Comments Add Comment

प्रदेश र प्रतिनिधि सभा चुनाव सम्पन्न गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न आम नागरिकबाट आफूले साथ र सहयोग पाउने विश्वास समेत व्यक्त गरे ।

नेपाल संवत ११३८ को अवसरमा शुक्रबार काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताए ।

‘स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ, सोहि मितिमा निर्वाचन सम्पन्न हुन्छ र देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ, अब यस कुरामा कसैले शंका नगरे हुन्छ,’ उनले भने ।

मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा सरकार लागिपरेको प्रधानमन्त्री देउवाले स्पष्ट पारे । देउवाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने दाबीसमेत गरे । लोकतन्त्रको सवलीकरण, आर्थिक समृद्धि र नागरिकको अधिकार रक्षाका लागि सरकारले सक्दो पहल गरिरहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे ।

नेपाल संवत् मौलिक संवत्का रुपमा रहेको चर्चा गर्दै उनले यसको संरक्षण, संवर्द्धन गर्ने प्रतिबद्धता जनाए । गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवतको शुरुवात गरेको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन १० लाख रूपैयाँ सरकारका तर्फबाट प्रदान गरिने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment