Comments Add Comment

कांग्रेसमा टिकट खोसाखोस, पार्टीभित्रै ६०-४० लफडा

३२ जिल्लाका उम्मदेवारको टुंगो आजै लगाइने

३ कात्तिक, काठमाडौं । ओखलढुंगाका कांग्रेस नेता लीलाबल्लभ दाहाल ‘काका’लाई प्रदेशको टिकट लिन प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो । शुक्रबार दिउँसो करिब पौने १२ बजे बालुवाटार पुगेका दाहालले करिब चार बजेसम्म पालो कुरे । तर, अन्तिममा अर्कै व्यक्तिलाई टिकट दिइसकेको थाहा पाएर रन्थनिँदै उनी बाहिरिए ।

टिकट बाँडफाँटमा कांग्रेसभित्र भइरहेको लफडाको एउटा प्रतिनिधि उदाहरण मात्र हो यो । यस्ता धेरै किचलोका कारण कांग्रेसमा असन्तुष्टि चुलिएको छ ।

कांग्रेसका युवा नेता दाहालका अनुसार ओखलढुंगा १ ‘क’मा उनलाई टिकट दिने निर्णय भइसकेको थियो तर, पैसाको चलखेलमा टिकट खोसिएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेका दाहालले भने, ‘रामचन्द्र पौडेल दाइले हिजोमात्रै मलाई फोन गरेर ठूलो लडाईं लडेर तपाईंलाई टिकट दिन सफल भइयो भन्नुभएको थियो ।’

दाहालले थपे- ‘रामचन्द्र दाइले मुख्यसचिवलाई भेटेर टिकट लिन पनि भन्नुभयो । मैले आज बिहान मुख्यसचिवलाई फोन गरें । उहाँले मलाई ११ः४५ बजेतिर बालुवाटार आउन भन्नुभयो । मलाई चार बजेसम्म बालुवाटारमा कुराइयो । तर, एकाएक खरिद बिक्री भएर अर्को अमूक व्यक्तिलाई टिकट दिने काम भएको छ ।’

लीलाबल्लभ दाहाल ‘काका’

ओखलढुंगामा देउवा र पौडेल पक्षले ६०/४० को भागबन्डा अनुसार उम्मेदवार चयन टुंगो लगाएका थिए । जसअनुसार संघमा रामहरि खतिवडा, प्रदेश ‘ख’ मा पार्टी सभापति समेत रहेका प्रदीप सुनुवार र प्रदेश ‘क’मा लीलाबल्लभ दाहाल दाबेदार थिए ।

तर, फेसबुकलगायत सामाजिक सञ्जाल र टेलिफोनमार्फत् दाहालले पाएको बधाई २४ घण्टा पनि टिकेन । उनको टिकट खोसेर ओखलढुंगा ‘क’मा मित्रसेन दाहाललार्इ टिकट दिइएको छ ।

दाहालले भने पत्रकार सम्मेलन गरेर टिकट बाँडफाँटमा भएको चलखेल सार्वजनिक गर्ने बताएका छन् ।

कांग्रेसले मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुको नाम आजै टुंगो लगाउने जनाएको छ । शनिबार भाइटीका परेको र आइतबार मनोनयन दर्ताको दिन भएकाले कांग्रेससहित सबै राजनीतिक दलहरु आजै उम्मेदवारको नामावली टुंगो लगाउन बिहानैदेखि कसरतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment