Comments Add Comment

सी जिनपिङ युगतिर चीन !

नयाँ विचारधारासहित शक्ति केन्द्रिकृत गर्दै चिनियाँ राष्ट्रपति


३ कात्तिक, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नै राजनीतिक विचारधारा सिर्जना गरेका छन् । कम्युनिस्ट पार्टीमा आफ्नो उच्च स्थान मजबुत बनाउने उद्देश्यका साथ उनको पहलकदमी सामुन्ने आएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको जारी महासभा (कंग्रेस)मा सहभागी उच्च अधिकारीहरुले ‘सी जिनपिङको सोच’का रुपमा त्यसलाई अगाडि सारिरहेका छन् । आगामी साता सम्पन्न हुने महासभा अगाडि पार्टी विधान पुनर्लेखन हुने विश्वास व्यापक देखिन्छ ।

 

यस कदमबाट राष्ट्रपति सी पार्टीका पूर्वनेताहरु माओत्से तुङ र देङ सिआओ पिङको समकक्षमा पुग्ने अपेक्षा छ । संवाददाताहरुको विश्लेषणमा यो पार्टीमा असाधारण शक्ति हात पार्ने राष्ट्रपति सीको संकेत हो । र, अहिलेको समीकरणअनुसार उनलाई चुनौती दिन सक्ने अन्य व्यक्ति र समूह चिनियाँ कम्युनिस्ट पार्टीमा छैनन् ।

गत बुधबार पार्टीको महासभा उद्घाटन क्रममा राष्ट्रपति सीले दिएको तीन घण्टा लामो मन्तव्यबाट चीनमा कसले शासन गर्छ र देश कुन दिशाबाट अगाडि बढ्छ भन्ने संकेत पाइएको थियो ।

बिहीबार मात्र पार्टीका उच्च नेताहरुले राष्ट्रपति सीको ‘नयाँ युगतर्फको चिनियाँ प्रकृतिको समाजवाद’को मुक्तकण्ठले प्रशंसा गरेका थिए । त्यसलाई उनीहरुले चीनको सन्दर्भमा माक्र्सवादको पछिल्लो उपलब्धिका रुपमा व्याख्या गरेका थिए ।

बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसी लेख्छिन्, ‘चीनको राजनीति एकान्तप्रिय र परोक्ष छ । र, कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सबै सदस्यले एकै भाषा र शब्दावली प्रयोग गर्छन् । यसबाट स्पष्ट हुन्छ, केही ठूलो निर्णय सार्वजनिक हुँदैछ ।’

सामूहिक छलफलका लागि गठित प्यानलहरुमा राष्ट्रपति सीको ‘की-नोट’ मन्तव्यबारे सतर्कतापूर्वक विचार राखिएको थियो । सबैले एकै वाक्यांश दोहोर्‍याए, ‘नयाँ युगतर्फको चिनियाँ प्रकृतिको समाजवाद’ । यही वाक्यांश सरकारी सञ्चारमाध्यममार्फत् ‘प्रसिद्ध’ बनाइएको छ ।

आफ्ना पूर्ववर्ती नेताहरुले २० वर्षमा हासिल गर्न नसकेको उपलब्धि प्राप्त गरेरै छाड्ने कुरामा राष्ट्रपति सी दृढ देखिन्छन् । परिवर्तनको इच्छाशक्ति भएका नेताहरुको समकक्षमा उभ्याउन उद्यत देखिन्छन्, उनी ।

आगामी साता पार्टी विधानमा आफ्नो लेखाउन सफलता पाउने आशा पनि उनमा देखिन्छ । माओत्से तुङले रचना गरेको कम्युनिस्ट क्रान्ति तीन दशकको यात्राको पहिलो पाइला थियो । दोस्रो पाइला देङ सिआओ पिङ युग थियो । र, चीन सी जिनपिङ युगको संघारमा उभिएको छ, अहिले ।

पूर्ववर्ती चिनियाँ नेताहरु आ-आफ्नै राजनीतिक विचारधाराका साथ सत्तामा आएका थिए । र, त्यसलाई पार्टी विधानमा सम्मिलित गराएका थिए ।

त्यस्ता विचारधाराले पार्टीले दिने महत्व प्रतिविम्बित गर्थे । तथापि, पार्टीका संस्थापक माओत्से तुङ र देङ सिआओ पिङबाहेकका नेताहरुले आफ्नै सिद्धान्तका रुपमा त्यस्ता विचारधाराको व्याख्या गरेका थिएनन् ।

‘सी जिनपिङ सिद्धान्त’मा १४ वटा मूल तत्व छन् । जसमा, ‘पूर्ण र गहिरो पुनर्संरचना’ तथा ‘विकास अवधारणा’, मानिस र प्रकृतिबीच सौहादर््रता, जनमुक्ति सेनामाथि पार्टीको पूर्ण नियन्त्रण, एक पार्टी दुई प्रणालीको महत्वमा जोड दिँदै मातृभूमिको पुनरेकीकरणलगायत छन् ।

सन् २०१२ मा शक्तिमा आउने क्रममा राष्ट्रपति सीले पार्टीमा आफ्नो स्थान मजबुत बनाउन र समाजमा पनि फराकिलो स्थान पक्का गर्न केही पहलकदमी लिएका थिए । त्यसैबेला उनीमाथि केही नेताले माओत्से तुङको जस्तो व्यक्तित्व निर्माण गर्न खोजेको आरोप लगाएका थिए ।

त्यसलगत्तै उनको कदम पार्टी नेतृत्वमा रहेको भ्रष्टाचार जरैदेखि उखेल्ने अभियानतिर सोझियो । थुप्रै उच्च अधिकारी जेलमा परे या पक्राउ परे । धेरैले यसलाई राजनीतिक शुद्धिकरण अभियानका रुपमा अर्थ्याए । र, राष्ट्रपति सी स्वयंले यसलाई शक्ति संघर्षका रुपमा व्याख्या गर्न अस्वीकार गरे ।

तथापि, बिहीबारको छलफलमा भाग लिँदै पार्टीका वरिष्ठ अधिकारी लिउ सियुले भ्रष्टाचारविरोधी अभियानमा जेल या पक्राउ परेकाहरु राष्ट्रपति सीविरुद्ध षडयन्त्रमा सहभागी रहेको बताए । उच्च नेता बो सिलाई, चोउ योङकाङ र सन चेन्काईलगायतको नामै किटेर लिउले ‘चरम भ्रष्ट’ नेताको बिल्ला भिराए । उनीहरु पार्टी नेतृत्व र राज्यशक्ति हत्याउने दाउमा रहेको दाबी पनि गरे, लिउले ।

चिनियाँ कम्युनिस्ट पार्टीको महासभा हरेक पाँच वर्षमा आयोजना हुन्छ, जसमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुन्छन् । आगामी मंगलबार सकिने महासभाका क्रममा चीनभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment