Comments Add Comment

तिहारका थरिथरि बत्तीः सडकमै लाखौंको कारोबार


३ कात्तिक, काठमाडौं । बिहीबार साँझ काठमाडौैंको महाबौद्ध झिलिमिली बत्तीले धपक्कै थियो । तिहारका लागि किनमेल गर्न आउनेको भीडले व्यापारीहरुलाई भ्याइनभ्याइ थियो ।

उनीहरुलाई सामान्य कुराकानी गर्नसमेत फुर्सद थिएन । थोक तथा खुद्रा पसलमा मात्र होइन, सडक पेटीमा नाङ्ले पसल राख्नेहरुमा पनि यस्तै हतारोपन देखिन्थ्यो ।

लत्ताकपडा, मिठाइ र चकलेट मात्रै होइन, तिहारमा बत्तीको व्यापार पनि उच्च हुन्छ । महाबौद्ध, असन, न्युरोडलगायत क्षेत्रका व्यापारीलाई सास फेर्ने फुर्सद छैन ।

घर र कार्यालय साजसज्जाका लागि झिलिमिली बत्ती किन्न आउनेको लर्कोले व्यापारीलाई बेफूर्सदीमात्रै बनाएको छैन, उनीहरुको व्यापार पनि चौगुणा बढाएको छ ।

महाबौद्धको गल्लीमा यस्तै झिलिमिली बत्ती राखेका लोहित श्रेष्ठले तिहार लागेसँगै आफ्नो व्यस्तता बढेको अनुभव सुनाए ।


उनका अनुसार तिहारको समयमा सामान्य अवस्थामाभन्दा चौगुणा बढी व्यापार हुन्छ । ‘हामीलाई त पानी खाने फुर्सदसम्म पनि हुन्न,’ उनले भने । विहान आठ बजेदेखि बेलुका आठ बजेसम्म नै बत्ती किन्नेको भीड हुन्छ ।

‘अहिले त दिनकै झण्डै एक लाखसम्मको व्यापार हुन्छ,’ उनले भने । सामान्य अवस्थाको भन्दा कैयौं गुणा बढी भएको उनले बताए । दशैंदेखि नै यस्ता बत्तिको व्यापार बढ्ने भए पनि तिहारको समयमा यस्तो व्यापार उच्चतम विन्दुमा पुग्छ ।

बत्तिकै थोक व्यापार गर्ने महाबौद्धकै अर्का व्यापारी महाबौद्धकै अर्का एक व्यापारी किशोर महर्जनले तिहारको समयमा खासगरी लहरे झिलिमिली बत्तिको व्यापार बढी हुने अनुभव सुनाउँछन् । उनका अनुसार यस्ता झिलिमिलि बत्ति दर्जनभन्दा बढी प्रकारका हुन्छन् । ६० रुपैयाँदेखि ४-५ हजार रुपैयाँसम्मका झिलिमिलि बत्ति पाईने उनले बताए ।


यस्ता झिलिमिलि बत्ती सबैजसो चीनबाट आयात गरिने उनले बताए ।

त्यस्तै, असनको सडक पेटीमा बत्तिको व्यापार गरिरहेका विकास गुरुङले दिनमै एक लाखसम्मको बत्ति बेच्ने बताए ।

‘अरु समयमा दिनमा मुस्किलले २/३ वटामात्रै बत्ती बिक्छ,’ उनले थपे, ‘तिहारले नै हाम्रो ४ महिनाजतिको व्यापार धान्छ ।’











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment