Comments Add Comment

ठमेलमा साइकल र पैदलयात्रीलाई मात्रै प्रवेश अनुमति, सवारीलाई निषेध


५ कात्तिक, काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय ठमेल आइतबार दिउँसो१ बजेदेखि ‘भेहिकल फ्रि जोन’ अर्थात सवारी साधनमुक्त क्षेत्र भएको छ ।

ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र अर्थात वाकिङ स्ट्रिट बनाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखासहित स्थानीयको प्रयासमा  ‘भेहिकल फ्रि जोन’ कार्यान्वयन गरिएको हो ।

नरसिंहचोकबाट पश्चिम, जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण र ठमेलको चोकबाट पश्चिम-दक्षिणका क्षेत्र समेटेर भेहिकल फ्री जोन घोषणा गरिएको छ । यस बाहेकका ठमेल क्षेत्रका सडकलाई पनि ‘वान-वे’ गर्न लागिएको छ ।

नरसिंहचोक सातघुम्ती र जेपी स्कुलबाट पुरानो स्टार होटलसम्म ‘भेहिकल फ्रि जोन’  बनाइएको हाे ।  यो क्षेत्रमा पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनलाई प्रवेशमा रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ । साइकल भने लैजान पाइनेछ ।

अन्य सबै प्रकारका सवारीको प्रवेशमा रोक लागको छ ।  अब  सवारीमुक्त भनेर तोकिएको क्षेत्रमा अत्यावश्यक सवारी साधनमात्रै प्रवेश पाउनेछन् ।

यसबाहेक अन्य सवारी साधनलाई प्रवेश गर्न नदिइने ट्राफिक महाशाखाका प्रहरी नायब उपरीक्षक मधुसदन सिलवालले अनलाइनखबरलाई जानकारी दिए ।  ठमेल वाकिङ स्ट्रिटका रूपमा विकास गर्ने स्थानीयको योजनामा महाशाखाले सहयोग गरेको हो ।

कुन मार्ग प्रयोग गर्ने ?

अब ठमेलभित्र जाने सवारीले त्रिदेवी मार्गबाट प्रवेश पाउनेछन् । ट्राफिकले ठमेल क्षेत्रमा जथाभावी हुने पार्किङलाई पनि रोक्ने बताएको छ । वान-वेहरुमा पनि विशेष कडाइ गरिनेछ । त्यसका लागि ट्राफिकले अहिले विभिन्न ठाउँमा ट्राफिक सिग्नल राखेको छ ।

त्यहाँका पसल तथा होटलमा सामान ओसारपसार गर्ने सवारीलाई रातको १०बजेदेखि विहान ७ बजेसम्म चल्न दिइनेछ ।

भेहिकल फ्री जोनभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष व्यवस्था गर्ने योजना छ । अहिलेसम्म उनीहरुलाई कस्तो खालको सुविधा दिने भन्ने निर्णय भने नभएको महाशाखाले जानकारी दियो ।

ट्राफिकले ज्याथा, त्रिदेवी मार्ग दुईतर्फी हुने जनाएको छ । थँहिटीबाट ज्याथा आउने बाटो पनि ‘टु-वे’ गरिनेछ ।

बैशाली होटलबाट जाँदा दायाँ मोड्न पाइने छैन । क्षेत्रपाटीबाट जेपी मोड हुँदै थँहिटीसम्म पुग्न मोटरसाइकललाई टु-वे प्रयोग गर्न दिइनेछ ।

ठमेलबाट बाहिरिने मोटरसाइकलले सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवतीबहाल,अमृत साइन्स क्याम्पसमार्ग र थहिँटीबाट दाहिने भएर जान पाउने छन् ।

पार्किङ कता ?

काठमाडौं महानगरपालिकाले ठमेललाई ‘वाकिङ स्ट्रिट ‘ कार्यान्वयन गराउन मनाङ होटलदेखि काठमाडौं गेस्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्म सडक कालोपत्रे गर्दैछ ।

सवारी निषेध गरिएको क्षेत्रमा धेरै व्यापारिक स्टल र फर्महरु छन् । होटलर रेष्टुरेन्टको संख्या अधिक छ भने क्लब, हस्तकला, ट्राभल एजेन्सी, मनी एक्सचेन्ज, सजावटका पसल लगायत पनि छन् ।

ठमेल आउने नयाँबजारतर्फको रोडसहित सोह्रखुट्टे-शोभाभगवती सडक र बालाजु रिङरोडमा पार्किङको व्यवस्था मिलाउने तयारी छ ।

लैनचौरस्थित समाज कल्याण परिषदको खाली जग्गामा पनि पार्किङ गराउन वडा कार्यालयहरुले छलफल अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment