Comments Add Comment

क्याटलोनिया संकटः यस्तो छ इतिहास 

 स्पेनले थाल्यो क्याटलोनियामा प्रत्यक्ष शासन

स्पेनबाट स्वतन्त्र हुने वा नहुने विषयमा विवादास्पद निर्णय लिएको एक महिना नपुग्दै स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो । तर, स्पेनले शनिबारदेखि लागु हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन शुरु गरेको छ ।

स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौती गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाईसमेत बर्खास्त गरेको जनाएको छ ।

क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएको गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका थिए ।

क्याटलोनिया संसदमा रहेका १३५ सदस्यमध्ये एकता पक्षधर करिब ५० सांसदले स्वतन्त्रता घोषणा गर्न संसदबाट अनुमोदन गराउन भएको मतदानमा उपस्थिति जनाएनन् अर्थात् मतदानलाई बहिस्कार गरे ।

मतदानमा सहभागी ८२ जनामध्ये स्वतन्त्रताको पक्षमा ७० जनाले मतदान गरे भने विपक्षमा १० मत पर्यो । दुई सांसद्ले मतपत्रमा कुनै पनि समूहको पक्षमा मतदान गरेनन् अर्थात् मतपत्र खाली खसाले ।
स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो । स्पेनको सन् १९७८ को संविधानले आत्मनिर्णयको अधिकारको प्रावधान नरहेकाले क्याटलोनियाले जनमतसङ्ग्रह मार्फत स्वतन्त्रताको पक्षमा लिइएको निर्णय कानून विपरीत हुने वा नहुने यहाँको उच्च अदालत तथा केन्द्र सरकार र प्रशासकको अडान छ । त्यसैले जनमत सङ्ग्रहलाई अवैध भनिँदै आएको छ । यसमा स्पेनी राजा, संवैधानिक अदालत तथा प्रधानमन्त्री लगायत एकताका पक्षधर नेताहरूको एक मत छ ।

यूरोपेली महासङ्घ पनि स्पेनको विखण्डनको विपक्षमानै देखिएको छ । इयू प्रमुख डोनाल्ड टस्कले केही दिन पहिले इयूलाई स्वतन्त्रताको पक्षमा मध्यस्थता गर्न कारलस पुज्डमोनले गरेको अनुरोधलाई अस्वीकार गर्नुभएको थियो ।
क्याटलोनियाको संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेको भन्दै क्षेत्रीय सरकारले शुक्रबार नै क्याटलोनियाको स्वतन्त्रता भएको घोषणा गरेको छ ।
क्याटलोनियाको इतिहास 
स्पेनको उत्तरपूर्वी भागमा रहेको क्याटलोनियाको राजधानी बार्सिलोना हो । आधुनिक स्पेन र पोर्चुगलसमेत रहेको आइबरेनियन प्रायद्वीप क्षेत्रमा रहेको आरागनकी रानी पेट्रोनिलिया र बार्सिलोनाका धनाढ्य राजा रामोन बेरेन्गुएर चौँथोबीच विवाह भएपछि आरागन र क्याटलोनियालाई आफ्ना सन्ततिका लागि सन् ११५० स्थापना गरिदिएको राज्य थियो । यसका आफ्नै भाषा, कानून र रीतिरिवाज थिए ।

उक्त राज्य राजा फिलीप पाँचौँले शासन सम्हाल्नुपूर्व निर्विवाद रह्यो । सन् १७०७ मा भेलेन्सिया, सन् १७१४ मा क्याटलोनियालाई पराजित गर्दै अन्तिममा सम्पूर्ण प्रायद्वीपमा राजा फिलीप पाँचौँले कब्जा गरे पनि असन्तुष्ट पक्षले त्यसवेलादेखि नै आफ्नो भाषा, भूमि, संस्कृति र जनताको स्वतन्त्रताका लागि सङ्घर्ष जारी राखे ।

सोही समयदेखि क्याटलोनियाली राष्ट्रवादीहरूले निरन्तररूपमा स्पेनबाट विभिन्न अधिकारका माग गरिरहेका थिए । स्वतन्त्रताका लागि भएको प्रयासले २०० बर्षको निरन्तरको चर्को दबावपछि सन् १९३२ मा स्पेन सरकारबाट क्याटलोनियालाई स्वायत्तताको अधिकार दिएको थियो ।

तर, सात बर्षपछि नै सन् १९३९ मा स्पेनमा फ्रान्सिस्को फ्रान्को शक्तिमा आएसँगै क्याटलोनियालीले प्राप्त गरेका सीमित उपलब्धी पनि खोसिए । फ्रान्कोले क्याटलोनियाली राष्ट्रवादप्रति भएका सम्पूर्ण प्रयत्नलाई दबाए । उनको शासनकालमा शुद्धीकरणका नाममा हजारौँ क्याटलोनियालीलाई मृत्युदण्डसमेत दिइएको बताइन्छ ।

सन् २००६ मा स्पेनले क्याटलोनियालाई अलग राज्यको मान्यता र कर संकलन गर्न सक्ने अधिकार प्रदान गरेको थियो । तर, सन् २०१० मा स्पेनको संवैधानिक अदालतले सरकारको उक्त निर्णयलाई अवैध घोषणा गरिदियो ।
क्याटलोनिया स्पेनकै सबैभन्दा धनी क्षेत्र हो । यहाँ ठूला उद्योगधन्दा छन् । स्पेनका धातु, खानेकुरा प्रशोधन गर्ने उद्योगधन्दा, औषधि तथा रसायनसँग सम्बन्धित उद्योग क्याटलोनियामा नै छन् । यहाँ बार्सिलोनालगायतका प्रख्यात स्थान छन्, जसले बर्सेनी लाखौँ पर्यटक आकर्षित गरेको छ ।

स्पेनको कुल जनसंख्याको १६ प्रतिशत ओगटेको यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशतको योगदान दिएको छ ।

प्रत्यक्ष शासन शुरु

स्पेनले शनिबारदेखि लागु हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन शुरु गरेको छ । स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाईसमेत बर्खास्त गरेको जनाएको छ ।  केन्द्र सरकारले उप–प्रधानमन्त्री सोराय साएन्ज डे सान्तमारियालाई क्याटलोनिया क्षेत्र हेर्नेगरी जिम्मेवारी तोकेको छ ।

क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो ।

स्पेनी नागरिकले म्याड्रिडमा स्पेनको एकताका पक्षमा प्रदर्शन गरिरहँदा आएको सरकारको क्याटलोनियामाथि प्रत्यक्ष शासन शुरु भएको औपचारिक घोषणासँगै क्याटलोनियाको विखण्डनको पक्षमा उभिएका क्षेत्रीय नेता चाल्र्स पुज्डमोन र उप–नेता अरिअल जङ्करस लगायतका केही अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ ।

स्पेनको केन्द्र सरकारले आफ्नो स्वायत्त राज्यलाई दिएको अधिकारलाई अधिनायकवादी शासक फ्रान्सिस्को फ्रान्कोको सन् १९३९ देखि सन् १९७५ सम्मको शासनकालपछि पहिलो पटक कटाएको हो ।

स्पेनले यसअघि एक अर्को निर्णयमार्फत् क्षेत्रीय प्रहरी प्रमुख जोसेफ लुइस तापेरोलाई विखण्डनकारी नेताको सहयोगी भई काम गरेको आरोपमा बर्खास्त गरेको थियो ।

स्रोतः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment