Comments Add Comment

आज देशभर बिजुली नकाटिने, कुलमान बन्नेछन् ‘इन्जिनियर’

भारप्रेषण केन्द्रमा कुलमान आफैंले काम गर्ने

२ कात्तिक, काठमाडौं । आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने काम हुँदैछ । विद्युत् प्राधिकरण भने वर्षमै सबैभन्दा बढी बिजुलीको माग हुने भएकाले आज कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न विभिन्न कामको चटारोमा व्यस्त छ ।

मध्यान्ह भक्तपुर सबस्टेशनमा समस्या अाएको खबर पाएपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आफैं त्यहाँ पुगेर मर्मतको काम गराइरहेका छन् ।

आजका लागि प्राधिकरणको एउटै लक्ष्य छ- बिजुली जोडिएका कुनैपनि घरमा बत्ती ननिभाउने ।

त्यसैअनुसार प्राधिकरणले आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको छ । अपरान्हसम्म सबै व्यवस्थापकीय काम सकेर प्राधिकरण बेलुकीको प्रतिक्षामा रहनेछ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हालसालै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत गरिएको छ ।

कुनै स्थानमा समस्या आउने बित्तिकै आधा घन्टाभित्रै सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको ‘प्रोम्प्ट सप्लाई रेसपोन्स टिम’ (पीएसआरटी) पनि तयारी अवस्थामा छ । यो टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा ३ सय ५० देखि ३ सय ६० मेगावाटसम्म बिजुलीको माग हुने प्राधिकरणको पूर्वानुमान छ । समस्या नआओस् भनेर प्राधिकरणले यस क्षेत्रका सबै सबस्टेसनको मर्मत पनि गरिसकेको छ ।

काठमाडौ केन्द्रका स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिएको छ ।

सबस्टेशनको भार सारियो

क्षमताभन्दा बढी माग हुनसक्ने भन्दै प्राधिकरणले आज विभिन्न सबस्टेसनको भार अन्तै सारेको छ । बढी विद्युत् माग हुने क्षेत्रका सबस्टेसनबाट कम विद्युत माग हुने क्षेत्रका सबस्टेसनमा लोड सारिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

उनकाअनुसार बानेश्वर सबस्टेसनमा उच्च विद्युत् माग हुनसक्ने भन्दै यसको ४ मेगावाट बराबरको लोड सिंहदरवारको सबस्टेशनमा सारेको छ । बानेश्वर सबस्टेसनको क्षमता ३६ मेगावाट छ ।

त्यस्तै बालाजु सबस्टेसनको भार पनि अन्य फिडरमा सारिएको छ । सबस्टेसनदेखि ट्रान्सर्फमरसम्म लगिएको विद्युतको लाइनलाई फिडर भनेर बुझिन्छ ।

उच्च माग हुने क्षेत्रका सबस्टेसनको भार फिडरहरुमा सार्दा बिजुलीको माग र आपूर्तिको सन्तुलन मिलाउन सहज हुने अधिकारीले बताए ।

इन्जिनियरको भूमिकामा कुलमान

गत वर्ष स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर उपत्यका लोडसेडिङ नगर्ने परीक्षण गरेका प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ आज पनि मास्टर स्टेशन पुग्नेछन् ।


विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको पदमा बसेर काम गर्दै आएका कुलमान आज भने साँझमा भारप्रेषण केन्द्रको इन्जिनियरको भूमिका निभाउनेछन् ।

उनीसँगै प्राधिकरणका उच्च अधिकारीहरु पनि भारप्रेषण केन्द्रमा पुग्नेछन् । विद्युत ब्यापार विभागका प्रमुख रहेका प्रवक्ता अधिकारी भारतबाट आयात हुने विद्युतको लागि भारतका ऊर्जासम्बद्ध विभिन्न कार्यालयसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

कहाँ-कहाँबाट आउँदैछ काठमाडौंमा विद्युत् ?

काठमाडौंमा ८ वटा प्रसारणलाइनबाट विद्युत् भित्रिने गरेको छ । मर्स्याङ्दी करिडोरबाट १ सय १२ मेगावाट, त्रिशुली-बालाजु करिडोरबाट ३८ मेगावाट, देवीघाट-चपली प्रसारण लाइनबाट १५ मेगावाट, कुलेखानी १- स्युचाटार प्रसारण लाइनबाट ६० र कुलेखानी २-मातातीर्थबाट ३० मेगावाट आयात हुन्छ ।

साथै सुनकोसी-पाँचखाल प्रसारणलाइनबाट १० मेगावाट आयात हुन्छ । यसरी आज काठमाडौंमा ३ सय ६६ मेगावाट विद्युत आयात हुँदैछ ।

यसरी धानिनेछ माग

देशभर आज कुल १५ सय ५० मेगावाट विजुलीको माग हुने अनुमान छ । लक्ष्मीपूजा भएकाले ३ सय मेगावाटको हाराहारीमा विद्युत् खपत गर्ने उद्योगहरु भने आज बन्द हुन्छन् ।

अहिले प्राधिकरणका आयोजनाहरुबाट ४ सय ४२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै निजी आयोजनाबाट ३ सय ६० मेगावाट उत्पादन हुँदैछ । आज भारतबाट ४ सय ५० मेगावाट विद्युत् आयात गर्ने प्राधिकरणको तयारी छ ।

एक वर्षपछि हेटौंडा डिजल प्लान्ट चल्दै

प्राधिकरणले आज बेलुका देशभर लाइन नकाट्न बन्द रहेको डिजेल प्लान्ट पनि चलाउँदैछ ।
धेरै खर्चिलो भएका कारण सञ्चालनमा नरहेको हेटौंडाको डिजल प्लान्टबाट १० मेगावाट विद्युत उत्पादन गरिनेछ ।

१४ मेगावाट क्षमताको यो प्लान्टबाट आज १० मेगावाट मात्रै बिजुली उत्पादन गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अघिल्लो वर्षको लक्ष्मीपूजामा पनि चलाएका थियौं । यो डिजल प्लान्ट आज फेरि चलाइँदैछ । परीक्षण गरिसक्यौं ।’

 

होटल र मललाई विशेष आग्रह

प्राधिकरणले आज विभिन्न ठूला होटल, मल तथा व्यापारिक प्रतिष्ठानहरुलाई जेनेरेटर चलाउन आग्रह गरेको छ ।

सर्वसाधारणको घरमा विद्युतको माग बढी हुने हुँदा आज एक दिनका लागि जेनेरेटर चलाएर सहयोग गरिदिन प्राधिकरणले आग्रह गरेको हो ।

एक सूचना जारी गर्दै प्राधिकरणले सर्वसाधारणहरुलाई पनि बेलुकी बत्ती मात्रै बाल्न र अन्य मोटर तथा आइरन, हिटर लगायत विजुली उच्च खपत गर्ने उपकरण नचलाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment