Comments Add Comment

लक्ष्मीपूजामा कतै बिजुली नकाट्ने कुलमान योजनामा मुसा बाधक

भक्तपुरमा लाइन काटिनुको कारण मुसो

रातो गोलाकारभित्र जलेको मुसा

 

३ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारका लागि बिजुलीको सबै व्यवस्थापन मिलाएको थियो । प्रबन्ध निर्देशक कुलमान घिसिङ र उनको टोली लक्ष्मीपूजाका दिन देशभर बिजुली नकाट्ने प्रष्ट योजना र तयारीका साथ बसेको थियो ।

तर, यो योजनाको बाधक बन्यो मुसो । सुन्दा अचम्म लाग्नसक्छ तर, बिहीबार दिउँसोभर घिसिङसहित प्राविधिक टोलीले भक्तपुरमा एउटा मुसाका कारण निकै तनाव बेहोर्नुपर्‍यो ।

 

बिहीबार मध्यान्ह भक्तपुर सब-स्टेसनका केही उपकरण जले । सोही कारण पूरै भक्तपुरमा बिजुली प्रसारण अवरुद्ध भयो ।

मर्मतका लागि मध्यान्हदेखि नै प्राधिकरणको विज्ञ प्राविधिक टोली खटियो । मर्मतका क्रममा सब-स्टेसनको उपकरण जल्नुको कारण पत्ता लाग्यो । विद्युतीय उपकरणमा भेटियो, एउटा जलेको मुसो ।

समस्या पत्ता लागेपछि भक्तपुरको पहिलो लाइन सुचारु गर्न साँझ साढे ५ बजेसम्म मिहिनेत पर्‍यो । कुलमान आफैंले बसेर प्राविधिकलाई साँझ पर्नुअघि नै मर्मत सक्न प्रोत्साहन गरिरहे । उनले आफ्नो ज्ञान पनि प्राविधिकसँग बाँडे ।

घिसिङले भक्तपुरको दोस्रो लाइन चार्ज नभई नफर्किने बताएपछि प्राविधिकले कामको गति बढाए ।

निरन्तरको प्रयासपछि बल्ल-तल्ल साँझ सवा सात बजे भक्तपुरका सबै क्षेत्रमा बिजुली बल्यो ।


त्यसपछि घिसिङ तुरुन्तै स्युचाटारस्थित भारप्रेषण केन्द्र पुगे । लक्ष्मीपूजाका दिन वर्षकै सबैभन्दा बढी बिजुली माग हुने भएकाले आपूर्ति व्यवस्थापनका उनी साँझपर्नु अगावै त्यहाँ पुग्ने योजना थियो । भक्तपुरको धपेडीले उनको पूर्वयोजना केही बिथोलियो ।

‘एउटा मुसोले गर्दा साँझमा भक्तपुरको केही भेगमा बत्ती बाल्न सकिएन । संयोगले आजकै दिनमा यस्तो भयो,’ आठ बज्नै लाग्दा स्युचाटारको मास्टर स्टेसन पुगेका घिसिङले खिन्न मान्दै अनलाइनखबरसँग भने, ‘एउटा लाइन त बेलैमा बन्यो । अर्को लाइन नचलाई त्यहाँबाट हिँड्न पाइला नै सरेन ।’

उनले मास्टर स्टेसनमा माग र आपूर्ति व्यवस्थापनको अवस्थाबारे इन्जिनियरहरुसँग परामर्श गरे । र, माग व्यवस्थापन सफल बनाएकामा धन्यवाद दिए ।

भारप्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठसहित प्राधिकरणका उच्च अधिकारीहरु पनि साँझबाटै मास्टर स्टेसनमा खटिएका थिए । ‘माग धान्न नसकेर देशभर कतै बिजुली काट्नु परेन । थप सयदेखि डेढसय मेगावाट माग भएको भए पनि हामी दिनसक्थ्यौं,’ घिसिङले भने, ‘कति ठाउँमा प्राविधिक समस्या आएर लाइन काटिए होला । हामी त्यसमा क्षमाप्रार्थी छौं । तर, छिटो मर्मतका लागि टिम चुस्त बनाएका छौं ।’

बिहीबार करिब १२ सय मेगावाट आपूर्ति गर्‍यो, प्राधिकरणले । उद्योगहरु नचलेकाले तीन सय मेगावाटको भार प्रणालीलाई परेन ।

यसअनुसार प्राधिकरणको प्रणालीमा बिहीबार साँझ ६.५५मा हालसम्मकै सबैभन्दा बढी १५ मेगावाटको माग आएको थियो । प्राधिकरणले यस वर्षदेखि लक्ष्मीपूजाका दिन भार नपुगेर लाइन काट्नु पर्ने अवस्थाको अन्त्य गरेको छ । गत वर्ष लक्ष्मीपूजाका दिन काठमाडौंमा मात्रै लाइन काटिएको थिएन ।

पूर्व तयारीका साथ बसेको प्राधिकरणले हिजोसमेत कुलेखानी आयोजनालाई पूर्ण क्षमतामा चलाउनु परेन । मागले नधाने कुलेखानी पूर्ण क्षमतामा चलाउने गरी तयारी भए पनि अन्यत्रबाटै व्यवस्थापन गरिएको बिजुलीले आपूर्ति सहज भएको थियो ।

प्राधिकरणले सबै आयोजनालाई पूर्ण क्षमतामा चलाएको थियो । भारतबाट करिब साढे तीन सय मेगावाट ल्याइएको थियो ।

एक वर्षपछि हेटौंडाको १० मेगावाटको डिजेल प्लान्टलाई पनि प्राधिकरणले चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment