Comments Add Comment

गोरखामा बाबुराम र नारायणकाजीमध्ये को बलियो ?

मनोनयन दर्ताकै दिन दुई नेतावीच घोचपेच

५ कात्तिक, गोरखा । पहिलो चरण अन्तरगत मंसिर १० गते हुने निर्वाचनमा अहिले धेरै मानिसको ध्यान गोरखा क्षेत्र नम्बर २ तर्फ खिचिएको छ । नखिचियोस् पनि किन ? यो क्षेत्रमा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चुनावी भिडन्तमा उत्रिएका छन् ।

एउटै जिल्लाका बासिन्दा एवं माओवादी पार्टीमा शीर्षतहमा बसेका काम गरेका डा. भट्टराई र श्रेष्ठ दुबैजना वाम आन्दोलनका हस्ती एवं केन्द्रीय राजीनितिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नेताहरु हुन् । तर, अब निश्चित छ आगामी चुनावमा यी दुईमध्ये एकजना प्रतिनिधिसभामा आउन अयोग्य ठहरिने छन् ।

गोरखा २ मा ‘हेवी वेट’ नेताहरु डा. भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएकाले धेरै मानिसहरुको ध्यान यस निर्वाचन क्षेत्रमा खिचिएको छ । कतिपय मानिसहरुले यी दुबै नेताहरु आगामी संसदमा चाहिने भएकाले एकै टाउँमा नभिडे हुन्थ्यो भन्ने पनि सोचेका थिए । तर, त्यो ईच्छाविपरीत श्रेष्ठ र भट्टराई एकले अर्कालाई हराउने अभियानमा लागेका छन् ।

दुई नम्बर क्षेत्रअन्तरगत पालुङटारका बाबुराम र जौवारीका नारायणकाजी बीचको बहुप्रतिक्षित भिडन्तलाई दुवै पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

गोरखा-२ मा डा. बाबुराम भट्टराईलाई समर्थन गर्न माओवादी केन्द्रले नमानेपछि बाम गठबन्धनमा बाहिरिएर उनी कांग्रेससँग सहकार्य गरी प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन् । यसबापत क्षेत्र नम्बर १ र चारवटै प्रदेशमा नयाँ शक्तिले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नेछ ।

गोरखा क्षेत्र नम्बर २ भित्र पर्ने स्थानीय तहहरुमा पार्टीहरुले पाएको मतको हिसाव गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच खासै फरक छैन

गोरखाका साविकका २ नम्बर क्षेत्र र साविकको ३ नम्बर क्षेत्रको आधा क्षेत्र समावेश गरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ तय भएको छ । गोरखाका जिल्लामा कुल १ लाख ८९ हजार ४४८ मतदाता छन् । क्षेत्र नम्बर २ मा ९० हजार ८२६ मतदाता छन् । गोरखा-२ का प्रदेश ‘क’ मा ४३ हजार ५७५ र प्रदेश ‘ख’ मा ४७ हजार २५१ मतदाता छन् ।

स्थानीय चुनावका आधारमा को कति बलियो ?

गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा गोरखा क्षेत्र नम्बर २ भित्र पर्ने स्थानीय तहहरुमा पार्टीहरुले पाएको मतको हिसाव गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच खासै फरक छैन ।

गोरखा २ मा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन जम्मा १३२ मतले मात्रै अगाडि देखिन्छ । तर, अबको चुनावमा उम्मेदवारको व्यक्तित्वका कारण स्थानीय चुनावको भन्दा केही फरक परिणाम आउन सक्ने अनुमान गरिएको छ ।

गत स्थानीय चुनावमा नेपाली कांग्रेसले यस क्षेत्रमा कुल १७ हजार ७० मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले १७ हजार ८९४ मत पाएको थियो । त्यस्तै नयाँ शक्तिले ७ हजार ९०० र नेकपा एमालेले ७ हजार २०८ मत पाएको थियो ।

स्थानीय चुनावको यो मतका आधारमा हेर्दा कांग्रेस र नयाँशक्तिको कुल मत २४ हजार ९७० हुन्छ भने माओवादी र एमालेको २५ हजार १०२ मत हुन्छ ।

गोरखा-२ मा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, सुलीकोट गाउँपालिका तथा गोरखा नगरपालिकाका ८ देखि १४ वडा समावेश छन् ।

पालुङटार नगरपालिमा गत स्थानीय चुनावमा कांग्रेसले ४ हजार ६९८ मत पाएको थियो । माओवादी केन्द्रले ४ हजार ४९१, एमालेले २ हजार ४१० र नयाँ शक्तिले ३ हजार ९७६ मत पाएका थिए ।

सिरानचोक गाउँपालिकामा कांग्रेसले ३ हजार ४०२ मत पाएको थियो भने एमालेले १ हजार ७४०, माओवादी केन्ऽले ३ हजार २३५ र नयाँ शक्तिले १ हजार ४३१ मत पाएका थिए ।

त्यस्तै अजिरकोट गाउँपालिकामा कांग्रेसले ३ हजार ३३, एमालेले ३ सय ४७, माओवादी केन्द्रले २ हजार ७०२ र नयाँ शक्तिले १ सय ५० मत पाएका थिए ।

सुलीकोट गाउँपालिकामा कांग्रेसले ३ हजार २२, माओवादीले ४ हजार ६५९, एमालेले ८ सय ८५ र नयाँ शक्तिले १ हजार १६ मत पाएका थिए ।

गोरखा नगरपालिकाको वडा नम्बर ८ मा कांग्रेसले ४९८, एमालेले ४०५, माओवादीले ४३९ र नयाँशक्तिले ४५५ मत पाएका थिए । वडा नम्बर ९ मा कांग्रेसले ४६७, एमालेले १७५, माओवादीले ३६६ र नयाँ शक्तिले १७७ मत पाएका थिए ।

वडा नम्बर १० मा कांग्रेसले ३६७, एमालेले ३७३, माओवादीले ३०९ र नयाँ शक्तिले १८२ मत पाएका थिए । वडा नम्बर ११ मा कांग्रेसले ३४७, एमालेले ३२७, माओवादी केन्द्रले ४२८ र नयाँ शक्तिले ६८ मत पाएका थिए ।

यस्तै वडा नम्बर १२ मा कांग्रेसले ५३६, एमालेले १२२, माओवादीले ४८७ र नयाँ शक्तिले २१ मत पाएका थिए । वडा नम्बर १३ मा कांग्रेसले ४०४, एमालेले ९७, माओवादी केन्द्रले ५६४ र नयाँ शक्तिले ३२८ मत पाएका थिए ।

र, वडा नम्बर १४ मा कांग्रेसले २९६, एमालेले ३२७, माओवादीले २१४ र नयाँ शक्तिले ९६ मत पाएका थिए ।

बाबुरामको आधार

पहिलो संविधानसभा निर्वाचनमा डा. भट्टराईले नेकपा माओवादीबाट सबैभन्दा लोकप्रिय मत हासिल गर्दै विजय हासिल गरेका थिए । त्यसयता ०७० को दोस्रो संविधानसभामा क्षेत्र नम्बर १ बाट पनि माओवादीबाटै चुनाव जितेका भट्टराईले अहिले कांग्रेसको समेत साथ पाएका छन् ।

उम्मेदवारी दर्ता गराएपछि नयाँशक्तिका बाबुराम भट्टराई कांग्रेस नेता चिनकाजी श्रेष्ठ लगायतसँग । तस्वीर: विकास मरहट्ठा/अनलाइनखबर

स्थानीय चुनावको मतपरिणाम हेर्दा नयाँ शक्तिको संगठनात्मक भोटले मात्रै एमाले र माओवादी गठबन्धनलाई जित्न कठिन छ । तर, संगठनात्मक भोट कम भए पनि भट्टराई ‘हेवी वेट’ नेता हुन् । र, ग्रामीण क्षेत्रमा उनको क्रेज अझै उस्तै देखिन्छ ।

तथापि थोरै मतदाता रहेको पार्टीका उम्मेदवारका लागि धेरै मतदाता रहेको पार्टीको सबै मत खस्ने सम्भावना कम रहने हुनाले बाबुरामका लागि यो चुनाव चुनौतीपूर्ण हुने देखिन्छ ।

गत स्थानीय चुनावमा सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८ र १३ बाट पनि नयाँ शक्तिले सम्मानजनक मत पाएको थियो । यो बाबुरामका लागि केही सकारात्मक संकेत हो । तर, बाम गठबन्धनबाट चुनावमा जाने निर्णय र साता नवित्दै कांग्रेससँगको तालमेलले बाबुरामलाई केही अप्ठेरोमा पारेको भने पक्कै छ ।

तर, यो चुनावमा बाबुरामको व्यक्तित्वले प्रभाव पार्न सक्ने कतिपयको विश्लेषण छ । अर्को थरीको मत के छ भने माओवादी छाडेर नयाँशक्ति खोलेको अनि कहिले वाम त कहिले कांग्रेससँग तालमेल गर्न पुगेका कारण बाबुरामको लोकपि्रयता खस्किएको छ ।

विगतमा कांग्रेस र नयाँशक्तिवीच तीतो सम्बन्ध रहेकाले त्यसको असर यो चुनावमा पर्न सक्ने र वामपन्थी एवं कांग्रेसहरुले बाबुरामलाई भोट नदिने दाबी एमाले र माओवादी केन्द्रका नेताहरुको छ । यसका साथै गोरखा जिल्ला वाम जनमत भएको ठाउँ भएकाले वाम गठबन्धनले नै जित्ने दाबी बाबुरामका विपक्षीहरुको छ ।

नारायणकाजीको आधार

स्थानीय चुनावको मतलाई आधार मानेर विश्लेषण गर्दा माओवादी केन्द्र एक्लै पनि नेपाली कांग्रेसको हाराहारीमा देखिन्छ । यसमा एमालेको समेत मत थपिँदा नारायणकाजीको पल्ला स्वतः भारी हुने विश्लेषण माओवादीको छ

माओवादीको आधार इलाकाको रुपमा परिचित गोरखा, दुई वर्षअघि बाबुरामले पार्टी छाडेसँगै स्थानीय चुनावमा निक्कै कमजोर देखियो । गोरखाका ११ मध्ये ९ स्थानीय तहमा कांग्रेसले जित्यो ।

सिरानचोक गाउँपालिका जौबारी घर भएका नारायणकाजीले यस क्षेत्र जित्ने मुख्य आधार भनेको सुलीकोट र सिरानचोक गाउँपालिकाको मत हो । सुलीकोटमा स्थानीय तह माओवादीले जितेको छ भने सिरानचोक नारायणकाजीको आफ्नै गृहनगर हो ।

त्यसो त बाबुरामको प्रभाव रहेको भनिएको पालुङटार नगरपालिकामा पनि माओवादीले स्थानीय चुनावमा नयाँ शक्तिले भन्दा ५ सय मत बढी र कांग्रेस भन्दा २ सय मत कम पाएको थियो । तथापि अहिले बाबुराम आफैं चुनाव लड्दाखेरि स्थानीय चुनावको मत हेरफेर हुन सक्छ ।

गोरखा नगरपालिकाका ७ वडामध्ये स्थानीइ चुनावमा २ वटामा एमाले र २ वटामा माओवादीले जितेको छ । वडा नम्बर १० र १४ मा एमाले तथा ११ र १३ मा माओवादीले जितेको छ भने ७ मध्ये ५ वडामा एमाले माओवादीको मत जोड्दा कांग्रेस र नयाँशक्तिको मतभन्दा बढी छ ।

स्थानीय चुनावको मतलाई आधार मानेर विश्लेषण गर्दा माओवादी केन्द्र एक्लै पनि नेपाली कांग्रेसको हाराहारीमा देखिन्छ । यसमा एमालेको समेत मत थपिँदा नारायणकाजीको पल्ला स्वतः भारी हुने विश्लेषण माओवादी निकट नेताहरुको छ ।

यसका साथै नारायणकाजी आफैं पनि गोरखाकै बासिन्दा हुनु, उनले सादगी नेताको छवि बनाउनु र वाम एकतामा महत्वपूर्ण भूमिका खेलेको नेता भएकाले व्यक्तित्वको प्रभावले समेत थप भोट तान्न सक्ने बुझाइ माओवादी कार्यकर्ताहरुको छ ।

जे होस् गोरखा क्षेत्र नम्बर २ मा एमालेको साथ लिएर लड्न लागेका माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको साथ लिएर लड्न लागेका पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईवीचको प्रतिस्पर्धा निकै रोचक र घोचक हुने कुरामा अब कुनै शंका रहेन ।

दुबै नेताहरुले आइतबार मनोनयन दर्ताका क्रममा एकअर्काप्रति प्रहार गरेका शब्दवाणले नै प्रष्ट पारिसकेको छ कि गोरखा २ को चुनाव रोचक घोचक मात्रै होइन, दुःखद एवं भीडन्ततर्फ उन्मूख हुने ‘रिस्क’ पनि उत्तिकै छ । विगतको स्थानीय चुनावमा पनि यहाँ झडप र कुटाकुटका घटना भएका थिए ।

यो पनि पढ्नुहोस् 

गोरखाबाट कांग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भयोः बाबुराम

खिचडी गठबन्धनबिरुद्ध समान्य जितले मात्र पुग्दैनः नारायणकाजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment