Comments Add Comment

पहिलो चरणको उम्मेदवारी दर्ता आज

५ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ ।

मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यी हुन् उम्मेदवारी दर्ता गर्दा चाहिने कागजपत्र

उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने छ ।

प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् ।

त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसैगरी दलको उम्मेदवारको हकमा दलको  औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव हुँदैछ ।

यसैगरी पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पनि पहिलो चरणमा निर्वाचन हुँदैछ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता छन् ।

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment