Comments Add Comment

पहिलो चरणको उम्मेदवारी दर्ता उत्साहजनक, चुनाव चिह्न वितरण ८ गते

५ कात्तिक, काठमाडौं । पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार शान्तिपूर्ण रुपमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरी प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको काम उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी गराए ।

उनले उम्मेदवार मनोनयनको काम तोकिएकै मितिमा शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न गरेकोमा सम्पूर्ण राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुप्रति आभार व्यक्त गरे ।

आइतबार मनोनयन गरेका उम्मेदवारहरुलाई आगामी कात्तिक ८ गते निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले स्विकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानविन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने यादवले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको व्यवहार गर्न/गराउन पनि सरकार, राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आहृवान गरेको छ । सबै राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्वाचन प्रचार प्रसारका क्रममा निर्वाचन चिन्ह अंकित टोपी, टिसर्ट, गम्छाजस्ता सांकेतिक सामग्रीहरु उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाइका साथ रोक लगाउन पनि सम्बन्धित पदाधिकारीहरुलाई निर्देशन दिइसकेको छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा प्रदेश सभा र प्रतिनिधि निर्वाचन ३२ वटा जिल्लामा हुँदैछ । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणको निर्वाचन हुँदैछ । प्रदेश सभा र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन भने मंसिर २१ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment