Comments Add Comment

स्पेनले आफूलाई विभाजनबाट रोक्न सक्ला ?

१३ कात्तिक, स्पेन । पछिल्लो ४० वर्षमा स्पेन ठूलो संकटबाट जुधिरहेको छ । यो युरोपियन युनियनको लागि पनि ठूलो चुनौती छ ।

वर्षौंदेखि जारी कटुताको बीच स्वतन्त्रताका समर्थकहरुले क्याटेलोनियालाई स्वतन्त्र देश घोषणा गरिदिए । यसको प्रतिक्रियामा स्पेनले यस स्वायत्त क्षेत्रमा प्रत्यक्ष शासन लागू गर्‍याे । यसबाट के प्रश्न उब्जिएको छ भने यो मुद्दा सुल्झिएला या अझै समस्या बढ्ला ?

वर्षौंदेखि क्याटलोनले स्वायत्तताको सीमालाई लिएर असन्तुष्टि जनाइरहेका छन् । क्याटेलोनियालाई स्पेनको संविधानले एक स्वायत्त इलाकाको मान्यता दिएको छ । यद्यपि क्याटलोन संसदबाट स्वतन्त्रताको घोषणाका साथ नै स्पेनले स्वायत्तताको अन्त्य गरिदियो ।

२७ अक्टुबरमा स्थानीय संसदले आधिकारिक रुपमा स्पेनबाट अलग स्वतन्त्र देश घोषणा गरिदिएको थियो । उक्त संसदमा अलगाववादी सांसदको बहुमत थियो ।

क्याटलोन सांसदले स्पेनबाट वैधानिक अधिकार फिर्ता लिने पक्षमा मतदान गरेका थिए । यसैमार्फत् क्याटेलोनियाको एक संवैधानिक राज्यबाट स्वतन्त्र गणतन्त्र बनाउने घोषणा गरिएको थियो । यसको मतलब यो हो की क्याटेलोनियाले अब स्पेनको संविधान मान्ने छैन । यद्यपि यसको भविष्य निकै छोटो भयो ।

यसअघि क्याटेलोनियामा एक अक्टुबरमा स्पेनबाट स्वतन्त्रताको लागि जनमत संग्रह गराइएको थियो । यस जनमत संग्रहलाई रोक्ने कोशिस गरेको थियो । जनमत संग्रहको आयोजकको दावी थियो कि ४३ प्रतिशत मतदान भएको थियो र यसमा ९० प्रतिशत भोट स्पेनबाट स्वतन्त्र हुने पक्षमा आएको थियो ।

स्पेनको प्रतिक्रिया

स्पेनले स्वतन्त्र घोषणाको प्रतिक्रियामा आपतकालीन शक्तिको प्रयोग गर्‍याे । यस शक्तिको व्यवस्था स्पेनको संविधानमा अनुच्छेद १५५ मा छ ।

यसैमा टेकेर क्याटेलोनियाका स्थानीय राष्ट्रपति कार्लस पुजिमोन्ट र उनको मन्त्रिपरिषदलाई बर्खास्त गरियो । यसका साथै स्पेनले क्याटेलोनियाको स्थानीय संसद पनि भंग गरिदियो ।

स्पेनका प्रधानमन्त्री मारियानो रखोइले आफ्नो विश्वासपात्र उपप्रधानमन्त्री सोराया सायनलाई क्याटेलोनियाको जिम्मा दिए ।

यससँगै स्पेनले क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराउने घोषणा पनि गरेको छ । क्याटेलोनियामा १७ हजार प्रहरी फौज तैनाथ गरिएको छ । यी प्रहरीको कमाण्ड स्पेनका गृहमन्त्रीले सम्हालेका छन् ।

क्याटलनसँग विकल्प के छ ?

पुजिमोन्टले भनेका छन् उनी र उनका साथीहरुले लोकतान्त्रिक तरिकाबाट स्पेनको प्रत्यक्ष शासनको विरोध गर्नेछन् । ठूलो प्रश्न यो छ कि प्रहरीका निलम्बित अधिकारीको कार्यालय खाली गराउने आदेश आयो भने उनीहरु के गर्लान् ?

स्वतन्त्रताका समर्थकहरुले क्याटेलोनियालाई स्वतन्त्र देश बनाउने फैसलाको पक्षमा व्यापक प्रदर्शनको लागि आह्वान गरेका छन् । यसको मतलव यो हो कि स्पेनको प्रतिक्रियामा हड्ताल, बहिस्कार र र्‍याली हुनेछन् । मुख्य अलगावादी समूह ग्रासरुट ग्रुप र क्याटलन नेशनल एसेम्बली रखोइ प्रशासनलाई विदेशी सरकार बताउँछन् ।

क्याटलन सरकारको मातहत काम गर्ने २७ हजार कर्मचारीहरुले स्पेन सरकारको आदेश पालना नगर्ने र शान्तिपूर्ण विरोधमा साथ दिने बताएका छन् ।

स्पेनले विद्रोहीहरुमाथि अपराधको मुद्दा दायर गर्न सक्छ । जुन अपराधका लागि आरोप तय गरिने छ त्यसमा ३० वर्षसम्मको कैद हुनसक्छ । स्पेन सरकारको निशानामा जो व्यक्तिहरु छन् त्यसमा सबैभन्दा अघि कार्लस पुजिमोन्ट छन् ।

यद्यपी अदालतले आरोपहरु स्वीकार गर्छ कि गर्दैन हेर्न बाँकी छ । क्याटेलोनियालाई गणतन्त्र बनाउने घोषणा गोप्य मतदानमार्फत् गरिएको छ । यसको मतलव के हो भने ति सांसदहरुमाथि आरोप तय गर्न सजिलो हुने छैन ।

क्याटेलोनिया स्पेनको नियन्त्रणमा रहला ?

अझै स्पष्ट नभइसकेको कुरो के हो भने स्पेनले कति छिटो र कति प्रभावकारी तरिकाले क्याटेलोनियामा नियन्त्रण हासिल गर्नसक्ला ?

सुरक्षाकर्मीहरुलाई स्पेनले निष्पक्ष रहन निर्देशन दिएको छ । अर्को आदेश नआएसम्म कारवाहीका लागि प्रतिक्षा गर्न भनिएको छ । क्याटेलोनियामा डिसेम्बरमा हुने चुनावसम्म स्पेन यहाँ निकै सतर्क रहने छ ।

स्पेनको मनमा क्याटेलोनियाको विषयलाई लिएर कुनै आपत्तीजनक स्थिति छैन तर परिस्थिति निकै जटिल छ । प्रहरी कुनै कडा कदम चाल्नु अघि निकै सतर्क रहने छ । एक अक्टुबरको जनमत संग्रहको क्रममा प्रहरीले गरेको कारबाहीको कडा निन्दा भइरहेको छ ।

स्वतन्त्र गणतन्त्र घोषणा र स्वायत्तता अन्त्य गर्ने निर्णयपछि स्पेन र क्याटेलोनिया अलग अलग किनारामा खडा भएका छन् । स्पेन क्याटलन राष्ट्रवादीहरुलाई अरु स्वायत्तता दिने कुरा गर्नसक्छ । यसमा संविधान संशोधन २००६ शामेल छ जसले क्याटेलोनियाको स्थितिलाई अझै मजबुत बनाउन सक्छ ।

क्याटलोन स्पेनको सबैभन्दा सम्पन्न इलाका हो । क्याटेलोनियामा देखिएको गतिरोधको कारण कैयौं कम्पनीहरुले आफ्नो वैधानिक मुख्यालय त्यहाँबाट हटाउने फैसला गरेका छन् ।

क्याटेलोनियामा जनमत संग्रहपछि विश्वका देशहरुले अलग देशको रुपमा मान्यता दिन अपिल गरेका थिए । क्याटेलोनियाको स्थानीय संसदले स्वतन्त्र देश घोषणा गरेपछि यूरोपेली यूनियनबाट हस्तक्षेप गरी स्पेनको कारवाहीलाई रोक्न अपिल भएको थियो ।

यद्यपि युरोपेली यूनियन र यहाँसम्म कि अमेरिकाले पनि स्पष्ट भनेको छ यो स्पेनको आन्तरिक मामिला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment