Comments Add Comment

आँखाको नानीमा लेन्स लगाउने ‘ट्रेन्ड’

काठमाडौं । आजकल बजारमा आँखालाई राम्रो देखाउने होडबाजी नै चलेको छ । त्यसमा पनि कन्ट्याक्ट लेन्सको प्रयोगद्वारा आँखाबाट चश्मा हटाउनेदेखि रंग परिवर्तनद्वारा आँखालाई आकर्षक बनाउनसमेत आई लेन्सको प्रयोग गरिन्छ ।

नेपालका ठूला सुपरमार्केट तथा कस्मेटिक पसलमा यस्ता लेन्स विभिन्न रंग र स्वरुपमा किन्न पाइन्छ । पाँच सयदेखि दशौं हजार रुपैयाँका यस्ता लेन्स अहिले हजारौंको संख्यामा बिक्री हुन्छन् ।

यद्यपि, यस्ता लेन्सको उचित प्रयोगबारे जानकारी नहुँदा अस्पतालमा विरामीको भीड लाग्ने गरेको तिलगंगा आँखा केन्द्र, कोर्निया तथा कन्ट्याक्ट लेन्स युनिटका दृष्टी विशेषज्ञ डा. आशिक प्रधान बताउँछन् ।

उनी भन्छन्, ‘यहाँ कस्टेमिकका लागि नै भनेर आउने त खासै छैन । तर, जथाभावी लेन्सको प्रयोगद्वारा आँखामा समस्या उत्पन्न भएर आउनेको संख्या उल्लेख्य छ ।’ त्यसमा पनि लेन्सद्वारा आँखामा उत्पन्न समस्या लिएर आउनेको संख्या उल्लेख्य भएको उनी बताउँछन् ।

के हो कन्ट्याक्ट लेन्स ? किन लगाइन्छ ?

डा. प्रधानका अनुसार कन्ट्याक्ट लेन्स एक प्रकारको पारदर्शी परक हो, जुन आँखाको नानीमाथि लगाइन्छ ।

विशेषतः कन्ट्याक्ट लेन्सको प्रयोग आँखाको नानी बांगो भएमा, नानी च्यातिएपछि पुनः मर्मत भएमा, आँखामा फुलो परेमा र दाग देखिएमा चिकित्सकहरु चश्माको साटो लेन्स प्रयोग गर्न सुझाव दिने गर्छन् ।

यस्तै, आँखाको नानीमा लागेको घाउमा पट्टी तथा औषधि राख्ने माध्यमको रुपमा पनि प्रयोग गरिन्छ ।

त्यसबाहेक, दृष्टी दोष भएमा सुधार ल्याउन पनि चिकित्सकहरु चश्माको साटो लेन्सको प्रयोग गर्न सुझाव दिने गर्छन् ।

यस्ता लेन्स सामान्यतया दुई प्रकारका हुन्छन्, नरम र कडा । पहिरिन सजिलो र नबिझाउने यस्ता लेन्स प्लास्टिकबाट निर्मित हुन्छन् ।

यसले आँखाको नानीको बनावटलाई आकर्षक बनाउनुका साथै दृष्टी सुधार गर्न मद्दत गर्छ । साधारणतया यस्ता लेन्स अक्सिजन छिर्ने किसिमका हुन्छन्, जसले नानीमा अक्सिजन प्रवाह गरी आँखालाई स्वस्थ राख्न मद्दत गर्छ ।

यस्तै, आँखा बांगो भए या आँखामा खत देखिएमा चिकित्सकहरु कडा प्रकारको लेन्स लगाउन सुझाव दिने गर्छन् ।
नानी अण्डाकार भएमा र आँखाको आकारमा परिवर्तन आएमा पनि कडा किसिमको लेन्स प्रयोग गरिन्छ ।

यस्ता लेन्स प्रयोग गर्दा विशेष सावधानी अपाउन जरुरी छ । प्लास्टिकबाट निर्मित यस्ता लेन्सले आँखाको नानीलाई ढाक्ने गर्छन् ।

यस्तै, आँखामा साधारण र डिस्पोज गर्न मिल्ने खालको नरम लेन्सको पनि प्रयोग गरिन्छ ।

त्यसमध्ये लेन्सको अवस्था हेरी महिनैपिच्छे बदल्न जरुरी छ । जबकि, डिस्पोजेबल लेन्स निश्चित समयसम्म प्रयोग गर्न सकिन्छ ।


नेपालमा लेन्सको ट्रेन्ड

यस्ता लेन्स सही तरीकाले प्रयोग नगर्दा आँखाको नानीमा घाउ, आँखाको संक्रमण तथा आँखामा विभिन्न समस्या आउने गर्छन् । यसबाट बच्न यस्ता लेन्सको प्रयोगअघि चिकित्सकसित अनिवार्य जानकारी लिन आवश्यक छ ।

नेपालमा पछिल्लो समयमा यस्ता लेन्स फेसनका रुपमा प्रयोगमा रहेको पाइन्छ । यस्ता लेन्स कस्मेटिकअन्तर्गत् पर्छन् । विशेषगरी आँखाको स्वरुप परिवर्तन गर्न, आँखाको नानीलाई नीलो र हरियो बनाउन यस्ता लेन्सको प्रयोग हुने गर्छ । यस्ता लेन्स निर्माण गर्दा मेटि्रक्समा रंग प्रयोग हुन्छ ।

त्यसका कारण नियमित मात्रामा नानीलाई चाहिने अक्सिजनको मात्रा अरु पारदर्शी लेन्सको तुलनामा कम हुन जान्छ ।

लेन्स लगाउँदा अपनाउनुपर्ने सावधानी

लेन्स लगाउँदा निश्चित कुराबारे जानकारी नहुँदा समस्या हुने भएकाले त्यसअघि निश्चित कुरामा सावधानी अपनाउन जरुरी छ । यस्तै, लेन्स कस्तो प्रकारको हो, केबाट बनेको हो, कडा वा नरम हो, कति समयसम्म लगाउन मिल्ने हो, त्यसबारे जानकारी हुन आवश्यक छ ।

यस्तै, लेन्सको सही स्याहार, हेरचाह र सुरक्षाबारे पनि ध्यान दिन आवश्यक छ ।

चिकित्सकको टिप्स

हरेक पटक लेन्सको प्रयोग गर्दा आँखाअनुसार गर्नुपर्छ । यस्तै, लेन्स लगाउनुअघि आँखाको जाँच गर्नु अनिवार्य छ । अन्यथा, गलत लेन्सको प्रयोगबाट आँखामा अक्सिजनको मात्रा कम हुन पुगी समस्या उत्पन्न हुन्छ ।

यस्तै, कुनै पनि लेन्स चिकित्सकले तोकेअनुसार मात्रै लगाउनुपर्छ । तोकेभन्दा बढी समय लेन्स लगाउनाले पनि आँखामा समस्या हुनसक्छ । राति सुत्दा आँखामा लेन्स प्रयोग गर्नाले घाउ र किटाणुको संक्रमण हुनसक्छ ।

त्यसैले सकेसम्म नुहाउँदा यस्ता लेन्स प्रयोग गर्नुहुँदैन । स्विमिङ गर्दा लेन्स प्रयोग गर्नेहरुले अनिवार्य रुपमा स्विमिङ गगल्सको प्रयोग गर्नुपर्छ ।

आँखाको फोहोर तथा आँशुमा हुने प्रोटिन र लिपिडजस्ता फोहोर यस्ता लेन्समा टाँसिन सक्ने भएकाले यसलाई समय-समयमा परिवर्तन गर्नु जरुरी छ ।

कतिपय लेन्स साता र महिनामा परिवर्तन गर्नुपर्ने पनि हुनसक्छ । यसलाई मनन गर्न जरुरी छ ।

धेरै अक्सिजन प्रवाह गर्ने लेन्स थोरै समय टिक्ने भएकाले यसबारे समेत जानकारी हासिल गर्नु अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment