Comments Add Comment

केटी जिस्काएको आरोपमा म्हैपीमा गोली प्रहार, २३ वर्षीया युवती मुख्य डिजाइनर

कल्याण गुरुङलाई गोली हानेर घाइते बनाउने असुन गुरुङ वायाँबाट दोस्रो ।

५ कात्तिक, काठमाडौं । आइतबार बिहान काठमाडौंको म्हैपीमा गोली चल्दा एकजना घाइते भएको घटनाकी मुख्य डिजाइनर २३ वर्षीया युवती भएको खुलेको छ । प्रहरीले यो घटनामा पक्राउ परेकामध्ये चार जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकाहरुमा चितवनको सौराहा घर भई हाल काठमाडौं महानगरपालिका १६ स्थित कुमारी क्लब छेउमा डेरा गरी बस्ने २३ वर्षीया सविना क्षेत्री समेत छिन् ।

त्यसैगरी पक्राउ पर्नेहरुमा नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय नवराज लामिछाने, काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरुङ छन् ।

पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख रविन्द्रकुमार धानुकले दिएको जानकारी अनुसार सविनालाई जिस्काएको आरोपमा असुनले गोर्खा लाप्राक ४ घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय कल्याण गुरुङलाई गोली हानेका हुन् । गुरुङको गोलीगाँठो भन्दा माथिपटि्ट गोली लागेको छ ।

प्रहरीका अनुसार गोलीकाण्डकी मुख्य योजनाकार सविना हुन् । आइतबार बिहान साढे तीन बजेतिर ठमेलस्थित एक डान्सबारबाट सविना क्षेत्री बाहिरिइन् । डान्सबारबाट सँगै निस्किएका अरु केही युवाहरुले उनलाई पछ्याए ।

आफूलाई जिस्काएको भन्दै उनले असुनलाई टेलिफोन गरेर बोलाइन् । त्यसपछि कार चढेर आएका असुनले बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार कल्याणलाई गोली हानेको प्रहरीको भनाइ छ ।

घटनालगत्तै परिचालित प्रहरीले नयाँबजारबाट असुनलाई पक्राउ गरेको छ । उनलाई ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । असुनपछि अन्यलाई पनि प्रहरीले पक्रेर सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment