Comments Add Comment

प्रदेश ६ को मुख्यमन्त्रीमा कांग्रेसबाट जीवनबहादुर शाही सर्वसम्मत

२ कात्तिक, काठमाडौं । प्रदेश ६ को मुख्यमन्त्रीमा कांग्रेसबाट जीवनबहादुर शाही सर्वसम्मत उम्मेदवार बनेका छन् ।

पूर्वपर्यटनमन्त्री शाहीलाई कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार बनाएको हो ।

प्रदेश ६ बाट प्रदेशसभा सदस्यमा नाम सिफारिस भएका नेताहरुमध्ये शाही नै वरिष्ठ हुन् । सोही कारण उनको नाममा सर्वसम्मति जुटेको हो ।

उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेतामध्ये पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र पूर्वगरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानी प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् ।

वरिष्ठताका हिसाबमा शाहीको विकल्प नरहेको कांग्रेस स्रोतको भनाइ छ ।

हुम्ला ‘ख’ बाट शाही प्रदेशसभा सदस्यमा सर्वसम्मत सिफारिसमा परेका छन् । प्रतिनिधिसभाका लागि पनि उनको नाम सर्वसम्मत सिफारिस भएको थियो । पार्टी संसदीय समितिले प्रदेशका लागि उनलाई सर्वसम्मत उम्मेदवार बनाएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने आफ्नो चाहना पनि रहेको शाहीले बताए । ‘जिल्लाबाट मलाई केन्द्र र प्रदेशमा सर्वसम्मत सिफारिस गरिएको थियो,’ शाहीले भने, ‘पूर्णबहादुर खड्का केन्द्रमा जाने भएपछि मलाई पार्टीले प्रदेशमा लड्न भन्यो, अब प्रदेशको समृद्धिका लागि लड्छु ।’

वरिष्ठतामा शाहीपछि सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट छन् । उनको नाम सुर्खेत २ ‘ख’ बाट प्रदेशसभाका लागि सिफारिस भएको छ ।

उनलाई पनि मुख्यमन्त्रीको दाबेदार बनाउन खोजिएको थियो । तर, त्यसमा आफ्नो चाहना नभएको उनले बताए ।

‘जीवन शाही नै प्रदेश ६ बाट कांग्रेसको मुख्यमन्त्री उम्मेदवार हो,’ विष्टले भने, ‘मेरो भूमिका सहायक मात्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment