१५ कात्तिक, काठमाडौं । मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
मंसिर २१ गते ४५ जिल्लामा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । त्यसका लागि बिहीबार मनोनयन दर्ताको दिन तोकिएको छ ।
प्रदेश सभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन भने मंसिर १० गते हुँदैछ ।
सम्वन्धित क्षेत्रमा रहेको निर्वाचन कार्यालयमा कार्यालय समयभित्र उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगका निर्वाचन कार्यक्रम प्रमुख देशचन्द्र अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । उनले मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको बताए ।
भोलि मनोनयन दर्ता गर्ने दिन भएकाले राजनीतिक दलहरुले अधिकांश क्षेत्रमा आ–आफ्ना उम्मेदवार पनि टुंगो लगाइसकेका छन् ।
निर्वाचन आयोगले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको काम पनि गरिरहेको छ ।