Comments Add Comment

मनोरञ्जन मात्र होइन, सोच्न वाध्य बनाइदिने आमिरको ‘सिक्रेट सुपरस्टार’


बलिउड नायक आमिर खान जब पर्दामा देखिन्छन्, उनको चलचित्रमा कुनै न कुनै कथा उठान गरिएको हुन्छ । यसपटक आमिर मुख्य भूमिकामा त पर्दामा देखिएका छैनन्, तर बिहिबारबाट रिलिज भएको चलचित्र ‘सिक्रेट सुपरस्टार’ले धेरै कुरा सोच्न वाध्य बनाइदिएको छ ।

‘दंगल’की बाल-कलाकार जायरा वसिमको वरिपरी घुमेको चलचित्रलाई अदवैत चन्दनले निर्देशन गरेका हुन् । अदवैतले यो चलचित्रमा एक यूवतीको सपनाको कुरा मात्र उठाएका छैनन्, घरेलु हिंसाको कथालाई पनि गज्जबले प्रस्तुत गरेका छन् । एक सुपरस्टार गायिका बन्न चाहने १५ बर्षकी बालिकाको सपना, उसको घरमा बाबुले आमालाई गर्ने हिंसा र त्यसबाट बाहिर निस्कनका लागि उसले चालेको कदमलाई चलचित्रमा उठान गरिएको छ ।

 

श्रीमान्को अगाडि निकै नै लाचार देखिएकी जायराकी आमा र उनले छोरीका लागि गरेको संघर्षलाई पनि निकै मार्मिक ढंगले चलचित्रमा उठाइएको छ । यस्तै, चलचित्रमा नायक आमिर खान एक संगीतकारको भूमिकामा छन्, जो अरुसँग नराम्रो शैलीमा प्रस्तुत हुन्छन् । यही कारणले उनको २ श्रीमतिसँग डिभोर्स पनि भएको हुन्छ । तर, जब सिक्रेट रुपमा युटुबमा हिट भएकी जायराको करिअर उठाउन आमिरले जुन शैलीमा मद्दत गर्छन्, उनको नराम्रो छवि चलचित्रबाट हराउँदै जान्छ ।

२ घन्टा ३० मिनेट लामो चलचित्रले महिला सशक्तिकरणको कथालाई पनि निकै पावरफूल तरिकाले उठान गरेको छ । महिलालाई चलचित्रमा पावरफूल देखाउन पुरुषलाई अन्त्यमा मार्नै पर्ने, कुट्नै पर्ने जुन सिद्धान्त धेरै चलचित्रले बोक्ने गर्छन्, ती चलचित्र मेकरले ‘सिक्रेट सुपरस्टार’ हेर्न आवश्यक छ । साथै, यसको कथाले मानिसलाई एक पटक सोच्न वाध्य पनि बनाइदिएको छ । चलचित्रमा जायराको पावरफूल अभिनयले दर्शकको मन मात्र जित्दैन, आँखाबाट आँशु पनि छल्किन्छ । आमिर खानको अभिनय, पटकथाले कुनै पनि स्थानमा दिक्क लाग्ने बनाएको छैन ।

आमिर खानको चलचित्रबाट एउटा उत्कृष्ट कथाको आशा राख्ने दर्शकका लागि ‘सिक्रेट सुपरस्टार’ले निराश बनाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment