Comments Add Comment

गोरखामा उत्साहपूर्वक मनोनयन दर्ता

५ कात्तिक, गोरखा । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गोरखाका दलहरुले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ लगायतले बाजागाजा र र्‍यालीसहित मनोनयन दर्ता गरे ।

माओवादी केन्द्रका श्रेष्ठ बाजागाजा सहित वामगठबन्धनको र्‍याली लिएर करिव एक बजेतिर मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

श्रेष्ठका प्रस्तावक माओवादी केन्द्रका बिकास वाग्ले रहे भने समर्थक एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ छन् । श्रेष्ठ वामगठवन्धनको तर्फबाट गोरखा क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन् ।

श्रेष्ठ मनोनयन दर्ता गरेर र्फकेलगतै उनका प्रतिद्वन्द्वी भट्टराइ करिव तीन बजेतिर निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगे । कांग्रेससँग तालमेल गरेको नयाँ शक्तिले संयुक्त रुपमा निकालिएको बाजागाजा सहितको र्‍यालीसँगै भट्टराइ मनोनयन दर्ता गराउन कार्यालय पुगेका थिए ।

भट्टराइको प्रस्तावक नयाँ शक्तिका रमेश पोखरेल छन् भने समर्थक कांग्रेस जिल्ला सभापति हरि घले रहेका छन् । भट्टराइ गोरखा क्षेत्र नम्वर २ को प्रतिनिधी सभा सदस्यको कांग्रेस र नयाँ शक्तिको साझा उमेदवार हुन् ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले पनि गोरखा क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्वर २ मा कांग्रेसले नयाँ शक्तिका भट्टराइलाई सघाउने भएपछि नयाँ शक्तिले क्षेत्र नम्वर १ मा श्रेष्ठलाई सघाउने सहमति भएको छ ।

श्रेष्ठका प्रस्तावक नेपाली कांग्रेसका जिवनप्रेम श्रेष्ठ रहेका छन् भने समर्थक लक्ष्मण गुरुङ छन् । उनका प्रतिद्वन्द्वीका रुपमा वाम गठवन्धनको तर्फबाट माओवादी केन्द्रका हरि अधिकारी चुनाव लड्दैछन् ।

त्यस्तै प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यका लागि अन्य दलहरुले पनि मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका लागि वाम गठवन्धनलाई दिउँसो एक बजेदेखि तीन बजेसम्म र कांग्रेस-नयाँ शक्ति गठवन्धनका लागि तीन बजेदेखि पाँच बजेसम्म समय तोकिएको थियो ।

जित सुनिश्चित भएको उम्मेदवारहरूको दावी

हेभी वेटका नेताका रुपमा रहेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइ र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ दुवैले आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् । मनोनयन दर्ता लगत्तै पत्रकारसँगको भेटघाटमा प्रतिक्रिया दिँदै भट्टराइले नेपालको राजनीतिक एजेण्डा फेरिएको भन्दै कांग्रेससँग चुनावी तालमेल गरेको बताए ।

नेपालको अबको मुख्य एजेण्डा बिकास र समृद्धि रहेको र त्यसको लागि राजनीतिक स्थायित्व चाहिने भन्दै अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुपले एक दललाई मात्र पूर्ण बहुमत दिने सम्भावना नरहेकाले बिचार मिल्ने दलसँग मिल्नु कुनै नयाँ कुरा नभएको उनको तर्क छ । निर्वाचनमा जनताले बहुमतका साथ आफूलाई विजय गराउने उनले दावी गरे ।

यता माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले पत्रकारसँग कुरा गर्दै लामो सयमदेखि क्रान्तिकारी वामपन्थीको किल्ला गोरखा भएपनि पार्टी भित्रकै समस्याका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षा अनुसार मत आउन नसकेको भन्दै अहिलेको वामपन्थी एकता नै जित सुनिश्चितको मुख्य पाटो रहेको बताए । साथै आफूहरु जस्तो उच्च मनोवल अरुमा नरहेको बताउँदै श्रेष्ठले आफ्नो जित सुनिश्चित भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment