Comments Add Comment

हरेकले जन्मदिनमा मृगौला परीक्षण

डायलासिस र प्रत्यारोपण सेवा देशभर विस्तार गर्नु आवश्यक

आज एमाले अध्यक्ष केपी ओली डायलासिस मात्रै गरेर बसेको भए उहाँको अस्पतालमै वास हुन्थ्यो । मृगौला प्रत्यारोपणपछि स्वच्छन्द भएर आफ्ना दैनिक कामकाज गर्न सकिन्छ, ओलीले जस्तै । अब सरकारको जोड प्रत्योपणको संख्या बढाउने र त्यसपछिका औषधी निःशुल्क गर्नेमा केन्दि्रत हुनुपर्छ ।

हामी आफ्ना सवारी साधनहरु बेला-बेलामा ‘सर्भिसिङ’ गराउँछौं । मानव शरीर पनि एक मेसिन -इन्जिन) हो, यसको पनि जाँच र सर्भिसिङ गर्न हामी चुकिरहेका हुन्छौं । शरीरका महत्वपूर्ण अंगहरु के गर्दैछन् ? उनीहरुको कतै समस्या पो आयो कि ? ठीकठाक हालतमा चलेका छन् कि छन् की छैनन् भनेर हामी बहुसंख्यक नेपालीले चासो दिने गरेका छैनौं ।
अनौठो लाग्छ, पैसाको माया छ, ज्यानको माया छैन । यो चेतनाको अभाव हो र राज्यले बाध्यकारी पनि बनाएको छैन । राज्यले कुनै एक महत्वपूर्ण कामका लागि अनिवार्य वाषिर्क स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरोस् । स्वास्थ्य बीमामार्फत् पनि यसलाई अघि बढाउन सकिन्छ, गरीब र विपन्न नागरिकको हकमा ।हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य नै यही हो । चाहे क्यान्सर होस् या अन्य रोग वा मृगौलासम्बन्धि रोग किन नहोस् । समस्याको पहिचान बेलैमा गर्न सकियो भने निको पनि हुन्छ अनि थप दुःख र क्षति पनि हुँदैन ।

सरकारको पि्रभेन्सन कार्यक्रम अति फितलो छ । सरकार उपचारमा बढी केन्दि्रत छ । तर, प्रिभेन्सनमा त्यति छैन, जति आवश्यक छ । ३० लाख नेपालीमा मृगौलासम्बन्धि समस्या छ । यो सानो आँकडा होइन । एउटा ठूलो राजनीतिक पार्टीले ल्याउने मतभन्दा धेरै मानिसमा कुनै न कुनै प्रकारको समस्या छ ।

रोगी हुँदा सरकार १० लाखसम्म पनि खर्च गर्न तयार छ । तर, स्वस्थ व्यक्तिले जाँच गर्नु पर्‍यो भने दुई सय रुपैयाँ पनि दिँदैन । मृगौला जाँच गर्न जाँदा पैसा मागिन्छ । पैसा भए जाँच हुन्छ, नभए हुँदैन ।

रोगी बनाएर उपचार गर्ने कि रोग लाग्न नदिने ?

समुदायले पनि हातेमालो गरेर केही पैसा संकलन गरी मृगौलाको निःशुल्क स्वास्थ्य शिविर चलाउन सकिन्छ । मृगौला बिक्री गर्नु हुँदैन, आवश्यक परे नातेदारलाई दिनुपर्छ भन्ने सोच पलाएन । स्वस्थ राख्नुपर्ने सन्देश प्रवाह पनि आवश्यक छ ।

तस्करहरु गाउँ-गाउँ पुगेर मृगौला दिएपछि पलाउने अफवाह फैलाउँछन् । तर, त्यसरी मृगौला दिनु हुँदैन । पलाउँदैन भन्ने जानकारी पनि दिन सकेका छैनौं ।

के गर्ने मृगौला जोगाउन ?

दिनको शुरुवात एक गिलास पानीबाट गरौं । पानी नै मृगौला जोगाउने साथी हो । पानी मृगौलाको साथी भन्ने बुझौं । अर्को कुरा, मानसिक रुपमा मात्रै होइन, शारीरिक हिसाबले पनि सक्रिय रहनुस् । दिनमा १० हजार पाइला वा सात किलोमिटर हिँड्नुस् ।

खानपिनमा विषेश ध्यान दिनुस् । हामी नेपालीको मुख छुच्चो र जिब्रो स्वादे छ । यही कारण हाम्रा धेरै कुरा बिगि्रएका छन् । खान मिठो चाहिने, काम भने घटाउँदै लैजाने । अनि कसरी हुन्छ ?

रोग लागेको छ भने मधुमेह र उच्च रक्तचापजस्तै नियन्त्रणमा राख्नुस् । एउटा कुरा बुझौं, ‘फास्ट फुड नट गुड फुड’ । यसमा सबैभन्दा ठूलो चुनौती भनेको भित्र लागेको रोगको लक्षण बाहिर देखिँदैन ।

पिसाब पोल्यो या कम भयो । तर, यसलाई खासै लक्षण मानिँदैन । डायलासिस गर्नुभन्दा चार दिनअघि मात्रै बिरामी पुग्छ । अन्तिम क्षणमा जाँदा डायलासिसबाहेकको विकल्प हुँदैन ।

एकैपटक दुवै मृगौला बिगि्रसकेका हुन्छन् । मृगौलामा अनुकुलनको क्षमता अधिक हुन्छ । त्यही कारण रोग लागेको पत्तो हुँदैन । अति सानो उमेरका बच्चादेखि वृद्धवृद्धासमेत यसबाट पीडित छन् ।

कतिपय अवस्थामा उपचारका कारणले गर्दा पनि मृगौला बिग्रन सक्छ उच्च रक्तचाप, मधुमेहजस्ता रोगमा हेलचेक्र्याईं गर्दा मृगौलामा असर पर्छ । जथाभावी पेनकिलर खानु हुँदैन ।

यो अनमोल शरीरका लागि सुत्ने र उठ्ने समय निश्चित हुन्छ । अनुशासित जीवन चाहिन्छ । अन्यथा, अनमोल शरीर चाँडै नास हुन्छ ।

वर्षमा कम्तीमा एक पटक मृगौला परीक्षण गराउनुपर्छ । त्यसैले जतिसुकै गरिब भए पनि वर्षको जन्मदिनको अवसर पारेर मृगौलाको अवस्था परीक्षण गरौं ।

हरेक जिल्लामा उपचार केन्द्र

राष्ट्रिय मृगौला उपचार केन्द्रले अहिले दैनिक ८० वटा मेसिनबाट उपचार दिइरहेको छ । सरकारले पनि सहयोग गरेको छ । विगतमा वीर अस्पतालमा मात्र हुँदा डाइलासिसलाई चाहिने सबै सामान विरामी आफैंले किनेर ल्याउनुपथ्र्यो ।

त्यो कुरालाई मलाई असाध्यै बिझायो । राष्ट्रिय मृगौला केन्द्र सञ्चालनमा आएपछि सबै सामग्री किन्न विरामी दौडिनु परेन । सामान लिन हामी नै दौडियौं । सरकारले पनि पछि त्यही गर्न थाल्यो ।

सरकारले धरानमा डायलासिस सेवा सुरु गर्‍यो । टिचिङ अस्पतालको क्षमता बढाइयो । सन् २००८ मा नेपालमा प्रत्यारोपण सुरु भएको हो । ०६५ सालमा सरकारले ज्येष्ठ नागरिक र जनजातिलाई डाइलासिस सेवा निःशुल्क गर्‍यो, राष्ट्रिय मृगौला उपचार केन्द्रमार्फत् ।

सरकारले त्यसबेला दिएको एक करोड रुपैयाँले धेरै वृद्ध र जनजातिले उपचार पाए । त्यसको आलोचना पनि भयो । किन मर्ने बेला भएका वृद्धावृद्धालाई मात्र पैसा खर्च गरेको भनेर । युवा र बालबालिकाका लागि पनि खर्च गर्नुपर्ने आवाज पनि उठ्यो । २५ सय रुपैयाँमै डाइलासिस सेवा दिन सकिने पनि देखियो ।

केन्द्रले हाल काठमाडौं वनस्थलीमा २२, मनमोहन मेडिकल कलेजमा २०, सुमेरु अस्पताल धापाखेलमा १५, तनहुँ अस्पतालमा दमौलीमा नौ र रत्ननगर टाँडीमा ६ वटा मेसिनबाट उपचार सेवा दिइरहेको छ । विराटनगरमा गोल्छा आँखा अस्पतालबाट ६ वटा मेविनबाट उपचार दिइरहेको छ ।

नाफा नकमाई सेवा दिने कामलाई सहयोग गर्ने संस्थाहरुसँग हातेमालो गर्न तयार छौं । डायलासिस मेसिन लायन्स, रोटरी क्लब र व्यापारिक प्रतिष्ठानहरुले खरिद गरिदिए र स्थानीय अस्पतालले पूर्वाधार उपलब्ध गराएमा राष्ट्रिय मृगौला उपचार केन्द्र शाखा खोल्न तयार छ । हामीसँग दक्ष प्राविधिक जनशक्ति छ । र, अनुभव पनि छ । बायोमेडिकल इन्जिनियर विभाग चुस्त छ । हाम्रो सेवा रोकिँदैन ।

हामी अस्पताल सञ्चालन गरेर बस्ने सोचमा छैनौं । देशका विभिन्न भागमा डायलासिस केन्द्र बनाउने लक्ष्य छ । हरेक जिल्लामा कम्तीमा एक केन्द्र बनाउने सोच छ । हामी प्रत्यारोपण र डायलासिस सँगसँगै गर्न सक्दैनौं । बिरामीको स्त्रिmनिङ मात्र गराउन सक्छौं ।

सरकार प्रत्यारोपणमा केन्द्रित

३० लाखको १० प्रतिशत अर्थात् तीन लाख जना मृगौलासम्बन्धि रोगबाट पीडित छन् । त्यसको १० प्रतिशत तीन हजारलाई तुरुन्तै डायलासिस गराउनुपर्ने अवस्था छ । डायलासिस पाए उनीहरु बाँच्छन् नत्र ज्यान जोगिँदैन ।

उपचारमा मात्र केन्द्रित भएर नेपालजस्तो गरिब मुलुकले धान्दैन । त्यसैले, डायलासिस केन्द्र, अस्पताल र प्रत्यारोपण संयन्त्र फरक-फरक ढंगले सञ्चालन गर्नुपर्छ । कुनै केन्द्रले प्रत्यारोपणलाई प्राथमिकता दिन्छन् भने राष्ट्रिय मृगौला उपचार केन्द्रले डायलासिसलाई ।

काम र जिम्मेवारी बाँडफाँट गरेर एकजुट भई यसविरुद्ध लाग्नुपर्छ । यो सेवा सरकारी/गैरसरकारी दुवै क्षेत्रबाट उपलब्ध गराउन सकिन्छ । सरकारी अस्पतलाबाट मात्रै सेवा दिँदा उपचार राम्रो र प्रभावकारी बन्न सक्दैन ।

२०५४ सालमा राष्ट्रिय मृगौला केन्द्रले उपचार सेवा दिन थालेपछि गैरसरकारी क्षेत्रबाट पनि प्रभावकारी सेवा दिनसकिने सरकारले बुझेको छ ।

डायलासिस र प्रत्यारोपण एउटै सिक्काका दुई पाटा हुन् । सबै व्यक्तिले प्रत्यारोपण गर्न सक्दैनन्, मुटको समस्या, शारीरिक अवस्था, कलेजको समस्या आदि कारणले ।

डाइलालसिस भनेको प्रत्यारोपणको फाउन्डेसन हो । केही समस्या आयो भने फेरि डायलासिस चाहिन्छ । सरकारले निःशुल्क प्रत्यारोपण सेवा दिँदा अहिले एक जना नातेदार मात्रै ल्याए पुग्यो । उसको मृगौला मिल्नु पर्‍यो, प्रत्यारोपण भइहाल्छ । तर, सरकारको जोड डायलासिसभन्दा प्रत्यारोपणमा हुनुपर्छ ।

डायलासिस सातामा दुई वा तीन पटकसम्म गराउनुपर्छ । सात दिनमा तीन दिन त अस्पताल नै आउनु पर्छ । डायलासिस गर्दा चार घण्टा लाग्छ । परिवारको अर्को एक सदस्य पनि उसकै पछि लाग्नु पर्‍यो । समयको बर्बादी हुन्छ ।

प्रत्यारोपणपछिको औषधि निःशुल्क होस्

डाइलासिसमा मात्रै भनेर बस्दा सरकारले धेरै खर्च गर्नुपर्छ । अहिले सरकारले एक जनाको डायलासिसका लागि महिनामा ३० हजार रुपैयाँ खर्च गरेको छ । एक वर्षमा तीन लाख ६० हजार रुपैयाँ लाग्छ ।

त्यो व्यक्ति १० वर्ष बाँच्यो र निरन्तर डायलासिस गर्नुपर्‍यो भने ३६ लाख रुपैयाँ खर्च हुन्छ । त्यसभन्दा ‘बेटर’ त प्रत्यारोपण हो । पाँच लाखमै प्रत्यारोपण हुन्छ ।

तर, प्रत्यारोपणपछि दिने औषधि सरकारले उपलब्ध नगराउँदा समस्या भयो । प्रत्यारोपण गरेका कैयौं बिरामी औषधि खान नसकेर पुनः मृगौला बिगि्रएर डायलासिसमा फर्किएका छन् । किनभने उनीहरुले सोचे प्रत्यारोपण गरेपछि १/२ वर्ष मात्रै औषधी खाने हो । प्रत्यारोपणपछि महिनाको १०औं हजारको औषधी जीवनपर्यन्त खाइरहनका लागि पैसा खै ? कहाँबाट ल्याएर खाने ?

प्रत्यारोपणपछि सुरुमा २०/२५ हजार र पछि मासिक १० हजारको औषधि खानुपर्छ । मान्छे त ठीक हुन्छ तर धान्न सक्दैन । बिरामीहरु भन्छन्, डाक्टर सा’ब प्रत्यारोपण राम्रो त हो तर ६ महिनापछि खाने औषधि मैले कहाँबाट पाउँछु ? प्रत्यारोपणपछि सरकारले औषधिका लागि एक लाख त दिन्छ तर त्यो प्रभावकारी भएन ।

त्यसैले सरकारले प्रत्यारोपणपछि खाने औषधि पनि निःशूल्क गर्नुपर्छ ।

गरीब व्यक्तिका लागि अहिले सजिलो उपाय डायलासिस नै हो । किनकि, प्रत्यारोपणपछि उसले मासिक औषधि किनेर खान सक्दैन । डायलासिस गर्नेको पाँचदेखि १० वर्ष आयु हुन्छ । प्रत्यारोपण गर्दा १५ देखि २५ वर्ष बाँच्न सकिन्छ ।

सरकारले पैसा बाँड्ने होइन । उपचार गरिदिने र औषधि निःशुल्क दिने हो । विरामीले खोजेको पैसा होइन, निःशुल्क औषधि हो ।

जसरी एचआईभी र टीबीका बिरामीलाई निःशुल्क औषधि दिइएको छ, त्यसरी नै मृगौला प्रत्यारोपण गरेका व्यक्तिलाई पनि दिनुपर्छ ।

नेपालमा मृगौला प्रत्यारोपण

अहिले ग्रान्डी र वीर अस्पताल तथा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मृगौला प्रत्यारोपण हुन्छ । टिचिङमा केही समस्या देखिएका छन् । सातामा टिचिङमा दुई, वीरमा दुई, भक्तपुरमा तीन र ग्रान्डीमा एक जनाको प्रत्यारोपण हुने गरेको छ । प्रत्यारोपणको पालो कुर्नेहरु धेरै छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रजस्ता उपचार केन्द्रहरु देशका अन्य भागमा पनि सञ्चालन गर्न ढिलाइ गर्नु हुँदैन ।

नेपालमै ‘नेफ्रोलोजिस्ट’हरु हरेक वर्ष उत्पादन भइरहेका छन् । वीर, टिचिङ, नेपाल मेडिकल कलेजबाट नयाँ दक्ष चिकित्सक उत्पादन भइरहेका छन् । युरोलोजीमा एमसीएच गरेका चिकित्सकहरु पनि छन् । प्रत्यारोपण गराउन सक्ने जनशक्ति पनि हामीसँगै छ, अब ।

(मृगौला रोग विशेषज्ञ डा. काफ्लेसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment