Comments Add Comment

प्रदेश ५ मा एमालेको मुख्यमन्त्री उम्मेदवार शंकर पोखरेल !

९ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रदेश ५ को मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा जान नेता शंकर पोखरेललाई प्रस्ताव गरेको छ । यसले कृष्णबहादुर महरा र पोखरेलको चुनाव क्षेत्र विवाद पनि टुंगिनेछ ।

माओवादी नेता महरा र एमाले नेता पोखरेल दुबैले प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट दाङ क्षेत्र नम्बर २ बाट चुनाव लड्न चाहेका छन् ।

दुई दलको कार्यदलस्तरमा यो विषयमा सहमति हुन नसकेपछि शीर्ष तहमा पठाइएको छ ।

एमाले स्रोतका अनुसार पूर्वसचिव समेत रहेका पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्रीको उम्मेदवार बन्ने गरी प्रदेशसभामा जान प्रस्ताव गरिएको छ । एक नेताले भने, ‘यो प्रदेशबाट अरु शीर्ष नेताहरु प्रदेशमा नजाने भएपछि उहाँलाई प्रस्ताव गरिएको हो । उहाँले सहमति दिन बाँकी छ ।’

एमाले नेतृत्व भने पोखरेललाई मुख्यमन्त्रीका रुपमा प्रदेशमा पठाउन सहमत छन् ।

प्रदेश ५ बाट एमालेमा उपमहासचिव विष्णु पौडेलसँगै गोकर्ण विष्ट लगायतका नेताहरु पनि छन् । तर, पौडेल प्रदेशमा जान तयार छैनन् । सचिव गोकर्ण विष्ट पनि गुल्मीबाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारीमा छन् ।

त्यसैले नेता व्यवस्थाको समस्या पनि टर्ने र मुख्यमन्त्रीको बलियो उम्मेदवार हुने भन्दै एमाले नेतृत्वले पोखरेललाई प्रदेशसभामा जान प्रस्ताव गरेका हुन् ।

पोखरेलले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै पार्टी हाइकमाण्डबाट प्रस्ताव आएको स्वीकार गरे । यो आफूले चाहेको नभई नेताहरुको व्यवस्थापनका लागि पार्टी नेतृत्वले प्रदेशसभामा जान प्रस्ताव ल्याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment