Comments Add Comment

खाना खान होटल रेष्टुराँ जाँदै हुनुहुन्छ ? अब लोगो हेरेर मात्र छिर्नुस्

९ कात्तिक, काठमाडौं । सरकारले होटल तथा रेष्टुराँ क्षेत्रलाई स्वच्छ र गुणस्तर हेरेर बर्गीकरण गर्ने लागेको छ । सर्वसाधारण छिर्ने यस्ता होटल, रेष्टुराँले गुणस्तर र स्वच्छतामा हेलचेक्रयाइँ गर्न थालेपछि त्यसलाई नियमन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बर्गीकरणको गर्न लागेको हो ।

विभागले लोगो प्रमाणपत्रका आधारमा यस्ता खाद्य व्यवसायलाई नियमन गर्न लागेको हो । विभागले होटेल, रेष्टुराँ, भोजनालय, मिठाई पसल, चिया पसल, क्याफे, क्याटरिङ, होष्टेल एवम् क्यान्टिन र सोही प्रकृतिका अन्य खाद्य व्यवसायहरूलाई स्तर छुट्याएर उपभोक्तामैत्री रुपमा बर्गीकरण गर्न लागेको छ ।

विभागले तयार गरेको खाद्य स्वच्छताको आधारमा होटल रेटुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका-२०७४ कृषि विकास मन्त्रालयबाट पारित भएसँगै यस्ता खाद्य व्यवसायलाई बर्गीकरण गर्ने बाटो खुलेको हो । निर्देशिका पारित भएसँगै अब ठूला पाँचतारे होटलदेखि चियापसलसम्म पनि पनि खाद्य स्वच्छताका आधारमा बर्गीकरणमा पर्ने भएका छन् । खाद्य नियमावली, २०२७ को नियम ३३ (क) ले दिएको अधिकार प्रयोग गरी विभागले निर्देशिका तयार गरेको थियो ।

यसअघि राजमार्ग क्षेत्रका होटलहरुमा स्टीकरको व्यवस्था गरिए पनि कार्यान्वयन भएको छैन । पटक-पटकको बजार अनुगमनबाट आशातित परिवर्तन हुन नसकेपछि विभागले निर्देशिकामार्फत नियमन गर्न लागेको हो ।

निर्देशिका कार्यान्वयनमान आएसँगै अब प्रचलिन कानूनबमोजिम दर्ता भएका होटेल रेष्टुराँले तारा चिहृनसहितको स्तरीकरण लोगो राख्नुपर्नेछ । सम्बन्धित होटेल रेष्टुराँले लोगो प्राप्तिका लागि दिएको निवेदनका आधारमा विभागको अनुगमन टोलीले मूल्याङ्कन गरी स्वच्छताका आधारमा स्तरीकरण गर्नेछ ।

विभागले कानूनबमोजिम सञ्चालनमा रहेका खाद्य व्यवसायलाई स्तर निर्धारणको मापदण्ड र आधारबमोजिम अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार तहमा बर्गीकरण गरेर खाद्य स्वच्छता स्तरीकरण लोगो दिनेछ ।

चिन्नुहोस् कुन उत्तम ?

निर्देशिकामा होटल रेष्टुराँको बर्गीकरणका लागि ५० वटा प्रश्नावली उल्लेख छ । उक्त प्रश्नावली र तोकिएको शर्तअनुसार बढी अंक ल्याउने व्यवसायले अतिउत्तम, उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्र लोगो पाउनेछन् ।

अतिउत्तम श्रेणीको होटेल रेष्टुराँले तीन वटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टीकर पाउनेछ । यो लोगोे पाउन होटेल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ ।

त्यस्तै, उत्तम श्रेणीको खाद्य व्यसायले दुई वटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टीकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दा माथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ ।

यसैगरी मध्यम श्रेणी (सन्तोषजनक) को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटेल रेष्टुराँले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । यो श्रेणीलाई विभागले ‘मध्यम’ उल्लेख गरेर मन्त्रालय पठाए पनि मन्त्रालयले यसलाई ‘सन्तोषजनक’ श्रेणीमा राखेर स्वीकृत गरेको छ ।

सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । विभागले यो श्रेणीलाई सन्तोषजनक स्तरमा राखेपनि मन्त्रालयबाट स्वीकृत हुँदा यसलाई ‘सामान्य’ श्रेणीमा राखेर स्वीकृत गरिएको छ ।

व्यवसायीले लोगोको प्रकृतिबमोजिम प्रतिवद्धता जाहेर गरेरमात्र स्तरीकरण लोगो पाउनेछन् । लोगो प्रमाणपत्रको अवधि एक वर्षको हुने निर्देशिकामा उल्लेख छ । प्रमाणपत्र पाइसकेपछि पनि स्तरअनुसारको खाद्य स्वच्छता कायम नगर्ने व्यवसायीको लोगो प्रमाणपत्र जफत, परिवर्तन वा फिर्ता हुनसक्ने व्यवस्था छ ।

लोगो प्राप्त गर्ने होेटल रेष्टुराँको पुनः निरीक्षण पनि हुनेछ । जसमा अतिउत्तम प्रकृतिको खाद्य व्यवसायका हकमा एक वर्ष र त्यसभन्दा तल्लो श्रेणीकाको हकमा प्रत्येक छ महिनामा पुनः निरीक्षण गर्ने व्यवस्था निर्देशिकामा छ । अनुगमन र निरीक्षणका क्रममा कैफियत देखिए एक महिना सुधारको मौका दिने र उक्त अवधिमा पनि सुधार भएको नपाइए श्रेणीअनुसार एक तह घटुवा गर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । लोगो प्रमाणपत्र पाउने खाद्य व्यवसायीले म्याद सकिएको तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रमा विभागका महानिर्देशकको संयोकत्वमा निजी क्षेत्रसमेत संलग्न नौ सदस्यीय खाद्य स्वच्छता निर्देशक समिति गठन गर्ने व्यवस्था छ ।

त्यस्तै, स्थानीय स्तरमा सञ्चालित खाद्य व्यवसायको हकमा स्थानीय स्तरमै स्थानीय तहका जनप्रतिनिधि सम्मिलत खाद्य स्वच्छता समूह गठन गरी त्यसैमार्फत नियमन गर्ने व्यवस्था निर्देशिकामा छ ।

निर्देशिकामा होटल रेष्टुराँको स्तरीकरण गर्दा बाहिरी परिधिको सरसफाईको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्य वस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादीको प्रयोग र भण्डारण र ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको कसीमा राखिने उल्लेख छ ।

त्यस्तै, पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपहरूको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्था लगायत पनि मूल्यांकन मापदण्डमा उल्लेख छ ।

त्यस्तै, धुम्रपान, थुक्ने निषेध गरिएरनगरिएको, कर्मचारीको व्यक्तिगत सरसफाई, आवश्यक तालिम लगायत मापदण्डका आधारमा लोगो प्रदान गरिने निर्देशिकामा उल्लेख छ ।

विभागका महानिर्देशक सञ्जीव कर्णले निर्देशिका स्वीकृत भएसँगै अब कार्यान्वयनका तहमा लैजाने बताए । ‘अब स्थानीय तहमासमेतमा अन्तक्रिर्या गरेर कार्यान्वयनमा जानेछौं,’ उनले भने । निर्देशिकाका सम्बन्धमा व्यापक जनचेतना आवश्यक रहेको उनले बताए । यसका लागि स्थानीय तहमा विभिन्न समिति गठन गर्ने र प्राविधिक जनशक्ति तयार गर्ने तयारी भइरहेको उनले बताए ।

यसअघि करीव छ वर्ष पहिले सरकारले राजमार्गका होटल तथा रेष्टुराँलाई व्यवस्थित गर्न यस्तै बर्गीकरणको तयारी गरे पनि कार्यान्वयन आउन सकेको थिएन । अहिले भने त्यसैलाई व्यापक र परिष्कृत रुपमा निर्देशिका तयार गरिएको विभाग बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment