Comments Add Comment

भारतीय व्यापारी सप्तरीबाट अपहरण मुक्त, तीनजना पक्राउ

 

४ कात्तिक, सप्तरी । अपहरणमा परेका एकजना भारतीय व्यापारीलाई सप्तरी प्रहरीले सकुशल मुक्त गराएको छ । अपहरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका ८ बाट भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत १० घर भएका कपडा व्यापारी अमित कुमार शारदालाई प्रहरीले सकुशल मुक्त गराउँदै तीन जना अपहरणकारीलाई पक्रेको छ ।

ताकेदामा आएका व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कञ्चनरुप नगरपालिका ८ स्थित व्यस्त सडकबाटै अपहरण भएको थियो । डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय सेन्ट्रो कारको प्रयोग गरी ३३ वर्षीय शारदाको अपहरण गरिएको थियो ।

बस चढ्न बसपार्कतिर गइरहेको अवस्थामा अपहरणमा परेका उनलाई कञ्चनरुप नगरपालिकाकै वडा नम्बर १२ स्थित अम्बरबहादुर मगरको घरमा लुकाएर राखिएको अवस्थामा मुक्त गराएको हो ।

शारदा वेपत्ता भएको सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले शनिबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार अपहरणमा संलग्न कञ्चनरुप ४ बस्ने २८ वर्षीय अम्बरनाथ विश्वास, वडा नम्बर ६ बस्ने शैलेन्द्र कुमार गुप्ता र वडा नम्बर ७ का पशुपति भनिने पुष्कर महतो पक्राउ परेका छन् । उनीहरुको साथबाट दुई थान कटुवा पेस्तोल समेत बरामद भएको एसपी सिंहले बताए ।

उनीहरुबिरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरीले जनाएको छ । फिरौति असुल गर्ने उद्देश्यले व्यापारी शारदाको अपहरण गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment