडिङ हामी अधिकतम विद्युत् चोरी हुने क्षेत्रमा गर्छौं ।’

यस वर्ष लक्ष्मीपूजाको साँझ १५ सय ५० मेगावाट बिजुली माग हुने अनुमान छ । गत वर्ष यही दिनमा १४ सय ४४ मेगावाट बिजुलीको माग थियो ।

यस वर्ष लक्ष्मीपूजामा नेपालमा उत्पादन हुनेबाहेक भारतबाट चार सय मेगावाट बिजुली ल्याउने योजना छ । गत वर्षभन्दा तिहार चाँडै परेकाले यस वर्ष आयोजनाहरुबाट पनि बढी परिमाणमा बिजुली उत्पादन भइरहेको छ ।

‘प्राविधिक रुपमा स्थानीयस्तरमा कुनै समस्या आएर बिजुली काटिन सक्ला । तर, हामी लक्ष्मीपूजाको साँझ लोड व्यवस्थापन गर्न नसकेर लाइन काट्ने अवस्था आउन दिँदैनौं,’ केन्द्रका प्रमुख श्रेष्ठ भन्छन्, ‘तिहारमा देशलाई उज्यालो बनाउन हामी कसरत गरिरहेका र्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment