Comments Add Comment

लमजुङमा देव गुरुङ र दिलबहादुर घर्तीबीच प्रतिस्पर्धा


४ कात्तिक, लमजुङ । साविक २ वटा निर्वाचन क्षेत्र रहेको लमजुङमा संघीय संसदका लागि एउटा सिट मात्र छ ।

एक मात्र क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देव गुरुङ उम्मेदवार बन्ने लगभग पक्का भएको छ । कांग्रेसले दिलबहादुर घर्तीलाई उठाउने भएको छ ।

प्रदेशसभातर्फ (क) बाट गर्जबहादुर गुरुङ र (ख) बाट कृष्णप्रसाद कोइरालालाई कांग्रेसले उम्मेदवार बनाएको छ । वाम गठबन्धनअन्तर्गत् प्रदेशसभाका दुवै क्षेत्र एमालेले लिएको छ । एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी (क) र पार्टी केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ (ख)बाट उठ्ने भएका छन् ।

गुरुङलाई एमालेका तर्फबाट प्रदेश ४ को मुख्यमन्त्रीका सम्भावित उम्मेदवारका रुपमा पनि हेरिएको छ ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा लमजुङ-१ बाट एमालेका जमिन्द्रमान घले र २ बाट कांग्रेसका चन्द्रबहादुर कुँवरले जितेका थिए ।

कसले मार्ला बाजी ?

स्थानीय तहको निर्वाचनमा देशका अधिकांश स्थानमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो । लमजुङमा भने त्यसविपरित एमाले र माओवादी गठबन्धन थियो ।

जिल्लाका आठमध्ये पाँच स्थानीय तहमा एमालेले जितेको थियो । कांग्रेसले दुई र माओवादीले एक तहमा जितेका थिए ।

स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको मत समग्रमा ३४ हजार ६ सय ३३ छ । कांग्रेसले उक्त गठबन्धनभन्दा २२ सय ९६ मत कम अर्थात् ३२ हजार तीन सय ३७ भोट पाएको थियो ।

उक्त मत वाम गठबन्धनका लागि त्यति सन्तोषजनक मान्न सकिँदैन । संघ र प्रदेश निर्वाचनका लागि गरिएको नामावली संकलनमा नौ हजार चार सय ५७ मतदाता थपिएका छन् ।

लमजुङमा एक लाख १५ हजार चार सय ४९ मतदाताले आफ्नो अधिकार प्रयोग गर्दैछन् । यसअघि यो संख्या एक लाख पाँचर हजार नौ सय ९२ थियो । थपिएका नयाँ मतदाता जित-हारका लागि निर्णायक बन्ने निश्चित छ ।

माओवादी नेता गुरुङ कास्की १ बाट चुनाव लड्ने मनस्थितिमा थिए । उनको गृहजिल्ला मनाङ हो । यसपालि उनलाई लमजुङबाट उठ्न मनाएको छ, उक्त पार्टीले ।

मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा-माओवादीमा रहेका कारण गुरुङ दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा थिए । तर, संविधान जारी हुनु अगावै उनी माओवादी केन्द्र फर्किए ।

कास्की १ मा एमाले नेता खगराज अधिकारीलाई टिकट दिइने भएकाले गुरुङलाई लमजुङमा व्यवस्थापन गरिएको हो । जिल्लामा क्रियाशील नेताहरुलाई अवसर नदिई गुरुङलाई उम्मेदवार बनाइन लागेकामा स्थानीय स्तरमा असन्तुष्टि पनि देखिन्छ ।

कांग्रेसबाट तुलसीनारायण श्रेष्ठ, शंकरकान्त जोशी, चन्द्रबहादुर कुँवर र भेषबहादुर पौडेल टिकटका आकांक्षी थिए । तर, हेभिवेट उम्मेदवार दिलबहादुर घर्तीलाई उठाइन लागेको छ ।

प्रदेश क्षेत्र (क) मा उम्मेदवार बनेका एमालेका दवाडी र कांग्रेसका गुरुङ दुवै दूधपोखरी २ (साविक बिचौर गाविस)का बासिन्दा हुन् । ०७० सालको निर्वाचनमा लमजुङ-१ मा एमालेका घलेलाई जिताउन कांग्रेसका गुरुङले सहयोग पुर्‍याएको आरोप नै लागेको थियो ।

जिल्लामा यसपटक एक सय २३ मतदानस्थल तय भएका छन् । तिनमा एक सय ६५ वटा मतदान केन्द्र रहनेछन् ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि उम्मेदवारी दर्ता तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले बताए ।

‘मतदाताको अन्तिम नामावली प्राप्त भइसकेको छ, भोलिको तयारी पूरा भयो,’ उनले भने, ‘आयोगको निर्देशनअनुसार उम्मेदवारी दर्ता गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment