Comments Add Comment

को बन्ला चीनको नयाँ राष्ट्रपति ? कसरी छानिन्छन् नेताहरु ?

१ कात्तिक, काठमाडौं । हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनप्रति विश्वको नजर तानिन्छ । किनकि यसै महाधिवेशनले कम्युनिष्ट पार्टीको नेतृत्व तय गर्छ, जसका हातमा कम्युनिष्ट पार्टीको कमाण्ड रहन्छ र उसले एक अर्ब चिनियाँ नागरिकमाथि शासन गर्दछ ।

यसका साथै त्यही व्यक्तिले दुनियाँको दोस्रो ठूलो अर्थव्यवस्था सञ्चालन गर्दछ ।

चीनमा कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन बुधबारबाट शुरु भएको छ । यसै महाधिवेशनमा कम्युनिष्ट पार्टीको नेतृत्व परिवर्तन हुने अपेक्षा गरिन्छ । हाल सी जिनपिङ चिनियाँ राष्ट्रपति छन् र उनी फेरि दोहोरिएलान् या अर्को कुनै व्यक्ति आउला ? चासो व्याप्त छ ।

राष्ट्रिय महाधिवेशनले के गर्दछ ?

मध्य अक्टुबरमा कम्युनिष्ट पार्टी अफ चाइना सीपीसीले देशभरबाट प्रतिनिधि चयन गर्छ । त्यसपछि राजधानी बेइजिङस्थित ग्रेटहलमा बैठक बस्छ ।

पार्टीका दुई हजार तीन सय प्रतिनिधि छन् । यद्यपि २ हजार २८७ प्रतिनिधि बैठकमा सहभागी हुन्छन् । किनकि १३ प्रतिनिधिहरुलाई अयोग्य ठहर गरिएको छ ।

बन्दसत्र भित्र हुने बैठकबाट सीपीसीको शक्तिशाली केन्द्रीय कमिटीको चुनाव गरिन्छ । केन्द्रीय कमिटीमा करिब २०० सदस्य हुन्छन् । यहि कमिटीले पोलिटव्यूरो चयन गर्दछ । र, पोलिटव्यूरोमार्फत् स्थायी कमिटी चुनिन्छ । पोलिटव्यूरो र स्थायी यी दुबै कमिटीहरु नै चीनमा निर्णय लिने असली निकाय हुन् । हाल पोलिटव्यूरोमा २४ र स्थायी कमिटीमा सात सदस्य छन् । यो संख्या हरेक राष्ट्रिय महाधिवेशनमा परिवर्तन हुँदै आएको छ ।

नेतृत्व चयनका लागि मतदान त हुन्छ, तर खासमा नयाँ नेतृत्व पहिले नै तय भइसकेको हुन्छ । त्यसैले निर्वाचन कमिटीले केबल औपचारिकता मात्र पूरा गर्दछ ।

केन्द्रीय कमिटी पार्टीका शीर्षनेताको पनि चुनाव गराउँछ, जसलाई कम्युनिष्ट पार्टीको महासचिव भनिन्छ । जो सीपीसीको महासचिव हुन्छ त्यही नै देशको राष्ट्रपति बन्छ । यसपटक शी जिनपिङ नै पुनः राष्ट्रपति दाहोरिने चर्चा छ । सन् २०१२ मा राष्ट्रपति बनेका शी जिनपिङ हाल निकै लोकप्रिय छन् । भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्दै आएका उनलाई ‘कोर लिडर अफ चाइना’ भनेर सम्वोधन पनि गरिन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको यस पटकको महाधिवेशनमा मुख्य ध्यान दुई कुरामा छ । पहिलो शी जिनपिङले आगामी पाँच वर्षका लागि चिनियाँ नीतिको विस्तृत रिपोर्ट पेश गर्नेछन् । र, दोस्रो पोलिटव्यूरो र स्थायी कमिटीमा पूरै फेरबदल हुने अनुमान छ । किनकि यसपटक नेताहरुमा उमेरको हदबन्दी लगाइएको छ ।

त्यसैले धेरैजसो पोलिटव्यूरो नेताहरु अवकाश पाउनेछन् किनकि उनीहरुको उमेर ६८ वर्ष पुगिसकेको छ । यसमा भ्रष्टाचार विरोधी एजेन्सीका प्रमुख वाङ्ग किशान पनि छन् । वाङ्ग किशान शी जिनपिङका प्रमुख सहयोगी भएकाले उनलाई भने कायमै राख्ने चर्चा पनि छ । राष्ट्रपति शी र प्रधानमन्त्री ली खछ्याङको उमेर ६५ वर्ष आसपास छ ।

कम्युनिष्ट पार्टीको महाधिवेशनले चीनको भविष्यका नयाँ नेताहरुलाई अघि सार्दछ । यसपटकको महाधिवेशनले पोलिटव्यूरोमा कोको नेतालाई ल्याउँछ त्यसको खुलासा आउँदो साता महाधिवेशनको समापनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment