Comments Add Comment

झापाबाट राप्रपा महामन्त्री लिङ्देनले भने– कांग्रेससँगको देशभरिको गठबन्धन अब टुट्यो

सिटौला झापा ३ बाट उठ्ने भएपछि कांग्रेस-राप्रपा गठबन्धन धरापमा


१३ कात्तिक, झापा । नेपाली कांग्रेसले झापा क्षेत्र नं. ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका छन् । उनले कांग्रेसबाट धोका भएको टिप्पणी गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट झापा ३ मा उम्मेदवार बन्ने भएपछि गाउँमा भोट माग्दै हिँडेका लिङ्देनले गठबन्धन टुटेको प्रतिक्रिया दिए । उनले अनलाइनखबरसँग कुराकानी गर्दै भने– एउटै गठबन्धनको उम्मेदवार एउटै निर्वाचन क्षेत्रमा दुईजना भएपछि गठबन्धन त सिद्धिइहाल्यो नि ।’

राप्रपा नेता लिङदेनले अब कांग्रेससँगको देशव्यापी गठबन्धन पनि लगभग टुटिसकेको बताए । ‘देशभरिको गठबन्धन पनि करिब–करिब टुटिसक्यो’, उनले भने, ‘अब पूरै टुट्छ ।’

यसैबीच, लिङ्देनले आइतबार राति ट्वीट गर्दै झापा–३ मा आफूले दिएको उम्मेदवारी कायमै रहेको जनाएका छन् । उनले कांग्रेससँगको गठबन्धन टुटेकोसमेत प्रष्ट पारेका छन् ।

राप्रपा महामन्त्री लिङदेनले कांग्रेससँग गठबन्धन टुटेको बताए पनि पार्टीले औपचारिकरुपमा कांग्रेससँगको गठबन्धन टुटेको औपचारिक घोषणा गरिसकेको छैन । राप्रपा अहिलेको सरकारमा पनि सामेल छ ।

यसअघि कांग्रेसले झापा ३ मा राप्रपाका महामन्त्री लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिएपछि उनलाई फेरि प्रत्यक्षतर्फ नै राख्ने निर्णय भएको हो ।

झापा क्षेत्र नम्बर ३ अन्तरगत बाह्रदशी, हल्दीबारी र कचनकवल गाउँपालिका पर्छन् । त्यसैगरी भद्रपुर नगरपालिकाका वडा नम्बर १ देखा ८ सम्म यस क्षेत्रमा समेटिएका छन् । विर्तामोड नगरपालिकाको वडा नम्बर १० पनि यही निर्वाचन क्षेत्रमा पर्छ ।

यीमध्ये स्थानीय चुनावमा हल्दीबारी र कचनकवल गाउँपालिका राप्रपाले जिनतेको थियो । बाह्रदशी गाउँपालिका कांग्रेसले जितेको थियो ।

स्थानीय निर्वाचनमा झापामा राप्रपालाई ३ स्थानीय तहमा जित दिलाउन लिङ्देनको भूमिका महत्वपूर्ण थियो । लिङदेनको यो निर्वाचन क्षेत्र राप्रपाले आश गरेको ठाउँ हो । कांग्रेस नेता सिटौलाको निर्वाचन क्षेत्र पनि यही हो ।

लोकतान्त्रिक गठबन्धनको एक प्रमुख घटक राप्रपाले झापा ३ सहित प्रतिनिधिसभामा ७ सिट पाउने सहमति भएको थियो, जुन सहमति अनुसार अध्यक्ष कमल थापा मकवानपुर १, महामन्त्री लिङ्देन झापा ३, राजीव पराजुली पर्सा २ र कुन्तीकुमारी शाही दैलेख १ बाट उम्मेदवार बन्ने निर्णय राप्रपाले गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment