Comments Add Comment

भोलि चिकित्सा शिक्षा अध्यादेश ल्याउने सरकारको तयारी


५ कात्तिक, काठमाडौं । सरकारले भोलि चिकित्सा शिक्षा अध्यादेश ल्याउने तयारी गरेको छ । संसदबाट विधेयक पास गर्ने प्रयास असफल भएपछि सरकारले अध्यादेश ल्याउने गरी डा. केसीको १३ औं अनसन तोडाएको थियो ।

शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार यो अध्यादेशलाई कानुनले सहमति दिइसकेको छ ।

अध्यादेशले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउनेछ भने एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनसक्नेछ ।

लामो विवाद र बहसपछि चिकित्सा शिक्षा विधेयक तयार भएपनि संसदले पास गर्न सकेन ।

संसदीय समितिले आशय पत्र लिइसकेका मेडिकल कलेजको हकमा विधेयकले तोकेको मापदण्ड पूरा गरे सम्बन्धन दिन सकिने मापदण्ड राखेर विधेयक संसदमा पेश गरेको थियो ।

तर, संसदको कार्यकाल सकिनु केही दिन अघि शिक्षामन्त्री गोपालमान श्रेष्ठले उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने र एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने गरी संशोधन दर्ता गरे, जसको एमाले र माओवादी केन्द्रले विरोध गरे । दुई दलले संशोधन गर्ने भए समितिमा पठाउनु पर्ने सर्त राखेपछि विधेयक पास हुन सकेन ।

लगतै सरकारले आमरण अनसनमा बसेका डा. केसीसँग अध्यादेश ल्याउने सहमति गर्‍यो । त्यस अनुसार भोलि अध्यादेश ल्याइने मन्त्रालयका एक अधिकारीले बताए ।

तर, यसरी ल्याएको अध्यादेश आगामी संसदले ६० दिनभित्र पास नगरे स्वतः खारेज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment