Comments Add Comment

प्रकाशमान र रविन्द्र मिश्रसँग शम्भु थापा भिडाउने एमालेको तयारी

स्थानीय तहमा वाम गठबन्धनको मत कांग्रेस भन्दा २ हजार बढी

१० कात्तिक, काठमाडौं । काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँगको प्रतिस्पर्धामा एमालेले बरिष्ठ अधिवक्ता शम्भु थापालाई अघि सार्ने भएको छ ।

काठमाडौं १ मा पार्टीको क्याडर भन्दा स्वतन्त्र छविको व्यक्तित्व अघि सार्दा चुनाव जित्न सहज हुने ठहर गर्दै एमालेले शम्भु थापा रोजेको हो । नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष थापालाई एमालेका शीर्षनेताहरुले उम्मेदवार बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ नम्बर वडा समेटिएको यो क्षेत्रमा दुई पटक कांग्रेस नेता प्रकाशमान सिंहले भारी मतान्तरमा जित्दै आएका छन् । स्थानीय तह चुनावमा एमालेले ३१ नम्बर वडा जितेको थियो भने अरु तीन वडा कांग्रेसले जितेको थियो ।

समग्र मतमा कांग्रेसले चार वडाबाट वडाध्यक्षमा पाएको मत ८ हजार ८४२ रहेको छ । त्यस्तै एमालेले कांग्रेसको हाराहारी ८ हजार ७ सय १७ मत पाएको थियो । माओवादीले पाएको २ हजार २७४ मत जोड्दा बामपन्थी गठबन्धनको कांग्रेसको भन्दा २ हजार बढी १० हजार ९९१ हुन्छ ।

तर, काठमाडौं क्षेत्र नम्बर १ नेपाली कांग्रेसको बलियो पकड रहेको निर्वाचन क्षेत्र मानिँदै आएको छ । यो क्षेत्रबाट कांग्रेस नेता प्रकाशमान सिंहले लगातार जित्दै आएका छन् ।

कांग्रेस र वामपन्थी मत नै रविन्द्र मिश्रले पाउने हुन् । यहाँ एमालेले शम्भु थापा उठाउँदा बौद्धिक र स्वतन्त्र मत समेत तान्न सकिने विश्लेषण गरेर उनलाई आग्रह गरेको हो । थापाले भने जवाफ दिइसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment