Comments Add Comment

‘कोहलपुर एक्सप्रेस’बाट केकी निर्मात्री, प्रियंका र ऋचा पनि पर्दामा


अब, नेपाली चलचित्र क्षेत्रमा नायिका मात्र फेला पार्न गाह्रो छ । अधिकांश नायिकाहरु निर्मात्री बन्ने बाटोमा लागिसकेका छन् । नायिका मात्र बन्दा छोटो समयमै हराउनुपर्ने भएकाले पनि धेरै नायिकाले प्रोडक्शन हाउस खोलेर चलचित्र बनाइरहेका हुन् । निर्मात्री बनेका केही नायिका सफल छन् भने धेरै असफल ।

झरना थापा, रेखा थापा, ऋचा घिमिरे, स्वेता खड्का हुँदै नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, निशा अधिकारी, ऋचा शर्मा लगायतका नायिका निर्मात्री बनिसकेका छन् । अब, यही भिडमा दौडने सुरमा छिन् नायिका केकी अधिकारी ।

हुनत, नायक-नायिकाले चलचित्र निर्माण गर्नु राम्रो कुरा हो । किनकी, अरुको चलचित्रमा अभिनय मात्र गर्दा निकै दुःख दिने गरेका धेरै नायक-नायिकाले आफूले लगानी गरेपछि बल्ल निर्माताको पीडा वुझ्ने गरेका छन् । केही समय अगाडि एक कार्यक्रममा नायक रमेश उप्रेतीले आफूले दुःख दिएका निर्माताहरुसँग माफी मागेको घटना यसकै एक उदाहरण हो । केकी पनि चलचित्रको प्रचारमा निर्मातालाई हैरान बनाउने नायिकाको भीडमा पर्छिन् ।

केकीले कात्तिक १२ गतेबाट छायांकन सुरु गर्न लागेको चलचित्रको नाम, ‘कोहलपुर एक्सप्रेस’ राखिएको छ । चलचित्रमा ऋचा शर्मा र प्रियंका कार्कीले केकीसँगै अभिनय गर्नेछन् । चलचित्रलाई म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्दैछन् । बाँकेमा चलचित्रको छायांकन हुनेछ ।

चलचित्रमा राजनराज सिवाकोटी, कालिप्रसाद बाँस्कोटा, अर्जुन पोखरेलको संगीत, अर्जुन तिवारीको छायांकन रहने पक्का भैसकेको छ । आशा गरौ, ‘कोहलपुर एक्सप्रेस’को गतीमा कुँदेपछि केकीले पनि चलचित्र बनाउँदा, रिलिज गर्दा र कलाकारले साथ नदिदा निर्माताले भोग्नुपर्ने पीडा अवश्य वुझ्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment