Comments Add Comment

अरुलाई सुुरक्षा दिने प्रहरीको तिहार खल्लो

४ कात्तिक, भैरहवा । प्रहरी हवल्दार जिलाधिस दुबेको घर जिल्ला प्रहरी कार्यालय रुपन्देहीभन्दा करिब ३-४ किलोमिटर टाढा पर्ने बेथरी भन्ने ठाउँमा छ । तर, उनी यसपालिको तिहारमा घर पुगेर दिदीबहिनीको हातबाट टीका थाप्न पाएनन् । किनकी उनी तिहारमा रमाइलो गर्नेहरुलाई शान्ति सुरक्षा प्रदान गर्न ड्युटीमा खटिएका छन् ।

मुलुकभर हर्षोल्लासका साथ आज भाइटीका पर्व मनाइरहँदा प्रहरी हबल्दार दुबे जस्तै धेरै प्रहरीको निधार रित्तो छ । शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका प्रहरीका अधिकांश कर्मचारीदेखि अधिकृतसम्मको निधार भने रित्तो भयो ।

आज भैरहवाको मिलन चोकमा ड्युटीमा खटिएका थिए प्रहरी हबल्दार दुबे । उनकै छेउमा फूल र मसलाको व्यापार भइरहेको थियो । निधार टीका र गलामा माला लगाएर हिँडेकाहरुलाई उनी एकोहोरिएर हेर्थे । नवआगन्तुकहरुलाई गन्तव्यतर्फ जाने बाटो सिकाउँथे । आफूले ड्युटी गरेकै छेउँमा बिक्री भइरहेको तिहारको माला, मसला लगायतका सामाग्री किन्न आउनेहरुलाई नियाल्थे ।

वर्षमा एकपटक आउने तिहारमा टीका लगाउन नपाउँदा उनलाई रमाइलो लागेको छ । तर त्योभन्दा बढी शान्ति सुरक्षाको व्यवस्था मिलाउने जिम्मेवारी पालना गर्नुलाई उनी पहिलो कर्तव्य ठानेका छन् उनी ।

उनी भन्छन्, ‘वर्षमा एकपटक आउने चाडपर्वमा घर जान नपाउँदा नरमाइलो त लागेको छ तर के गर्नु ? सबै प्रहरी घर गएमा नगारिकको शान्ति सुरक्षा कसले गरिदिने ? चाडपर्वभन्दा पहिला काँधमा रहेको जिम्मेवारी पूरा त गर्नुपर्‍यो ।’

दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको लागि ड्युटीमा खटिएका उनका २ जना दिदीबहिनी र छरछिमेकमा धर्म दिदीबहिनीहरु छन् । तर, उनी शान्ति सुरक्षामा खटिएकाले घर आउन नपाउने सन्देश पठाएको बताउँछन् । अब आगामी छठ पर्वमा विदा बस्ने सोच बनाएका छन् उनले ।

उनी भन्छन्, ‘अहिले भाइटीकामा घर जान नपाउँदा अलि नरमाइलो त लागेको छ तर आउने अर्को पर्व छठमा घर जान पाउने आशा छ । हेरौं के हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment