Comments Add Comment

बाराक ओबामाका ‘लभ लेटर’, जसमा भेटिन्छ जीवन संघर्ष र जीजीविषा

अलेक्जान्द्रा म्याकनियरसँगमा लभमा थिए, पूर्वअमेरिकी राष्ट्रपति

३ कात्तिक, वासिङ्टन । पूर्वअमेरिकी बाराक ओबामा ५६ वर्षका भए । उनी ह्वाइटहाउसबाट बाहिरिएको पनि १० महिना बित्यो । तथापि, उनी चर्चाबाहिर छैनन् । पछिल्लो पटक उनको चर्चा भएको छ, २१ वर्षको उमेरमा आफ्नी प्रेमिकासँग पोखेका भावनाका कारण ।

उनी कलेज पढ्दै थिए, त्यतिबेला । उनका प्रेम पत्रमा नश्ल र वर्गका साथ आर्थिक असुरक्षाको भावना पनि व्यक्त भएको छ । उनका पत्रमा जीवनको सुरुवाती चरणको संघर्ष प्रतिविम्बित हुन्छ ।

ती पत्र उनले पे्रमिका अलेक्जान्द्रा म्याकनियरलाई पठाएका थिए । उनीहरुबीच क्यालिफोर्नियामा भेट भएको थियो ।

सन् २०१४ मा ती चिठ्ठी इमोरी विश्वविद्यालयको रोज लाइब्रेरीले प्राप्त गर्‍यो । ओबामाले ह्वाइटहाउस छाडेको १० महिनापछि मात्र सार्वजनिक गर्‍यो । ‘प्रेम पत्रहरु सुन्दर तरीकाबाट लेखिएका छन् । एक नौजवानको पहिचान तथा आफ्नो जीवनको अर्थ खोतल्ने प्रयास गरेका छन्, ओबामाले,’ लाइब्रेरीकी निर्देशक रोजमेरी म्यागी भन्छिन्, ‘उनमा त्यसै प्रकारको अभिलाषा पाइन्छ, जो संसारभरका छात्रमा देखिने गरेको छ ।’

ती प्रेम पत्र सन् १९८२ देखि १९८४ बीचमा लेखिएका थिए । त्यसको पाँच वर्षपछि मात्र उनी मिसेलसँग ‘डेट’ गएका थिए । र, उनलाई बिहे गरेका थिए ।

म्याकनियरलाई लेखेका सुरुवाती पत्रहरुमध्ये एकमा ओबामाका शब्द छन्, ‘मलाई विश्वास छ, तिमी जान्दछ्यौ कि म तिमीलाई कति याद गर्छु । म हावाजस्तै हर पल तिम्रै आसपास छु । तिमीप्रति सागरको गहिराईजत्ति नै भरोसा गर्छु । हाम्रो प्रेम असीम छ ।’

उनीहरुको प्रेम लामो समय भने टिकेन । ‘मैले तिम्रोबारेमा धेरै पटक सोचें । म आफ्नो प्रेम र भावनालाई लिएर अहिले पनि परेशान छु,’ सन् १९८३ मा उनले लेखेका छन्, ‘मलाई लाग्छ, जो हामीलाई प्राप्त हुन सक्दैन, हामी त्यही चाहन्छौं । यही कुराले हामी दुईलाई जोडेर राखेको छ । र, यसैले हामीलाई टाढा पनि गराउँछ ।’

एक पत्रमा ओबामाले आफ्ना ती साथीहरुबारे उल्लेख गरेका छन्, जसले उनको पारिवारिक व्यापार सम्हालेर जीवन व्यवस्थित बनाउँदै थिए ।

तथापि, ओबामाको परिस्थिति केही फरक थियो । उनका पिता केन्याका थिए । ओबामाको जन्म हवाईमा भएको थियो । र, जीवनको सुरुवाती दिन इन्डोनेसियामा बिताएका थिए ।

‘म आफूभित्र जलन महशुस गर्छु । म कुनै खास वर्ग या संस्कृतिसँग जोडिएको मानिस होइन । आफ्ना लागि कुनै अर्कै मार्ग तय भएजस्तो मलाई अनुभूति हुन्छ,’ उनी लेख्छन्, ‘आफ्नो एक्लोपनबाट पार पाउने मसँग एउटै बाटो छ, सबै संस्कृति र वर्गलाई अपनाऊँ र तिनीहरुसँग आफूलाई गाँसौं ।’

सन् १९८३ मा स्नातक उत्तीर्ण भएपछि ओबामा जब इन्डोनेसिया फर्किए, आफूलाई त्यहाँका मानिससँग गाँसिएको महशुस गर्न सकिरहेका थिएनन् । उनले लेखेको छन्, ‘म त्यहाँको भाषा पनि राम्रोसँग बोल्न सकिरहेको थिइनँ ।’

स्नातक उत्तीर्ण भएपछि उनी सामुदायिक परियोजनाहरुसँग सम्बद्ध भएर काम गर्न चाहन्थे । ‘केही साताअघि मसँग आफ्नो लेख हुलाकमार्फत् पठाउन पैसा थिएन । अघिल्लो साता एक टाइपराइटर भाडामा लिनका लागि मैले आफ्नो चेक बाउन्स गराउनु पर्‍यो,’ सन् १९८३ को एक पत्रमा उनले लेखेका छन्, ‘सामुदायिक संगठनहरुमा ज्यादै कम पैसा पाइन्छ । त्यसैले आफ्नो ऋण चुकाउन मैले अझ बढी मिहिनेत गर्नुपर्नेछ ।’

एक अन्तर्राष्ट्रिय व्यापारिक कम्पनीको प्रकाशन विभागमा जागिर पाएपछि उनी लेख्छन्, ‘सबै मेरो पीठ थपथपाइरहेका छन् । र, मेरो कामको प्रशंसा गरिरहेका छन् । म आफ्नो कम्पनीको एक विश्वासिलो कर्मचारीमध्ये एक बनेको छु ।’

त्यस समयमा उनलाई लागेको थियो रे, कर्पोरेट कम्पनीहरु आफ्नो मूल्य र आदर्शहरुलाई विस्तारै कम गर्दै लगेका छन् । ओबामाका पत्रहरुबाट उनी अरु ठूलो कुनै काम गर्न चाहन्थे ।

अलेक्जान्द्रालाई लेखेको एक पत्रमा उनका शब्द छन्, ‘मेरो विचारमा अब त्यति उज्यालो छैन, जति स्कुले जीवनमा थियो । अब ती दिनमा परिपक्वता र भारीपन आएको छ, जसको मद्दतबाट कुनै कामप्रति समीक्षकभन्दा ज्यादा साझेदार बन्ने विश्वास लाग्न थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment