+
+

अमर न्यौपानेः पहिले चाउचाउ, अहिले मःम

खसीको मासु पकाउने विशेष पाककला छ, यी आख्यान लेखकसँग

शिव मुखिया शिव मुखिया
२०७४ कात्तिक ११ गते १०:४२

११ कात्तिक, काठमाडौं । स्वयम्भु नाम्ग्याल चोकमाथिको हरियो डाँडामा सिरसिर हावा चलिरहेको थियो । काठमाडौं शहरको गञ्जागोल छिचोलेर हामी नाम्ग्याल गुम्बाको जंगलमा पुगेका थियौं ।

एउटा सानो चिया पसलमा ‘मिल्क टी’ अर्डर गर्‍यौं ।

‘मलाई मनपर्ने खाना सोध्नुहुन्छ भने मःम हो,’ आख्यानकार अमर न्यौपानेले भने ।

मःम भनेकै बफ हो । बफ भनेकै मःम हो । हामीले त्यस्तै बुझेका थियौं । तर, ‘सेतो धरती’का लेखक अमरको जिब्रो भने बफ मःममा अभ्यस्त रहेनछ ।

‘पाएसम्म मटन मःम नै स्वादिलो,’ उनले भने, ‘अहिले पनि तपाइर्ंसँग मःम खाँदै गफ गरौंला भनेर पर्खेको थिएँ ।’

अहिले मटन मःमले लोभ्याए पनि उनले मःमको श्रीगणेश भने बफबाटै सुरु गरेका हुन् कि भन्ने शंकाको निवारण भने भएकै रहेनछ ।

‘त्यसबेला मःम त खाइयो तर त्यो केको थियो,’ उनी अलमलिए, ‘ठ्याक्कै थाहा भएन ।’

१० कक्षा पढ्दा बजार घुम्न गएका थिए, त्यहीबेला मःमको फेला परे, उनी । साथीले ‘क्या मिठो हुन्छ खाउँ’ भनेपछि अमर पनि तम्सिहाले । नयाँ परिकार । स्वाद थाहा छैन । होटेलमा छिरे । मःम मगाए । केको मःम ? सोधेनन् । कपाकप खाइदिए । तर, त्यो ठुस्स गन्हाउने स्वाद उनलाई रुचिकर लागेन । साथीले ‘दामी हुन्छ’ भने पनि उनले केही डल्ला प्लेटमै छाडे ।

‘सायद त्यो बफ नै थियो कि ?’ उनले संशय व्यक्त गरे ।

चाउचाउको भोज

स्कुले जीवनमा भुटेको मकैले भोक टार्नुपर्थ्यो । मकैसँग मोही पनि । यदाकदा गहुँको रोटी पनि खान पाइन्थ्यो । तर, विद्यालयबाट भोकले लखतरान भएर घर फर्कंदा आमाले मकै भुटेर राखिदिएकी हुन्थिन् ।

हत्तपत्त मकै खल्तीमा हाल्यो, भैंसी चराउन निस्कियो ।

‘अहिलेजस्तो स्कुलमा टिफिन लाने, पकेट खर्च बोक्ने चलन थिएन नि,’ अमरले भने, ‘त्यसबेला जंकफुड पनि त्यति पाइँदैनथ्यो ।’

पहिलो पटक उनको जिब्रोले चाउचाउको स्वाद लिएको पाँच कक्षामा पढ्दा हो ।

‘गड्यौलाजस्तै लागेको थियो,’ उनले सम्झिए, ‘हेर्दा घिन लागे पनि खाँदा मिठो भयो ।’

त्यसबेला चाउचाउ खान पाउनु उत्सवजस्तै हुने । कतिसम्म भने उनीहरुले एक पटक चाउचाउको भोज नै आयोजना गरे ।

छ कक्षामा पढ्दा उनीहरुले चाउचाउको पिकनिक नै गरे । सबै साथीभाइ मिले । १/१ प्याकेट चाउचाउ किने । अनि, भव्य भोज गरे ।

‘ओहो, त्यसबेला त चाउचाउ खाइरहन पाएहुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भने ।

कोकको क्रेज

सात कक्षामा पढ्दा शैक्षिक भ्रमणका सिलसिलामा अमर कोक फ्याक्ट्री पुगेका थिए । त्यहीं हो, पहिलो पटक कोकको स्वाद चाखेको । त्यसअघि कोक सुनेका/देखेका थिए । तर, पिएका थिएनन् ।

अमरले भन्दा पहिले आमाले कोकको स्वाद लिएकी रहिछन् । चितवनस्थित घरबाट काठमाडौं आउँदा ।

‘आमा ग्यास्ट्रिकको रोगी, कोक पिएपछि ढ्याऊ आउँछ नि, सोडाले गर्दा,’ अमरले सुनाए, ‘उहाँलाई ग्यास्टि्रक ठीक भएजस्तो लागेछ ।’

आमा भन्नुहुन्थ्यो रे, ‘यो कोक पिइरहन पाए त गानो जाति हुन्थ्यो कि !’

अमरको मनमा कौतुहल थियो, कोकचाहीं कस्तो हुँदो हो । अन्ततः उनले सात कक्षामा पुगेपछि पहिलो पटक त्यसको स्वाद चाखे । त्यो पनि एउटा बोतल साथीसँग सेयर गरेर ।

‘सिंगो बोतल किनेर खान सकिँदैनथ्यो,’ उनले भने ‘म सोच्थें, पछि धनी भएँ भने कोक पिइरहन्छु ।’

हुम्लाको आरख

उपन्यास लेखनको सिलसिलामा अमर तीन महिना हुम्लामा पाहुना लागे । त्यहाँको चलन के भने साँझ परेपछि अलिकति आरख लिनैपर्ने । आरख अर्थात्, जडिबुटी मिसाएर बनाएको लोकल रक्सी ।

‘कोही खच्चड धपाएर आएका, कोही भेंडा धपाएर आएका । सबै थाकेका हुने । यसो रातिचाहीं थकान मेट्न आरख खाने रहेछन्,’ अमरले सम्भिmए, ‘उनीहरुको संगतमा हुम्लामा रहँदा मैले पनि आरख पिएँ, हरेक साँझ ।’

आरख पिएपछि थकान मेटिने, राति मस्त निन्द्रा लाग्ने । बिहान ज्यान चंगा ।

बिहान उठेपछि नौनी र नुन मिसाएको चिया पिउनुपर्ने । ४/५ कप पिउँदा पनि धित नमर्ने ।

‘त्यहाँको लोकल खानेकुरामा म निकै रमाएँ,’ उनले भने, ‘तर, त्यो ठाउँ छाडेपछि ती सबै खानेकुराको स्वाद जिब्रोमा बोकिएन ।’

अर्थात्, काठमाडौं आएपछि उनलाई आरखको तलतल लागेन । विदेश भ्रमणमा रहेका बेला साथीहरुले पिलाउने महँगा रक्सीको स्वाद पनि उनले उतै छाडे । कुनै पनि खानेकुराप्रति उनको आशक्ति रहेन, कहिल्यै । त्यसैले उनको मेनुमा कुनै विशेष खाना छैन, जसलाई उनी त्याग्नै सक्दैनन् ।

उनले यसलाई खानपान संस्कृतिको एउटा दर्शन नै भनिदिए । कुनै पनि कुरामा आशक्ति नराख्ने । जे छ, खाने । जे भेट्यो, नाइँनास्ती नगर्ने । तर, त्यसमा आशक्ति नराख्ने । तलतल नलाग्ने ।

सानैदेखि भान्से

केटा भए पनि सानै उमेरदेखि अमरले डाडुपन्यु खेलाउनुपर्‍यो । चुलोचौकासँग उनको घनिष्ठता बढ्यो । स्कुल पढ्दा होस् वा डेरा गरेर बस्दा, आफैं पकाउँथे । त्यो सिलसिला आजसम्म जारी छ ।


अहिले पनि उनी आफैं पकाउँछन् । भाँडावर्तन सफा गर्न उत्तिकै जाँगर चल्छ । लौका वा पाकेको फर्सीको तरकारी औधी रुचाउँछन् ।

‘त्यसलाई विस्तारै गल्न दिनुपर्छ र ग्रेभी बनाउनुपर्छ,’ अमरले रसिलो शैलीमा थपे, ‘मलाई त त्यही ग्रेभीसँग भात मजाले रुच्छ ।’

प्रायः उनको भान्सामा दाल पाक्दैन । यद्यपि, अमरको स्वभाव छ, खानामा कहिल्यै गुनासो नगर्ने । मीठो भए नि ठीकै, नमीठो भए पनि ठीकै । उनी आफ्नो अगाडि आएको खानेकुरा स्वाद मानेर खान्छन् ।

रेसेपीमा खसीको भुटुवा

भनिहालियो, अमर खानाका पारखी होइनन् । तर, उनीसँग खास पाककलाको ज्ञान छ । उनी खसीको मासु खास्सा बनाउँछन् । यसपालि दशैंमा परिवारले मासु पकाउने जिम्मा उनैलाई दिए । उनले हामीसँग खसीको मासु पकाउने रेसेपी यसरी सुनाएः

खसीको मासु, खासगरी लोकल खसीको । एउटा ठूलो भाँडामा राख्ने । त्यसमा जिरा, धनियाको धुलो, अदुवा र लसुनको पेस्ट मिसाउने । यस्तो मसला धेरै राख्नु हुँदैन । अक्सर भ्रम के छ भने धेरै मरमसला भयो भने स्वादिलो हुन्छ ।

अमरको अनुभवले भन्छ, ‘खास खान्कीमा मसला हाबी हुनुहुँदैन ।’

खसीको मासुमा आवश्यकताअनुसार मरमसला, नुन, बेसार राखेर मोल्ने । सबैभन्दा बढी मिहिनेत यहीं गर्नुपर्छ । विस्तारै मासु यसरी मोल्ने कि काँचो पनि पाकेकोजस्तो देखियोस् ।

अब अर्को कसौंडीमा धिमा आगोमा तेल तताउने । तेल तोरीकै हुनुपर्छ । तातिएपछि प्याज फुराउने । त्यसपछि उक्त मासु हालेर एक पटक राम्ररी चलाउने । त्यसपछि छोपिदिने । आगो एकदमै धिमा बनाउने ।

मासु गल्दै गएपछि मगमग बास्ना चल्न थाल्छ । मासुमा भएको सबै पानी निथि्रन्छ । त्यो सुख्खा हुन्छ । मासुको कुनाकाप्चामा मसला पुग्छ । अब मासुलाई त्यत्तिकै भुटुवा खाए हुन्छ । त्यसलाई निकालेर चाहिने जति मासुमा रस हालेर खाए हुन्छ । यो परिकार ३/४ दिनसम्म राखेर मज्जाले खान सकिन्छ ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?